‘गल्लीमा भेटिएका साना बालबालिकासमेत आयो आयो र गयो गयो भनेपछि हामी सबै हल्लिएको अनभूति गर्छौं,’ भूकम्पको भय साझा अनुभूति भएको उल्लेख गर्दै साहित्यकार ध्रुवचन्द्र गौतम भन्दै थिए, ‘भूकम्पको हल्लाखोरीभन्दा हप्तौं पालमुनि गुजारेका रातहरू र दिनलाई हाम्रा साहित्यमा उतार्न जरुरी छ।’
विश्वसम्पदा सूचीमा रहेका भक्तपुरका ऐतिहासिक दरबार स्क्वायरलगायत क्षेत्र घुमेपछि साहित्यकार गौतमले उक्त अभिव्यक्ति दिएका हुन्। स्रष्टाहरूले बुधबार कुमाले टोल, पाँचतले टौमढी, दत्तात्रय र बाटामा पर्ने ध्वस्त पुराना घरहरूको अवलोकन गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना अभियान भक्तपुरको आयोजनामा स्रष्टा जुटेका हुन्। ‘भूकम्पबाट प्रभावित भक्तपुरको स्थलगत भ्रमण तथा लेखक अनुभूति विषयक सिर्जनात्मक गोष्ठी’ नाम दिइएको कार्यक्रममा तीन दर्जन स्रष्टा सहभागी थिए।
‘भूकम्प प्राकृतिक विषय हो, मैले यसलाई ऊर्जाको रूपमा लिएको छु,’ भक्तपुरकै बासिन्दा ८० वर्षीय संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:ले भने, ‘हाम्रा पुर्खाले सिर्जेका ऐतिहासिक सम्पदाहरू र हामीले बनाएका घर तथा संरचनाहरू ध्वस्त भएका छन् र अब नयाँ सिर्जना हुनेछ।’
भक्तपुरकै युवा संस्कृतिकर्मी ओम धौभडेलले सबै स्रष्टाहरूलाई स्थलगत अवलोकनका क्रममा स्थितिबारेमा जानकारी दिए। ‘हिजो भक्तपुर सहरको इज्जतका रूपमा चिनिने प्रत्येक मठमन्दिर, दरबार सम्पदाको विषयमा जानकारी दिन सक्थें,’ उनले भने, ‘तर आज मैले ती सबै सम्पदाको विषयमा भन्दा पनि यसपटक भूकम्पले तहनहस क्षति पुर्याएको सम्पदाकै विषयमा मात्र जानकारी दिन पाएँ। यो मेरो दुर्भाग्य हो।’ महाभूकम्पबाट केही वर्षअघि मात्र जीर्णोद्धार गरिएका दरबार स्क्वायर क्षेत्रको पचपन्न झ्याले दरबार र पाँचतले न्यातपोल मन्दिरमात्र बचेका छन्।
साहित्यकार भुवन ढुंगाना भूकम्पलाई त्रास नमानेर ऊर्जाका रूपमा लिन चाहँदा पनि मनलाई स्थिर बनाउन नसकेको बताइन्। ‘भूकम्पपछि के लेख्ने, कसरी लेख्ने भन्ने मन एकाग्र गर्न नसकेको बेला, भक्तपुरको स्थलगत निरीक्षण गर्न पाएपछि ऊर्जा जुटेको छ,’ उनले भनिन्।
‘भूकम्पको स्वाद धित मरुन्जेल चाखें,’ व्यंग्यचेतका समालोचक मोहनराज शर्माले भने, ‘अब फेरि चाख्न नपरोस्।’ भूकम्पले नेपाली साहित्यका सबै विधालाई प्रभावित तुल्याउने उल्लेख गर्दै उत्तरआधुनिक समालोचनाअन्तर्गत ‘अधिकार समालोचना सिद्धान्त’ का निम्ति विशेष सिर्जना, अध्ययन, लेखन गर्न जोड दिए। ‘अधिकार समालोचना सिद्धान्त विशेष सीपका लागि भूकम्पसँग गाँसिएका रचना आउँछ,’ शर्माले भने, ‘यसको निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानले स्रोत सञ्चालन गर्नुपर्छ किनभने केही दशक नेपाली साहित्यमा भूकम्पीय साहित्य आउँछ।’
पाका स्रष्टा नगेन्द्रराज शर्मा भुइँचालोको धक्का जति तेजिलो रह्यो त्योभन्दा धेरै राहतको भुइँचालोले नेपाली स्वाभिमानमा धक्का दिएको बताए। ‘यो भयंकर भूकम्पबाट बाँचियो,’ उनले भने, ‘राहतमाथि भएको हाम्रा नेता र नागरिकको नियतको भुइँचालो कम सानो लागेन।’
सांस्कृतिक मानवशास्त्रको चर्चा गर्दै भिक्टर प्रधानले महाभूकम्पपछि अब हरेक जात्रा, सांस्कृतिक गतिविधिहरूसमेत पहिलेकै जसरी सुचारु रहन नसक्ने बताए।
गोष्ठीमा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, साहित्यकार शारदा शर्मा, ज्ञानु पाण्डे, श्रवण मुकारुङ, मातृका पोखरेल, श्रीओम श्रेष्ठ रोदन, रोचक घिमिरे, गीता त्रिपाठी, रजनी ढकाल, गायत्री विष्ट, ध्रुव मधिकर्मी, राम विनय, कुमारप्रसाद कोइराला, सन्ध्या पहाडी, वियोगी बुढाथोकी, रामप्रसाद पन्तसमेत सहभागी थिए।
0 comments:
Post a Comment