728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    बर्दियाका बुकिङ रद्द


    Bardiya
    गुलरिया, जेष्ठ १ - प्रलयकारी महाभूकम्पपछि बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक धमाधम बुकिङ रद्द गर्न थालेका छन्। यो मौसममा गतवर्ष खचाखच भरिएका ठाकुरद्वारास्थित पर्यटकीय होटलहरू अहिले सुनसान छन्।
    सॉझ पर्ना साथ यहाँका होटलमा हुने थारु सांस्कृतिक नाचगान समेत बन्द भएका छन्। भूकम्पअघि दैनिक ५० देखि ६० को संख्यामा विदेशी पर्यटक आउँथे। करिब ५ सय स्वदेशी पर्यटक आउँदा निकुञ्ज मुख्यालय ठाकुरद्वारामा बेग्लै चहलपहल हुन्थ्यो। अहिले मुस्किलले ४/५ जना विदेशी पर्यटक आउने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए।
    यसैगरी स्वदेशी पर्यटक २० देखि २५ जना आउने गरेको निकुञ्जले जनाएको छ। निकुञ्जमा कात्तिकदेखि जेठ मसान्तसम्म बढी पर्यटक भित्रिने मौसम हो। यो मौसममा पर्यटकले सहजै बाघ हेर्न सकिने भएकोले पनि पर्यटकहरू आकर्षित हुने गरेको पर्यटन व्यवसायी बताउँछन्।
    पर्यटन व्यवसायी एवं थारू होम रिर्सोटका सञ्चालक मोहन थारूले काठमाडौं लगायत मुलुकका दर्जन बढी जिल्लामा आएको महाभूकम्पले बर्दियाका पर्यटन व्यवसायीलाई प्रत्यक्ष प्रभाव परेको छ।
    खचाखच भरिने यो मौसममा ९५ प्रतिशत पर्यटक घटेको उनले दाबी गरे। ठाकुरद्वारामा २० वटा पर्यटकीय होटल सञ्चालनमा छन्।
    उनीजस्तै बर्दिया टाइगर रिर्सोट ठाकुरद्वाराका सञ्चालक रामजी थापाले जिल्लामा भुइँचालोको असर नपरे पनि पर्यटकको संख्या निकै घटेको बताए। होटलमा कर्मचारीलाई तलब खुवाउन समेत धौधौ भएको उनले भने, ‘यस्तो स्थिति रह्यो भने होटलहरू बन्द हुने अवस्था आउने छ।’
    जिल्लामा भूकम्पको असर नपरेकोले यहाँ आउने पर्यटक आत्तिनुपर्ने कुनै कारण नभएको पर्यटन व्यवसायी बताउँछन्।
    नेपालकै तराईको जिल्लास्थित बर्दिया निकुञ्जमा शान्त वातावरण भएका कारण पनि विगत केही वर्ष यता पर्यटकहरू यहाँ आउन लालायित हुँदै आएको निकुञ्जका कर्मचारी बताउँछन्। महाविनाशकारी भूकम्पले पर्यटन व्यवसायीलाई प्रत्यक्ष मर्कामा परेका छन्।
    एक दशक अघिसम्म स्वदेशीभन्दा बढी पर्यटक आउने गरे पनि विगत ४/५ वर्ष यता नेपाली पर्यटकको आवागमन बढ्दै गएको हो। निकुञ्जमा काठमाडौं, पोखरा लगायतबाट आउने स्वदेशी पर्यटक भूकम्पका कारण एक्कासि घटेको पर्यटन व्यवसायी बताउँछन्।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बर्दियाका बुकिङ रद्द Rating: 5 Reviewed By: Unknown
    Scroll to Top