पूर्व सामान्य प्रशासनमन्त्री हुन्, लालबाबु पण्डित (५८) । डिभी र पीआरधारी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने नीति बनाएका कारण उनको चर्चा आकाशिएको थियो । अहिले एमालेको पोलिटब्यूरो रहेका पण्डितले सादगी नेताको पहिचान स्थापित गरेका छन् । सादा जीवन तर जब्बर अडान भएका नेताको रुपमा उनलाई चिनिन्छ ।
गत साता पण्डितको टेम्पोमा यात्रा गरिरहेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका थिए । नीजि गाडी नभएका पण्डित सधैं सार्वजनिक यातायातमै यात्रा गर्छन् । मन्त्री बनिसकेको ब्यक्तिलाई सार्वजनिक यातायातमा यात्रा गर्दा कतिको सहज हुन्छ ? यात्रामा भेटिएका यात्रुको व्यवहार कस्तो हुन्छ ? लगायतका विषयमा पण्डितले नेपालीपत्रसँग आफ्नो अनुभव यसरी बाँडेका छन् :
पहिलेदेखि नै साइकल बढी रुचाउथे । कहिलेकाहीँ टाढा जानुपर्याे भने साथीहरुले मोटरसाइकलमा लिफ्ट दिन्थें । यात्राको लागि सार्वजनिक बस, रिक्सा, टेम्पो नै प्रयोग गर्छु । सांसद भएपछि पनि मैले सकेसम्म सार्वजनिक साधन नै प्रयोग गरे । अब पनि निजी गाडी जोड्ने रहर छैन ।
पहिलो संविधानसभामा ‘अल्पसंख्यक तथा सीमान्तकृत हक अधिकार समिति’को सभापति थिए । त्यतिखेर पनि मलाई राज्यमन्त्री सरहकै सुविधा उपलब्ध थियो । त्यतिखेर मसँग सुविधाको गाडी थियो । तर, सार्वजनिक विदाको दिन गाडी चलाउँदैनथे । सार्वजनिक गाडीमा यात्रा गर्थे । जिल्लातिर जाँदा पनि सार्वजनिक यातायात नै बढी प्रयोग गर्थे ।
पहिलो संविधानसभा विघटन भएपछि कार्यलय खुलेको १५ मिनेटमा मैल गाडी फिर्ता गरिदिए । गाडीमा केही त्रुटि छ भने भन्नुस भनेर पनि सोधे । त्यतिखेर बुझाइएका २७/२८ गाडीमा सबैभन्दा कन्डिसनको गाडी मेरो मात्रै थियो । झण्डै ५० लिटर डिजेल त्यसमा थियो । मेरो ड्राइभरले डिजल त निकालौ भनेका थिए । तर, यत्रो दिन गाडी नै चढियो । यो डिजल निकालेर के हुन्छ र भनेर निकालिएन ।
मन्त्री छोड्दाखेरी नयाँ प्रधानमन्त्रीजीले सपथ लिदैं हुनुहुन्थ्यो । म चाहिँ डेरा सर्दै थिए । प्रधानमन्त्रीले सपथ सक्ने बेलामा म मेरो नीजि डेरामा सरिसकेको थिए । म यही कोठाबाट मन्त्री क्वार्टरमा गएको हुँ । यही कोठामा फर्केर आए । झण्डै १९ महिना १२ दिन मन्त्री क्वाटरमा बसियो । त्यति समय मन्त्री बनेर फर्किदा पहिले जे थियो अहिले पनि त्यही छ । सुरुदेखि अहिलेसम्म त्यही छ ।
मन्त्रीबाट हटेपछि पनि मैले सबै कुरा समयमैं राज्यलाई बुझाइदिए । एउटा चीज पनि आफूसँग राखिन ।
