728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    यी हुन् माओवादी केन्द्रका मन्त्री हुने सम्भावित १० अनुहार

    काठमाडाैं-माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार निर्माण गर्ने तयारी गरेसँगै माओवादीभित्र सम्भावित मन्त्रीहरुको नाममाथि चर्चा सुरु भएको छ । वर्तमान कांग्रेस—माओवादी गठबन्धन सरकारका प्रमुख ‘डिजाइनर’ मानिएका नेता कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ले मन्त्रालयका विषयमा कांग्रेससँग छलफल थालिसकेका छन् । 

    सुत्रहरुकाअनुसार दुई दलबीच १३ मन्त्रालय नेपाली कांग्रेस र ९ मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेको छ । मधेशी मोर्चालाई सरकारभित्रै हुलेर मधेशको माग किनारा लगाउने रणनीति नयाँ तय गर्नेछ । फोरम लोकतान्त्रिकबाहेकका मधेशी मोर्चा र अन्य साना दललाई सरकारमा समेटिएको अवस्थामा केही मन्त्रालय साना दललार्इ दिनुपर्नेछ । 

    त्यस्तो अवस्थामा आएमा कांग्रेस र माओवादीको बाँडफाँड गरेको केही मन्त्रालयहरु साना दललाई दिनुपर्नेछ । दुई दलबीच मन्त्रालयका विषयमा प्रारम्भिक भागवण्डा भएपनि अन्तिम भागबण्डा भइसकेको छैन । 

    तर, पार्टीहरुभित्र मन्त्रीका लागि चाहना राख्नेहरुको लर्को बढ्दो छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारमा जाने मन्त्रीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी आफ्नो नेतृत्वको सरकार गठनमा सबैभन्दा क्रियाशील बनेर लागेका कृष्णबहादुर महरालाई दिएका छन् । महराले सिफारिस गर्ने नामको अन्तिम टुंगो भने माओवादी केन्द्रको बैठकले लगाउनेछ । यदि बैठकमा समेत विवाद देखिने अवस्थामा आएमा मन्त्रीहरुको नाम टुंगो लगाउने प्राधिकार प्रचण्डमा जानेछ । 

    तर, अहिलेसम्म माओवादीभित्र मन्त्रीको दौडधुपमा निम्न नेताहरु रहेका छन्ः 

    १. कृष्णबहादुर महरा 

    रोल्पाका स्थायी बासिन्दा हुन्, —कृष्णबहादुर महरा । २०४८ सालमै रोल्पा—२ मा मशालबाट चुनाव लडेर उनले सांसद जितेका थिए । 

    ५८ वर्षीय महरा २०६४ सालमा भने दाङ—३ बाट प्रतिनिधी सभामा विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी रोल्पा १ बाट विजयी भए । महराले यसअघि उपप्रधान तथा गृहमन्त्री र सूचना तथा संचारमन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन् । 

    कुनै समय माओवादीभित्रका प्रखर र स्वच्छ छवि भएका नेता मानिने महरा पछिल्लो समयमा सरकार परिवर्तन, चिनियाँहरुसँगको भएको भनिएको आर्थिक लेनदेन, अख्तियार र धार्मिक आस्थासँग जोडिएर विवादमा आए । जसका कारण उनको उक्लदैं गरेको छवि क्रमसः ओरालो लाग्यो । 

    वार्ता प्रक्रियामा सक्रिय भूमिका, माओवादीको महासचिवसम्मको भूमिका बहन र पार्टीभित्रको सन्तुलनकारी भूमिकाका कारण महरालाई प्रचण्डले मन पराउँछन् । पछिल्लो समयमा उनलाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’ पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर महराले नयाँदिल्ली भ्रमणका क्रममा तयार पारेको बताइन्छ । 

    महरा दाहाल नेतृत्वमा बन्ने नयाँ सरकारको उपप्रधान तथा अर्थमन्त्रीको बन्ने दौडमा रहेका छन् । तर, उनले दाबी गरेकै मन्त्रालय अर्का प्रभावशाली नेता जनार्दन शर्माले पनि दाबी गरिरहेका छन् । 

    २. जनार्दन शर्मा 

    रुकुममा प्रभावशाली युवा नेता हुन् जनार्दन शर्मा ‘प्रभाकर’ । दोस्रो संविधानसभामा पार्टीले देशब्यापी पराजय ब्यहोरिरहँदा पनि रुकुम—२ शर्माले विजय हासिल गरेका हुन् । पहिलो संविधानसभामा पनि उनले सोही क्षेत्रबाटैं जितेका थिए । 

