728x90 AdSpace

  • Latest News

    Thursday, June 4, 2015

    ‘पोखरा त पोखरा नै रहेछ’


    कास्की, जेष्ठ २० - 
     पप गायिका आस्था राउतले सोमबार बल्ल पोखराको धड्कन छामिन्। पोखरा विमानस्थलबाट फुच्चे जहाज ‘अल्ट्रालाइट’ उडेपछि उनले वास्तविक पोखराको रमणीय दृश्य अनुभूत गर्न पाएकोमा खुसी व्यक्त गरिन। ‘चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा...’, ‘झुम्के बुलाकी...’, ‘सालको पात टपरी गाँसेर...’ लगायतका लोकप्रिय गीतका यी गायिकाले पोखरा अल्ट्रालाइटको पुतली जहाज चढेपछि पोखरा बिछट्टै सुन्दर लागेको दाबी गरिन्। 

    आकाशमा उड्दै गरेको अल्ट्रालाइटमा तस्बिर खिचेर उनी रमाइन्। ‘अल्ट्रालाइट चढेर पोखरा अवलोकन गर्दा रमाइलो हुन्छ भन्ने सुनेकी थिए तर अनुभव गर्न पाएकी थिइनँ,’ उनले भनिन्, ‘आकाशमा उडेर हेरेपछि त पोखरा साँच्चिकै पोखराजस्तो लाग्दो रहेछ।’ पोखराको सहरी दृश्य, ताल र हिमाललाई नाङ्गो आँखाले अवलोकन गर्न पाउँदा मन फुरफुर भएर आएको उनले बताए। 

    एक पाइलट र यात्रु बसेर उड्न मिल्ने अल्ट्रालाइटमा उनले आधा घन्टा आकाश सयर गरिन्। यो समय उनलाई थोरै लागेछ। ‘अझै घन्टांै आकाशमा उडेर पोखरालाई नियाली रहुँजस्तो लाग्यो,’ उनले भनिन्। पोखरा विमानस्थलको धावन मार्गबाट गुड्दै उड्ने यो जहाजमा चढेपछि उनी रमाएकी हुन्। ग्लाइडरको मद्दतमा पेट्रोलबाट सञ्चालित इन्जिन भएको यो जहाजलाई पावर ग्लाइडर अर्थात् पुतली जहाजको रूपमा धेरैले चिन्छन्। झ्याल ढोका केही नहुने र हलुका हुने भएकाले यसलाई अल्ट्रालाइट भनिएको हो। ६५ किमि प्रतिघन्टाको स्पिडमा उड्ने यो जहाजको पहिलो अनुभव लिएकी उनले अझै धित नमरेको बताइन्। 

    ‘सखारै सूर्योदयको दृश्यसँगै घन्टौं आकाशमा हराउने चाहना छ,’ उनले भनिन्, ‘अर्कोपटक पोखरा आउँदा समय छुट्याउँछु।’ पोखरा अल्ट्रालाइटका विदेशी पाइलटले उनलाई माउन्टेन फ्लाइट पनि उडाएका थिए। साहसिक खेलमा रुचि भएकी उनले दुई वर्षअघि सराङकोटबाट कावा खाँदै खहरेमा अवतरण गरेर प्याराग्लाइडिङको मज्जासमेत लिइसकेकी रहिछन्। 

    तीन दिनअघि पोखरा पर्यटन पुनर्जागरण समितिले गरेको ‘पुनर्जागरणका लागि संगीत’ कार्यक्रममा आस्था नि:शुल्क गाउन आएकी हुन्। पोखरामा मात्रै उपलब्ध अल्ट्रालाइटको मज्जा यसअघि अभिनेता राजेश हमाल र जीवनसंगिनी मधु भट्टराई आएका थिए। 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘पोखरा त पोखरा नै रहेछ’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top