न्युयोर्क, जेष्ठ १६ - अमेरिका स्थित गैर आवसीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वले आफनो कार्यभार शुरु गरेको छ । हालै एक समारोहका बीच नवनिर्वाचित नेतृत्वले पदभार ग्रहण गरेको हो । डेढ महिना अघि सम्पन्न निर्वाचनमा पेशाले चिकित्सक रहेका केशव पौडेलले आफनो प्रतिद्वन्द्वीहरु माथि सहज विजय हासिल गरेका थिए । आफना पाँच जना प्रतिस्पर्धीहरु लाई पराजित गर्नेक्रममा डा. पौडेलले तीन हजार ६ सय २२ मत प्राप्त गरेका थिए । जुन सबै प्रतिद्वन्द्वीहरुको प्राप्त गरेको कुल मत भन्दा धेरै हो । निर्वाचित भएपनि बैशाख १२ गतेको नेपालमा गएको विनाशकारी महाभूकम्पका कारण पदभार ग्रहणको कार्यक्रम स्थगित गरिएको थियो ।
हालै सम्पन्न पदभार ग्रहण कार्यक्रममा निर्वाचन प्रमुख एवम कानुन व्यवसायी विनोद रोकाले अध्यक्ष डा. पौडेल लगायतका निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । निर्वाचन मार्फत अमेरिकामा एनआरएन पदाधिकारीहरुको चयन भएको यो दोस्रो अवसर हो । यसअघि अन्तरिम कार्यकालका लागि निर्वाचन भएको थियो । यस पटकको निर्वाचनले डा.पौडेलको नेतृत्वलाई दुई बर्षका लागि छनोट गरेको हो । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जका पुर्व विद्यार्थी नेता समेत रहेका पौडेल हाल न्यु मेक्सिको राज्यका लभलेस हेन्थ्य सिस्टमको निर्देशक पदमा कार्यरत छन् ।
अनलाईन र हुलाक सेवा मार्फत झण्डै एघार हजार मतदाताहरु रहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष तर्फ कृष्ण पोखरेल, महासचिवमा तिल श्रेष्ठ र सचिवमा शंकर खड्का निर्वाचित भएका थिए । उपाध्यक्षका चार पदमा बन्दना कोइराला, रविना थापा, डिल्ली भट्टराई र रामचन्द्र पोखरेलले जिम्मेवारी पाएका छन् भने सहसचिवमा संगीता सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटालाई निर्वाचनले चयन गरेको छ । 'बोर्ड अफ डाईरेक्टर' अर्थात सदस्यहरुको पदमा मोहन ज्ञवाली, गोमा सेन, सुर्य लम्साल, हरिशचन्द्र हमाल, विनोद तिवारी र शिवराज पौडेल निर्वाचित भएका थिए भने विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र साह र सुशील रेग्मीलाई पनि निर्वाचनले सदस्यको जिम्मेवारी सुम्पिएको छ ।
नवनिर्वाचित अध्यक्ष डा. पौडेलले आफनो कार्यकाललाई अमेरिकामा छरिएका आप्रवासी नेपालीहरुलाई संगठित पार्ने लक्ष्य रहेको बताए । ईकान्तिपुर सँगको कुराकानीमा उनले भने' जे जस्तो रुपमा आफुलाई प्रस्तुत गरेपनि, विभिन्न संघ संस्था खोलेपनि, पहिलो कुरा हामी नेपाली हौं । संगठित भएर कर्मभुमि र मातृभुमि प्रति उतरदायित्व हुनु हाम्राे पहिलो उदेश्य हो ।' स्मरण रहोस हालै डा. पौडेलको नेतृत्वमा भुकम्प पिडितहरुका लागि एनआरएन अमेरिकाको चिकित्सकीय टोलीले नेपालमा गएर सेवा पुर्याएको थियो ।
0 comments:
Post a Comment