    युद्धकालमा जनमुक्तिको सेनाको कमिसार हुँदैं कमाण्डर बनेका उनी कुनै समय माओवादीको प्रमुख फौजको डेपुटी कमाण्डर थिए । पार्टीभित्रका प्रभावशाली नेता मानिने शर्मा अध्यक्ष प्रचण्डका विश्वासपात्रै होइनन्, उनको क्याम्पका प्रमुख खम्बा नै मानिन्छन् । 

    शान्ति प्रक्रियामा आइसकेपछि प्रभाकर पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वमा बनेको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रीका रुपमा रहिसकेका छन् । हाल उनी सार्वजनिक लेखा समितिका सभापति समेत रहेका छन् । 

    प्रचण्डलाई सिंहदबारसम्म पु¥याउनका लागि ट्रयाक खोल्ने काममा प्रभाकरको भूमिका महत्वपूर्ण मानिएको छ । तर, महरा र जनार्दश शर्मा दुवैले उपप्रधानसहित अर्थ मन्त्रालय दाबी गरिरहेका छन् । स्रोतकाअनुसार पहिलो उपप्रधान तथा गृहमन्त्री पनि भइसकेकाले महरालाई उपप्रधान तथा अर्थमन्त्री दिने तयारी दाहालको छ । 

    यसो भएमा शर्मा कुनै अर्को प्रभावशाली मन्त्रालय लिएर सरकारमा जान सक्छन् । त्यो नभए महरा वा शर्मामध्ये एकलाई शेरबहादुर देउवा नेतृत्व सरकारमा जाँदा उपप्रधान तथा गृहसहित माओवादीबाट नेतृत्व गर्ने गरी प्रचण्डले थामथुम पार्ने सम्भावना छ ।


    ३. गिरिराजमणि पोखरेल 

    केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा हुँदा शिक्षामन्त्रीका रुपमा राम्रो काम गरेको, नारायणकाजी श्रेष्ठको टिममा अरु प्रभावशाली मान्छे नरहेका कारण गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने सम्भावना पनि उतिकै छ । खासगरी ओली गठबन्धन सरकारमा अन्य माओवादी मन्त्रकिो तुलनामा पोखरेलको भूमिकालाई सकारात्मक भएको समीक्षा माओवादीले गरेको छ । 

    उनको कार्यकालमा शिक्षा ऐनको (आठौं संशोधन), खुल्ला विश्वविद्यालयजस्ता महत्वपूर्ण प्रगतिहरु भएका थिए । दोस्रो संविधानमा महोत्तरी—१ बाट विजयी बनेका पोखरेलको विवादित छवि छैन् । 

    त्यसैले शिक्षा मन्त्री पाएमा पोखरेललाई दोहोर्याउन सक्ने गरी माओवादीले तयारी थालेको छ । माओवादी केन्द्रभित्र उनी एकताकेन्द्रबाट आएका नेता भएकाले उक्त समूहलाई सम्बोधन गर्नका लागि पनि पोखरेल पुनः मन्त्री हुने सम्भावना छ । 

    उनी नारायणकाजी श्रेष्ठका एकदमै निकटका ब्यक्ति भएकाले पनि मन्त्री हुने सम्भावना जीवित रहेको मानिएको छ । यसअघि पनि पोखरेल पटक—पटक मन्त्री भइसकेका छन् ।


    ४. राम कार्की 

    कुनै समय बाबुराम भट्टराईका अनुयायी थिए—राम कार्की । तत्कालीन नेकपा माओवादीभित्र बाबुरामको सैद्धान्तिक खेमामा रहेर उनले पार्टीभित्र उनको लाइनलाई समृद्ध गर्ने काम गरे । 

    वौद्धिक र तार्किक नेता मानिने कार्की बाबुराम प्रधानमन्त्री बनेपछि भने उनीबाट टाढिएका हुन् । बाबुरामले निकट रहेर लामो समय सघाएपनि प्रधानमन्त्री बन्दा आफूलाई टिममा नराखेपछि उनी असन्तुष्ट बनेका थिए । 

