करिव २० वर्ष कि अबिवाहित केटी अस्पतालमा जचाउनको लागि आएकी थिइन् । उनको समस्या थियो, कुनै पनि मानिस संग वोल्न प¥यो, उसको अगाडी उभिन प¥र्यो या उनको अनुहारमा हे¥यो भने मात्रै पनि पुरै अनुहार रातो हुने र असजिलो हुने । के गरौं, कहाँ जाउँ, मेरो अनुहार रातो भयो अरुले के भन्लान् भनेर आत्तिने गर्दी रहिछन् । परिक्षण गर्दा उनमा केहि पनि खरावी थिएन । केहि वर्ष पहिले सानो कुरामा डराउँदा उनको अनुहार रातो भएको थियो रे । त्यसपछि जहिले पनि मेरो अनुहार रातो हुन्छ, के भन्छन् होला भन्ने डरमात्र भइ राख्ने रहेछ । यसले गर्दा उनको पढाई, साथी संगती, घरवाट वाहिर जाने आदि कुराहरुमा झन् भन्दा झन् समस्या वढ्दै जान लागेछ ।
शायद धेरैको मनमा यो त रोग होला भन्ने लाग्यो होला । तर यो रोग भने होइन, सानो स्वास्थ्य समस्या मात्र हो । अरुको अगाडी पर्दा मानसिक तनाव भएका कारण यी युवतीले “मेरो मुख रातो हुन्छ” भन्ने पुरै विश्वास गरिन् र प्रत्येक पटक मुख रातो भएको छ भन्ने सोच्न थालीन् । यो कुरा कम्प्यूटरमा प्रोग्राम गरे जस्तै आफ्नो मस्तिष्कमा प्रोग्रामीङ गरिन् । जसको फलस्वरुप मुख रातो हुन लाग्यो ।
मूलकुरा के हो भने, मस्तिष्क स्वस्थ्य छ भने मात्र अनुहार राम्रो, स्वस्थ्य, चमकिलो, तेजिलो, स्वच्छ र सफा देखिन्छ । मानसिक तनावमा भएको वेला अनुहारमा त्यसको असर देखिन्छ । चिन्ता रोग र डिप्रेसनका विरामीहरुमा अनुहारमा चमक नै देखिदैन । जुनजुन खाने पिउने कुराहरु वा वानी र व्यबहारले मस्तिष्कलाई नराम्रो असर पार्दछन् ती सवै कुराले छालामा पनि नराम्रो असर पार्दछन् । अर्थात छाला चाउरी पर्ने र वास्तविक उमेर भन्दा वढी उमेरको अनुहार देखिन्छ ।
मस्तिष्क तथा छाला विगार्ने कुराहरु
चुरोट पिउने वानी – सूर्तिमा भएको निकोटिनले मस्तिष्क, मुटु र छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ । चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ । राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ ।
पोषण युक्त खानाको कमी – छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ । पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ ।
वढी गुलियो खाना – वढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ ।
कम पानी पिउने – शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ । प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन् । पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ ।
निद्राको कमी – दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ । करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन् । यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दै खेरी फ्रेस हुदैनन् । लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा वढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ ।
मानसिक तनाव – मानसिक तनाव को असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ । कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन् । अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ ।
वढी घाममा वस्ने – सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा वस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ । वढी घाममा वस्नेहरुको छालामा एक किसिमको क्यान्सर समेत वढी हुने गरेको छ । ओजोनतह नष्ट हुदै गएकोले र सूर्यवाट निस्कने अल्ट्राभाएलेट किरणले यस्ता हानी गर्दछन् । तर यसको मतलव घाममा वस्नै हुदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको भने होइन । शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ र यसको लागि घाममा केहि समय वस्नु पनि आवश्यक हुन्छ । अर्थात सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, वढी वस्नु हुदैन ।
हार्मोनहरुको सन्तुलन विग्रने – शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ । महिलाहरुमा किशोरावस्था, गर्भावस्था र महिनावारीको साइकलको लागि विभिन्न हार्मोनहरु चाहिन्छन् । त्यस्तै गरेर महिला तथा पुरुष दुवैमा अन्य हार्मोनहरु आवश्यक पर्छन् । ती हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ । छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन् ।
मस्तिष्क र छालामा असर पार्ने कुराहरुवाट हामी टाढै रह्यौ भने मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं । स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ । त्यस कारण यी कुराहरुमा विशेष ध्यान राख्यौं भने वास्तविक उमेर भन्दा कम उमेरको देखिन सकिन्छ ।
Source: swasthyakhabar
0 comments:
Post a Comment