मसँग टेलिभिजन छैन् । समाचार हेर्नुपर्यो भने एफएम र कम्प्युटरको प्रयोग गर्छु । धेरैजसो म अनलाइनबाट हेर्छु, पत्रिका कम किन्छु । म फेसबुक चलाउँछु । तर, रिप्लाइ चाहिँ दिन्न । वान–वे खालको मात्रै छ । विभिन्न ठाउँका कार्यक्रमको फोटो फेसबुकमा हाल्छु । म कहाँ जान्छु भन्ने दैनिकी त्यसमा आइराखोस । किनभने पछि खोजेपछि भेटिने अवस्था होस् । डायरी लेखेर कति पल्टाइरहनु । म चाहन्छु सबैले हेरुन लालबाबु पण्डित कहाँ छ ।
पोसाकमा छापामार शैली
सार्वजनिक यातायातमा धेरैले चिन्छन् । सार्वजनिक यातायातमा जाँदा बढीजसो फरक किसिमको टोपी लाउँछु । औपचारिक टेलिभिजन कार्यक्रम र अन्य कार्यक्रममा जाँदा नेपाली टोपी लाउँछु, अरुतिर हिडडुल गर्दा ह्याट लगाउँछु । म प्रायः मास्क लगाएर हिड्छु । दिउँसो घाम लागेको छ भने गगल्स लगाउँछु । मास्क, गगल्स र ह्याट लगाएपछि धेरै चिनेको मान्छेले पनि ठम्याउन गाह्रो हुन्छ । म सार्वजनिक यातायातमा हिड्दा धेरैजसो परिचय नखुलोस भन्ने चाहन्छु । अलि छापामार शैलीमा सार्वजनिक यातायातमा यात्रा गरिरहेको हुन्छु ।
तापनि एकदम नियालेर मान्छेले ठम्याइ दिन्छन् । ठम्याइसकेपछि मास्क खोल्नुपर्ने हुन्छ । त्यसपछि कुराकानी गर्छु । नभए सार्वजनिक यातायातमा कुराकानी कम होस भन्ने चाहन्छु । तैपनि चिनिहाल्छन् । भीडभाड हुन्छ । उभिएर, कोचिएर पनि यात्रा गर्नुपर्ने हुन्छ ।
किन मास्क लगाउनुहुन्छ भनेर पनि मलाई प्रश्न गर्छन । म भन्छु, धुलो धुवाका कारणले लगाउँछु । तर, भित्री कारण भने त्यो मात्र होइन्, सबै मान्छे पोजेटिभ हुन्छन् भन्ने हुँदैंन । चिन्नु पर्ने मान्छेले मात्र चिनुन सबैले नचिनुन भन्ने हो । अर्को कुरा के हो भने सबै ठाउँमा, सबैले माया गर्छन भन्ने पनि हुँदैंन । कत्तिले होच्याउन पनि खोज्छन् । सबैले मैले गरेको काम मन पराएका छैनन् । किनभने ठूलो टकरावकाबीच मैले काम गरेको छु । तर, म जहाँ भएपछि माइक्रोमा होस् वा मिनीबसमा आत्मगौरव गरेरै हिडिरहेको हुन्छु ।
अलिकति अपौचारिक कार्यक्रममा आयोजकले अफ ड्रेस लगाएको नहुने ठाउँमा भने कहिले आयोजकले ब्यवस्था गरिदिन्छन् , कहिले आफै ट्याक्सीको प्रयोग गरेर जान्छु । सामान्य अवस्थामा म सेक्युरिटी पनि प्रयोग गर्दिन । राज्यले सई लेभलको सेक्युरिटी दिएको छ । त्यो पनि उपत्यका बाहिर जाँदा मात्र प्रयोग गर्छु ।
पानी बिनाको माछा बन्ने चाहना छैन
