उनी कुनै कामले भारतको सिलगुढी पुगेकी थिइन्। फर्किँदा उनले सुनिन्, ‘मेची नदी किनारमा नवजात शिशु वेवारिसे अवस्थामा भेटियो।’ महिना दिन पनि नपुगेको त्यो शिशुको शरीरभरी कमिलाले खाएर दुलैदुलो बनाइसकेको अवस्थामा उनले देखिन्।
२० वर्षअघिको घटना सम्झिँदै उनले भनिन्, ‘महिना दिन पनि नपुगेको उक्त शिशुलाई आश्रममा ल्याएर आफ्नो जिउको तातो दिएर बचाएँ।’ जिवनमरणको दोसाँधको अवस्थामा नदीछेउबाट उद्धार गरेर ल्याइएको त्यो शिशुको तत्काल लिंग पहिचान हुन सकेन। पछिमात्र त्यो शीशु बालिका भएको खुल्यो, नाम राखियो लुसी। उनले छातीमा टाँसेर हुर्काएकी ती युवतीले दुई वर्षअघि मात्र बालआश्रम छाडिन्, झ्याईँझ्याईँ पञ्चैबाजा बजाएर।
सुनसरीको दुहबीमा ११ वर्षअघि सालनालसहित गाडिएको अवस्थामा भेटिएकी थिइन् बेन्जली। ‘मुखमात्र बाहिर निस्कनेगरी गाडिएको रहेछ, वरीपरीकाले सर्प ठानेर हेर्न गएछन्,’ उनले भनिन्। बेन्जलीलाई पनि उनले हुर्काइन्।
३९ सालमा सुनसरीको इटहरीमा निःसहाय बाल आश्रम सुरू गर्दा गीता गौतमले भारतबाट ल्याइएकी एक बालिकालाई हुर्काएर सुरू गरेकी थिइन्। उनको आश्रममा आश्रय पाउनेहरू अधिकांश बालिकाहरु छन्। तीमध्ये आमाबाबु कोही नभएका डेढ दर्जनलाई उमेर पुगेपछि विवाह गरेर पठाइन्। ‘अब १९ औं छोरीको पालो छ,’ उनी भन्छिन्, ‘छोरीको विहेको चाँजोपाँजो गर्दैछु।’ इनरुवामा एक वर्षको उमेरमा भेटिएकी ती किशोरी अहिले विवाह गर्ने उमेरमा पुगेकी छिन्। वुवाको मृत्यु भएको र आमा अर्कैसँग हिडेपछि अलपत्र अवस्थामा उनी भेटिएकी थिइन्। इटहरीको बुढीखोलामा ५६ सालमा सालनालसहित भेटिएकी लिचिङले पनि यसपटक एसएलसी दिँदैछिन्। उनी पनि विवाहकी भावि उम्मेदवार हुन्।
आश्रमको आश्रयमा अहिलेसम्म कति पालिए, उनी यसै भन्न सक्दिनन्। तर दुई सय जना निःसहायहरुलाई उनले आमाको माया दिइन्। तीमध्ये १८ जना प्रहरी चौकीमार्फत् र १७ जना अस्पतालमा फालिएका शिशुहरू थिए। आमाको स्याहार चाहिने शिशु अवस्थामा आमा विना स्याहार गर्न निकै समस्या हुन्छ। ‘दबाई र दुध बराबरी दिनुपर्छ, बचाउन गाह्रो, अनि स्याहार गर्न पनि,’ उनी भन्छिन्। निःसहाय बालकहरुलाई कक्षा १२ पढाइ सकेर सीप सिकाएपछि विदा दिने गौतम बालिकाहरूलाई भने विवाह गरेरै अन्माउँछिन्। ‘कस्तो कस्तो अवस्थामा भेटिएकाहरू विवाह गरेर घरजम गरेर बसेको देख्दा खुसी लाग्छ,’ उनी भन्छिन्।