    बाबुरामको आफूलाई ‘चौकालदर्शी’ ठान्ने बानीबाट रुष्ट भएका कार्की एक पटक नयाँदिल्लीका लागि राजदूतमा सिफारिस समेत भएका थिए । तर, भारतले उनको एग्रिमो नपठाएपछि उनी राजदूत हुन पाएनन् । 

    अहिलेको सरकारमा सम्भावित मन्त्रीहरुमा पनि राम कार्कीको नाम अगाडि आउँछ । पार्टी संसदीय राजनीतिमा फर्केको लामो समय बितिसक्दा पनि कार्कीले आफ्नो क्षमताअनुसार कुनै महत्वपूर्ण भूमिका पाएका छैनन् । त्यसैले अवसर नपाएका नेताका रुपमा उनलाई मन्त्री परिषदमा लैजाने तयारी माओवादीभित्र छ ।


    ५. प्रभु शाह 

    माओवादीभित्रका मधेशका प्रभावशाली नेता मानिन्छन्—प्रभु साह । कुनै समय प्रचण्डले मधेशमा आफ्ना विश्वासपात्रका रुपमा मातृक यादवलाई पार्टीभित्र अगाडि बढाएका थिए भने बाबुराम भट्टराईले प्रभु शाहलाई । 

    पार्टीभित्रको दुई लाइन संघर्षमा पनि मातृक यादव र प्रभु साह सधैं भिन्न लाइनका खडा रहे । मातृकाले पार्टीमा रहुन्जेल प्रचण्डलाई कहिल्यै छाडेनन् भने प्रभुले बाबुरामलाई । 

    तर, गत असोजमा एमाओवादी परित्याग गर्दै बाबुराम नयाँ शक्तिमा लागेसँगै प्रभु पनि उतै जाने विश्वास गरिएको थियो । किनभने, नयाँ संविधानमा प्रभुले पनि बाबुरामझैं असन्तुष्टी जनाएका थिए । सिंगो पार्टीसँग पनि उनको असन्तुष्टी थियो । 

    तर, यी सबैका बाबजुद पनि प्रभुले बाबुरामसँगको सम्बन्ध ब्रेकअप गर्दै एमाओवादीमै रहे । जसका कारण यसअघि एमाले नेतृत्वको गठबन्धन सरकारकै बेला उनी मन्त्री हुने चर्चा चलेको थियो । तर, त्यतिबेला मधेशबाट उमेश यादवले सिचाइमन्त्री पड्काए । 

    अब प्रचण्ड नेतृत्वको कांग्रेस—माओवादी केन्द्र गठबन्धन सरकारमा प्रभु सम्भावित मन्त्रीहरुको चर्चामा छन् । ४२ वर्षीय प्रभु रौतहट ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


    ६. हितराज पाण्डे 

    २० वर्ष लामो शिक्षक विरासतबाट भूमिगत राजनीतिमा लागेका पाण्डे गोरखा—२ बाट निर्वाचित सांसद हुन् । माओवादीभित्र सैन्य फाँटमा कमिसारको भूमिका समेत निर्वाह गरिसकेका उनी प्रचण्ड निकट नेताका रुपमा चिनिन्छन् । 

    बाबुराम भट्टराईकै जिल्लाका भएपछि पाण्डे प्रचण्डलाई सधैं सहयोग गरे । ६२ वर्षीया पाण्डेले नेकपा (चौम)बाट राजनीतिक यात्रा सुरु गरेका हुन् । पार्टीभित्र इमान्दार छविका नेताका रुपमा चिनिने पाण्डेले युद्धमै आफ्ना छोरा गुमाएका हुन् । 

    अहिले उनी माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । पाण्डे अहिलेसम्म सरकार नगएका कारण उनलाई मन्त्री दिनुपर्ने मत पनि माओवादीभित्र बलियो छ । यसका साथै शहीद परिवार पनि भएकाले पाण्डेको सम्भावना अझ बलियो बनेको हो ।


    ७. महेन्द्रबहादुर शाही 

    दोस्रो संविधानसभामा देशब्यापी रुपमा माओवादी हार ब्यवहोरी रहेका बेला कालिकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् सांसद महेन्द्रबहादुर शाही । उनको नाम पनि नयाँ मन्त्रीका रुपमा चर्चामा छ । 

    कुनै समय कम्पनीका कमिसार रहेका उनी माओवादीका पूर्व डिभिजन कमाण्डर समेत हुन् । शाही कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । 