कहिले मर्निङवाक जान्छु, कहिले इभनिङ वाक जान्छु । सार्वजनिक यात्रा गर्नुको पनि आफ्नै भावना छ । मेरो फिलिङ के हो भने म जनताभन्दा माथि छैन् । म जनताको तहमा रहन चाहन्छु । कतिको फिलिङ के हुन्छ भने म त जनताभन्दा माथि भइसके, मलाई भगवान मान्नुपर्छ भन्ने हुन्छ । मलाई चाहिँ जनताको तहमा रहँदा पानी भित्रै भएको माछा जस्तो लाग्छ । म पानी बिनाको माछा बन्न चाहन्न ।
म हिड्दै गरेको बेला मलाई चिन्ने कतिपय आर्मीका तलदेखि माथिकाले ड्रेसमै छ भनेपनि मलाई स्यालुट गर्छन । सुरक्षा निकायका अरुले पनि स्यालुट गर्छन् ।
सेल्फीले हैरान
म उमेरले अलि पाकैं भएपनि युवायुवतीले भेटे भने ट्याक्क सेल्फी खिचिहाल्छन् । चिन्या छैन तर ट्याक्क सेल्फी हानी हाल्छन् । सेल्फी खिचेको फोटो कहिलेकाही दुरुपयोग होला कि भन्ने चिन्ता चाहिँ हुन्छ । तर, उहाँहरुले मन पराएर सेल्फी खिच्नुभएको हो । खिच्दिन भन्दिन । किन खिच्नुभयो पनि भन्दिन् ।
कलाकारहरुले बोलाउँदा पनि म जान्छु । कहिलेकाही क्याम्पसका विद्यार्थीहरुको बीचमा पनि जान्छु । उनीहरु सबै फोटो खिच्न चाहन्छन् । ठूलो ठूला कार्यक्रममा पनि चिफ गेष्ट बनाउँछन्, कतिपय सुन्दरी प्रतियोगितामा पनि मलाई अतिथी बनाउँछन् । त्यहाँ एक से एक सुन्दरीहरुको जमघट हुन्छ । त्यहाँ पनि मसँग सेल्फी खिच्नेहरु हुन्छन् । म कालो छु तर, मलाई कहिल्यै पनि कालो छु भन्ने लाग्दैंन । मसँग गाडी छैन भन्ने ठान्दिनँ । म ४० वर्ष भयो डेरामा बसेको, मसँग घर छैन भन्ने कहिल्यै सोच्दिन । कतिपयलाई के हुन्छ भने म सडकमा कसरी हिडु? सार्वजनिक गाडीमा कसरी जाउँ ? कसैले केही गर्लाकी भन्ने डर हुन्छ । तर, मलाई लाग्छ, रक्षा गर्ने जनता नै हो ।
मलाई के लाग्छ भने गलत गर्नेले आफ्नो पहिचान त्यहीअनुसार बनाएको हुन्छ । सही गर्नेको पहिचान त्यहीअनुसारको हुन्छ । यदि सिद्धार्थ गौतम दरबारको सुख सयलमै रमाइरहेका भए, बुद्ध हुने थिएनन् । महात्मा गान्धीलाई लुगाको कमी भएर सिम्पल लुगा लगाएर जनताको बीचमा गए हुन र ? अब्राहम लिंकन के थिए ? हो चिमिन्ह के थिए ? माओत्सेतुङ के थिए ? परिवर्तनका लागि लाग्नेहरुले आफ्नै पहिचान स्थापित गर्नुपर्छ । अरुका पहिचानमा बाँच्ने ‘प्यारासाइट’ हुन्छ । त्यसैले म कोसँग कति गाडी छ ? कति वटा घर छ ? कस्तो खान्छ ? कति महंगो लुगा लगाउँछ ? भन्ने कुरामा ध्यान दिन्न । यी कुराले मान्छेको पहिचान बन्ने होइन ।