पढाइलेखाइ र उमेर पुगेपछि केटाहरू बिहे गर्न केटी खोज्दै आश्रममै आइपुग्छन्। यसरी आउनेमा मारवाडी समुदायका बढी छन्। केटाकेटीलाई कुरा गर्ने मौका दिइन्छ अनि मन पर्यो भने विवाह गरेर पठाइन्छ। सामान्य परिवारको विवाह जस्तै हुन्छ। जन्ती पहिला धेरै आउँथे। ‘एक पटक १२ सयसम्म आए,’ गौतमले भनिन्, ‘पछिल्लो दिनमा भने थोरै जन्ती ल्याउन अनुरोध गर्ने गरेका छौं।’ विभिन्न निकाय, संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा विवाह हुन्छ।
अस्पताल र नदी किनारबाट उद्धार गरीएकाहरुलाई विवाहसम्म गरेर पठाउने काम सजिलो छैन। त्यो पनि एक जनाको होइन, १८ जनाको। यो प्रक्रिया चलि नै रहेको छ। उनी भन्छिन्, ‘ठूलो समस्या आर्थिक समस्या हो, तर सबैको सहयोगले समाधान हुन्छ।’ आफ्नो नाममा रहेको दुई विगाहा १० कठ्ठा जग्गामध्ये उनीसँग बचेको जग्गा ५ कठ्ठा छ। बाँकि आश्रमकै लागि खर्चेको बताउँदै उनी आश्रमको नाममा भने साढे ६ कठ्ठा जग्गा रहेको बताउँछिन्। ‘सुरूसुरूमा गाह्रो अवस्थामा त विवाह गरेर पठाइयो, अब त केही नलागे जग्गा बेचेर भएपनि विवाह गरिदिन्छु,’ उनी भन्छिन्।
विवाहमा सुन तथा दाइजो सबै दिइन्छ। ‘सामान्य औपचारिकता पूरा गर्न पनि सबै कुरा दिएर पठाउँछौं,’ गौतम भन्छिन्, ‘आफूसँग भएको पैसा, दाताबाट जुटेको सहयोगमा कसले कति पाउँछ भन्ने कुरा भर पर्छ।’ खर्चको जोहो समाजसेवीहरुको दान, र विवाह गरेर गएका छोरीहरुले पठाएको सहयोगमा पनि निर्भर हुन्छ। आश्रमबाट विवाह गरेर गएका छोरीहरुले पनि आफ्ना बहिनीको लागि खर्च गरिदिन्छन्। बहिनीहरूको विवाहका लागि सुन किनिदिन भन्दै आश्रमबाटै विवाह गरेर दिल्ली गएकी रञ्जिता चौधरीले एक लाख पठाएकी छिन्। धरानमा विवाह गरेकी कौशिला अग्रवालले पनि बेलाबेलामा आफ्नो घरलाई सहयोग गर्छिन्। ‘छोरीको पैसा लिने इच्छा हुँदैन, तर बहिनीको विवाहका लागि भन्दै दिन्छन्, नलिएर पनि उपाय छैन,’ उनी भन्छिन्।
आश्रममा हुर्केकी किशोरीलाई विवाह गरेर लाने केटाहरुको कमि छैन। ‘तर हामीसँग छोरी धेरै छैनन्,’ गौतम भन्छिन्, ‘भएकाहरुका लागि भने प्रस्तावहरु आइरहन्छन्, तर परिवार हेरेर दिने गरेका छौं।’ छोरी विवाह गरेर पठाउँदा गौतम केटाको परिवार र केटाको रोजगारीलाई विचार गर्छिन्। राम्रो परिवार र सकेसम्म सरकारी जागिरेलाई प्राथमिकता दिने बताउँदै त्यसो गर्दा विवाह गरेर गएपछि पछिसम्म पनि खान लाउन दुःख नहुने उनको बुझाइ छ।
विहे गरेर गएकाहरूको कारण गौतमको परिवार ठूलो हुँदै गएको छ। छोरीहरू कहिलेकाही आश्रममा भेला हुन्छन् र घुमाउन लान्छन्। ‘ज्वाईसहित आउँछन् र कहिलेकाहिँ हामी सबैलाई घुमाउन लान्छन्, रमाइलो हुन्छ’, उनी हाँस्दै भन्छिन्।