    युवा र कर्णाली दुवैलाई प्रतिनिधित्व गर्ने गरी ३७ वर्षीय शाहीलाई मन्त्रिपरिषद्मा लिनुपर्ने चर्चा माओवादीभित्र छ । लामो समय युद्धमा बिताएका र पूर्व कमाण्डर समेत भएकाले उनलाई लैजादा युवा, पूर्व लडाकू र कर्णालीमा समेत सकारात्मक सन्देश जाने भएकाले पनि उनको नाम मन्त्रीका रुपमा चर्चा रहेको छ । 

    शाही नागरिक सम्बन्ध समितिका सदस्यका समेत हुन् । 


    ८. टेकबहादुर बस्नेत 
    सल्यानका नेता टेकबहादुर बस्नेतको नाम पनि माओवादीमा सम्भावित नयाँ मन्त्रीका रुपमा चर्चा छ । सल्यान—१ बाट दुवै संविधानसभा निर्वाचनमा विजयी बनेका बस्नेत माओवादीभित्र सैद्धान्तिक नेताका रुपमा गनिन्छन् । 

    शिक्षक पेशा हुँदैं कम्युनिष्ट राजनीतिमा तानिएका बस्नेत कुनै समय माओवादी सेनामा कमिसारको भूमिका थिए । उनलाई सादा जीवन भएका नेताका रुपमा पनि युद्धकालमा चिनिन्थ्यो । 

    दुवै पटक चुनाव जितेका र युद्धकालमा पनि प्रभावकारी भूमिका निभाएका कारण ५१ वर्षीय बस्नेतलाई मन्त्री बनाउने चर्चा माओवादीभित्र चलेको छ ।


    ९. गौरी शंकर चौधरी ‘तारा’ 

    दोस्रो संविधासभामा कैलाली ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सभासद हुन् —गौरी शंकर चौधरी । सुदूरपश्चिम तथा थारु समुदायको प्रतिनिधी भएका कारण पनि गौरीशंकर मन्त्रीका प्रभावशाली दाबेदारका रुपमा हेरिएका छन् । 

    माओवादी केन्द्रभित्र सुदूरपश्चिमका प्रभावशाली नेताहरु सभासद् छैनन् । जसका कारण ३४ वर्षीय गौरी शंकरको सम्भावना प्रभावशाली देखिएको हो । 

    तारा माओवादीको लडाकू विरासत बोकेका युवा सभासद हुन् । थारु र सुदूरपश्चिमलाई समेट्नुपर्ने आवाज उठ्न भएकाले माओवादी केन्द्र यी दुवै आवाजलाई निस्तेज पार्नका लागि पनि गौरीशंकरलाई मन्त्री बनाउन सक्छ । 

    यसअघि एमाले नेतृत्वको गठबन्धन सरकारमा सुदूरपश्चिमबाट कसैलाई नपारिएको भन्दैं माओवादीभित्र नेतृत्वको चर्को आलोचना भएको थियो । उनलाई राज्यमन्त्रीसम्म बनाउने सम्भावना पनि उतिकै रहेको छ ।


    १०. सीता नेपाली 

    सुर्खेतकी सीता नेपाली पनि माओवादीभित्र मन्त्री बन्ने नेताहरुको चर्चामा छिन् । 

    ३९ वर्षीय सीता माओवादीबाट समानुपातिक सभासद हुन् । सीतालाई मन्त्रीका रुपमा सरकारमा लैजादा प्रचण्डले एकै पटक दुई पक्षलाई सम्बोधित गरेको अर्थमा पार्टीमा यसलाई अथ्र्याउने छन् । एक महिला र अर्को दलित । 

    त्यसैले सीता नेपाली पनि मन्त्री बन्ने सम्भावना प्रबल रहेको बताइन्छ । लामो समयदेखि पार्टीमा क्रियाशील ब्यक्ति भएका कारण उनले मन्त्री पाएमा असन्तुष्टी देखा नपर्ने भएकाले पनि नयाँ सरकारमा सीताको उपस्थितको चर्चा बढी भएको हो । 

    बउसो त दलितबाट दलजित वि.क. श्रीपाइलीलाई मन्त्री बनाउने चर्चा पनि माओवादीभित्र छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन् माओवादी केन्द्रका मन्त्री हुने सम्भावित १० अनुहार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top