अस्ति भर्खरै भारतमा दुई करोड पर्ने सुनको सर्ट लगाउनेलाई ढुंगाले किचेर मारिदिए । म चाहन्छु, मेरो पहिचान म आफैले बनाउनुपर्छ । म मन्त्री हुँदा पनि विभिन्न प्रलोभन नआएका होइनन् । एक जनाको निजी फाइदा हुने गरी राष्ट्रलाई घाटा पुग्ने गरी मैले काम गरेको भएँ, मैले लालबाबु पण्डित भनेर यति धेरै माया पाउँदैनथे । मलाई पनि थुप्रै प्रलोभन देखाइएका थिए । हामी हिड्दै गर्दा पनि थुप्रै किरा फट्याङग्रा हमला गर्न आइपुग्छन्, तिनीहरु त्यही किरा फट्याङग्रा हुन् । हामीले तीबाट जोगिनुपर्छ । मैले विषालु सर्प र हिंस्रक जनावरबाट बचेर काम गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरे ।

गत हप्ता बबरमहलबाट टेम्पोमा तीनकुने फर्किदैं थिए । मुखमा मास्क लगाएको थिए । बबरमहलबाटै झण्डैं ७०/७२ वर्षका श्रीमानश्रीमती टेम्पो चढे । एउटा टेलिभिजनमा अन्तर्वार्ता दिएर फर्केकाले मैले नेपाली टोपी लगाएको थिए । चश्मा पनि लगाएकै थिए । उनीहरुले कता कता चिनेकोजस्तो लाग्यो भनेर कुरा सुरु गरे । पछि त लालबाबु पण्डित हो तपाईं ? एक पटक मास्क खोल्नुस् त भनेर आग्रह गरे । मैले मास्क खोले, उनीहरु एकदमै खुशी भए । पछि, एकदिन तपाईंकोमा आउँछु भनेका छन् । उहाँसँग मेरो पहिला कहिल्यै भेट भएको होइन । टेलिभिजनमा देखे वा पत्रिका देखे । तीनकुनेमा ओर्लिने ठाउँ एकै भएकाले ओर्लिसकेपछि केही भलाकुसारी पनि भयो ।
कहिलेकाही एकदम च्यापिएर मिनीबसहरुमा यात्रा गर्नुपर्ने हुन्छ, हातै छुडिएलाजस्तो गरी । धेरै भिड भयो भने मोबाइल चोरिएला कि भन्ने चिन्ता पनि हुन्छ । त्यस्तै, कुनै मान्छेले चिनिहाल्यो भने आफू बसेको सिट छाडिदिन्छ । नछोड्नु भन्दा पनि मान्दैनन् । त्यो भनेको माया गरेको हो । कतिले पछाडि सर्नुस् पछाडि सर्नुस भनेर ठेल्छन् पनि । जुन स्वभाविक हो । कतिपय गाडीका सहचालकहरुको बोली निकै टर्रो हुन्छ । टर्रो बोली पनि सुन्नुपर्ने हुन्छ, मिठो बोली पनि सुन्नुपर्ने हुन्छ ।
आँखा अप्रेसन गरेपछि कपालमा कालो लगाएको छैन् । सेतो कपाल देखेर कतिपयले ले त हजुरबुवा यता भन्छन् । तीन चार महिनादेखि मलाई ठाउँ—ठाउँमा हजुरबुवा भनेको सुनेको छु । कहिले ओर्लिनुपर्ने ठाउँभन्दा वरै झारिदिन्छन्, कहिले निकै अगाडि नै पुर्याइदिन्छन् । यो सबै हाम्रै सिष्टम नमिलेर भएको हो । सार्वजनिक रुपमा हिडेपछि कतिपय सार्वजनिक कमीकमजोरीलाई पनि आफूले पचाउनु पर्ने हुन्छ ।
मलाई यही साधन मन पर्छ भन्ने छैन् । मिनिबसको यात्रा मन पर्छ । तर, रुट मिल्नुप¥यो । कार्यलय जानुप¥यो रिङरोडको बाटो जान्छु । फर्किनुप¥यो भने नेपाल यातायात चढ्छु । ललितपुरतिर जानुप¥यो भने टेम्पोको प्रयोग गर्छु । ठाउँ हेरेर म सार्वजनिक यातायातका साधनहरु प्रयोग गर्छु ।
विकासमा जम्प हान्नुपर्छ तर, दुर्घटना हुने गरी होइन