गौतमले बालबालिकाको हेरचाह गर्न उनले आफूले पाएको आश्रमको वातावरण प्रेरक बन्यो। भारतको पानीजहाज पाइलटका रूपमा काम गरेका उनका वुवा इण्डोनेशिया जाने क्रममा दुर्घटनामा परेर मर्दा उनी मुम्बईमा थिइन्। उनलाई लिन गएकी आमासहित अन्य आठ जना नेपाली महिलाहरुलाई फर्कने अघिल्लो दिन डाँकाले मारेपछि आफू पञ्जाबको जलान्धर आश्रम पुर्याइएको बताउँछिन् गौतम।
पाँच वर्षको उमेरमा आमाबाबु गुमाएकी उनले म्याट्रीक पास गरेर केही समय नर्सिङ गरिन् अनि भारतीय प्रहरीमा जागिर खाइन्। आश्रममा छँदै इण्डोनेशिया जाँदा गौतम थर भएकै कारण सम्मान पाएको देखेर उनले नेपालमै आश्रम खोल्ने सोँच बनाइन्। आश्रम खोलेपछि उनले छँदाखाँदाको जागिर त्यागिन्। उनको त्यो योगदानले अहिले उनलाई १८ जना युवती कन्यादान गर्ने भाग्यमानी आमा बनाएको छ।
३० वर्षअघि दुई कठ्ठाको जग्गामा सानो झुप्रोबाट सुरू भएको उनको आश्रममा पानी पर्दा छाता ओढ्नुपर्ने अवस्था थियो। अहिले दाताकै सहयोगको बलमा तीन तलाको पक्की भवनमा छ। अर्को एउटा दुई तले भवन निर्माणाधिन छ, तर पैसा अभावले पूरा गर्न सकेकी छैनन्। आश्रममा सुरक्षा गार्ड राख्न खोजेको धेरै भइसक्यो, तर तिर्ने पैसा छैन। ‘छोराछोरीको स्वास्थ्योपचार, शिक्षा अनि विवाह, ब्रतबन्धको लागि खर्च गर्नुपर्छ,’ उनी भन्छिन्, ‘भर्खरै एक जनाको उपचारमा दुई लाख सकियो, आउने भरपर्दो स्रोत नहुँदा दाता गुहार्नुपर्ने अवस्था छ।’
त्यसमाथि हुर्केका छोरीहरुको रहर र आवश्यकतासमेत समयसँगै बदि्लँदै जान्छ। किशोरावस्थामा पुगेपछि उनीहरुलाई नाचगान सिक्न, मेकअप गर्न रहर लाग्छ। ‘त्यसैले सिलाइकटाइ, ब्युटिपार्लर जस्ता सीप सिकाइदिन्छौं,’ उनी भन्छिन्, ‘पकेट खर्च जुटाउन दशैं र तिहारमा पाएको पैसा पनि काम लाग्छ।’
उनको परिवारमा अहिले ३२ जना बालबालिका छन्। तीमध्ये १२ जना केटा छन्। धेरै बालबालिकाहरु आमा भएका तर बाबु नभएका परिवारका छन्। आमाले काम गरेर पाल्न नसक्दा गौतमले तिनको पालनपोषण र रेखदेखको जिम्मा लिन्छिन्। मजदुरी गरेर पेट पाल्ने उनीहरूका आमालाई पनि कहिलेकाहिँ लुगाकपडा दिएर पठाउने गरेको उनी बताउँछिन्।
इटहरी नगरपालिकाले दिने मासिक तीन हजार पाँच सय र जिविसले प्रत्येक वर्ष दिने एक लाखभन्दा बाहेक नियमित आम्दानी यो परिवारको छैन। छँदा खाँदाको जागिर थप आठ वर्ष गरेकी भए उनले यतिखेर पेन्सन थापिरहेकी हुन्थिन् र त्यसले उनको जीवन पक्कै सहज हुन्थ्यो। तर उनलाई यति चाँडै आफ्ना छोरीहरुको कन्यादान गर्ने मौका भने शायदै प्राप्त हुन्थ्यो।
0 comments:
Post a Comment