728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    अबको लगानी गन्तव्य सुदूरपश्चिम

    शुल्लाफाँटा जंगल रिसोर्ट, महेन्द्रनगरका सञ्चालक परमानन्द भण्डारी

    शुल्लाफाँटा जंगल रिसोर्ट, महेन्द्रनगरका
    सञ्चालक परमानन्द भण्डारी

    सुदूरपश्चिममा लगानी गर्ने वातावरण कस्तो छ ?
    पर्यटन विकासको सम्भावनालाई प्राथमिकता दिने हो भने अबको लगानी सुदूरपश्चिममै केन्द्रित गर्नुपर्छ । अहिलेसम्म राज्य र निजी क्षेत्रबाट पनि कम प्राथमिकतामा परेको यो क्षेत्रमा पछिल्लो समय सानो परिमाणमा भए पनि लगानी आउन थालेको छ । साना–ठूला होटेल खुल्न थालेका छन् ।

    सुदूरपश्चिममा कुन व्यवसायमा लगानी गर्दा राम्रो होला ?
    भौगोलिक अवस्थिति र प्राकृतिक सुन्दरताका कारण यस क्षेत्रको सबैभन्दा सम्भावना बोकेको व्यवसाय पर्यटन हो । तपाईंसँग पैसा छ भने सुदूरपश्चिम क्षेत्रमा आएर लगानी गर्नुहोस् । आजको ५ वर्षभित्र त्यसको प्रतिफल प्राप्त हुने पक्का छ । पर्यटन उद्योगलाई बढाउने गरी होटेल, रिसोर्ट, यातायातजस्ता क्षेत्रमा लगानी गर्दा बढी सुरक्षित हुन्छ ।

    पर्यटन उद्योग फस्टाउने आधार के हो ?
    सुदूरपश्चिममा रहेका आकर्षक प्राकतिक सम्पदा अझै पनि प्रचार–प्रसार नपाएर ओझेलमा छन् । सोहीकारण भारतबाट सडक यात्रा हुँदै आउने कतिपय पर्यटक सुदूरपश्चिम घुमघाम नगरी सीधै काठमाडौं जाने र त्यहाँबाट जानकारी लिएर यहाँ आउने गरेको पाइन्छ । प्रचार–प्रसार गर्न सकियो भने पर्यटक आउने निश्चित छ ।

    भारतीय पर्यटकबाट सुदूरपश्चिमले कसरी लाभ उठाउन सक्छ ?
    भारतको राजधानी नयाँदिल्ली तथा यस आसपासका सहरबाट सुदूरपश्चिम निकै नजिक छ । देहरादुन, नैनिताललगायत यहाँका सहरमा व्यापक प्रचार–प्रसार गर्न सक्ने हो भने सुदूरपश्चिमले पर्याप्त मात्रामा पर्यटक भित्राउन सक्छ । अत्यधिक जनसंख्या रहेको यस क्षेत्रमा बढी गर्मी हुन्छ । त्यसवेला सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रको चिसो वातावरणमा ल्याउन सकियो भने भारतीय पर्यटककै प्रचार–प्रसारमार्फत ठूलो संख्यामा पर्यटक आउन थाल्नेछन् ।

    सुदूरपश्चिममा कति लगानीका होटेल चल्छन् ?
    अहिले पनि मानिसमा सुदूरपश्चिम पिछडिएको छ, पूर्वाधार पुग्न सकेको छैन भन्ने मानसिकता छ । यहाँका पर्यटकीय गन्तव्यमा रहेका पूर्वाधार हेर्ने हो भने पनि त्यसमा सत्यता देखिन्छ । त्यसैले सुदूरपश्चिममा केही ठूलो लगानीका होटेल आवश्यक छ । काठमाडौं या पोखरामा पाइने सुविधा पर्यटकले बझाङ या बाजुरामा पाए भने तपाईं परिकल्पना गर्नुहोस्,मुलुकको पर्यटनले कति फड्को मार्ला ?

    होटेलमा लगानी गर्नुअघि के–के पक्षमा अध्ययन आवश्यक देख्नुहुन्छ ?
    सुदूरपश्चिममा आज लगानी गरेपछि भोलि नै प्रतिफल नपाइन सक्छ । किनकि पछिल्लो समय यहाँ लगानीमैत्री माहोल निर्माण भइरहेको छ । पर्यटकीय गन्तव्यको व्यापक प्रचार–प्रसार हुन सुरु भएको छ । विदेशी पर्यटकले पनि चासोका साथ सोधपुछ गर्न थालेका छन् । त्यसैले लगानी खेर जा“दैन । तर, यसो भन्दैमा लगानीकर्ताले आफ्नो कर्तव्य पनि सँगसँगै निर्वाह गर्नुपर्ने हुन्छ । आफ्नो होटेल चलाउन मार्केटिङ कसरी गर्ने, गुणस्तर कसरी कायम राख्ने, सेवा–सुविधा कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ ।

    सुदूरपश्चिममा पनि कुन क्षेत्रमा तपार्इं लगानीको बढी सम्भावना देख्नुहुन्छ ?
    तातोपानी नाका बन्द भएपछि नेपालगन्ज, सिमिकोट हुँदै हजारौँ पर्यटक मानसरोवर यात्रामा गए । अघिल्लो एक महिना नेपालगन्जका प्रायः सबै होटेल फुल अक्कुपेन्सीमा चलेका थिए । मानसरोवार यात्राका लागि अन्य रुटभन्दा सुदूरपश्चिमको रुट छोटो पर्छ । यसका लागि भौतिक पूर्वाधार बनिरहेको छ । भोलि उत्तरी नाकासम्म सडक यातायातले छुन सक्यो भने दिल्लीबाट नेपालको सुदूरपश्चिम हुँदै ठूलो संख्यामा पर्यटक मानसरोवर यात्रामा जानेछन् । त्यस अवस्थामा सुदूरपश्चिमको जुन स्थानमा लगानी गरे पनि चल्ने सम्भावना हुन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अबको लगानी गन्तव्य सुदूरपश्चिम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top