मानिसहरु विकसित देशमा गएर फर्कियो भने उसले त्यहाँबाट सिकेर फर्किदोँरहेछ । हरेक क्षेत्रमा त्यस्तै हुन्छ । विकसित देशको स्ट्यान्डर्ड नेपालमा पनि चाहँदो रहेछ । जति तन्नेरी भए पनि मुसा त हात्तीको अवस्थामा पुग्न सक्दैंन । त्यसैले त्यो भेदलाई छुट्याउनुपर्छ । हाम्रो विकास र परिवर्तन पनि क्रमश हुने हो । तर, क्रमसँगै गर्दै जाँदा कतिपय अवस्थामा जम्प गर्नुपर्ने पनि हुन्छ । खुड्किला उक्लदा पनि हामी कहिलेकाही हतार भयो भने जम्प गर्छौ । तर, एकै पटक पाँच वटा खुड्किला जम्प गर्न थाल्यो भने त्यसको परिणाम दुर्घटना नै हुन्छ । त्यसकारण हामीले दुर्घटना ननित्याइकन अगाडि बढ्नुपर्छ हाम्रो देशको वस्तुगत अवस्थाका कारण । मन चाहिँ दर्गुछ, मन दगुरेर मात्रै त भएन ।
के रमेशनाथ पाण्डे र खुमबहादुरहरु गरिब हुन ?
हाम्रो नेपालमा दुई वटा कुरा विपरित छ । सेवा जनतालाई दिने हो, सेवा वापतको कर सरकारले लिने हो । तर, सेवा जस्तो सुकै होस प्रतिफल थुप्रेको थुप्रै हुनुपर्छ भन्ने सोचले काम हुन नसकेको हो । सरकारले दिने सेवा र जनताले तिर्ने करको अन्तर धेरै भएको कारण मानिसहरुमा सन्तुष्टी नभएको हो । अर्कोतर्फ हाम्रो लगानीको अवस्था समग्रभन्दा पनि केही ब्यक्तिलाई खुशी पार्नेतिर छ र दीर्घकालीन प्रतिफलमा ध्यान दिइएको छैन् । तत्कालीन रिटन्र्सलाई केन्द्रविन्दु गरेर काम गरिदैंन । भारतमा कोही नेता विरामी भयो भने राज्यले पैसा दिन्छ ? अमेरिकामा दिन्छ ? बेलायतमा दिन्छ ? जापानमा दिन्छ ? तर, नेपालमा जो सँग अर्बौ रुपैयाँ छ, उसैलाई करोड दिने चलन छ । जसलाई दिनुपर्ने हो, त्यसको निवेदन पनि दर्ता हुँदैन ।
रमेशनाथ पाण्डे, खुमबहादुर खड्काहरु गरिब छन ? धेरैजसो यस्तै मान्छेले पैसा पाउँछन् । म भन्छु—यस्तालाई एक पैसा पनि दिनु हुँदैन । सिष्टम बसाल्नुपर्छ । कानुनी रुपमा ब्यवस्था छ, तर सिष्टम कोही मान्दैंन । सिष्टम मान्न कोही तयार नभएपछि एक दुई जना त सन्तुष्ट होला तर धेरै असन्तुष्ट हुन्छ ।
यस्तालाई वीर अस्पतालमा उपचार गराउनुहोस त्यहाँ निःशुल्क सुविधा हुन्छ भन्नुपर्छ । उनीहरु वीर अस्पताल जान मान्दैनन् । यहाँ त नीजि लाभ हात पार्न मरिहत्ते गर्ने चलन छ । यसलाई परिवर्तन गर्न अलि मुटु दह्रो भएको मान्छेको आवश्यकता छ । कायरले इतिहास रच्दैन । कुनै पनि कायरले अहिलेसम्म इतिहास रचेको छैन् । कि त्याग र समर्पणले इतिहास रचेको छ, कि त गलत कुरासँग जुध्ने र त्यसमाथि विजय प्राप्त गर्नेले इतिहास बनाएको छ ।
Global Nepali patroबाट साभार।
0 comments:
Post a Comment