728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    स्वदेश विदेश कतै भएन सुख, दुःखमा साथ दिन्छु भन्ने श्रीमती पनि हिँडिन्

    जनकपुर, साउन ११ – शरीरमा झुत्रो लुगा, सानो कपडाको एउटा थैलो, व्यस्त सडकको बिचमा हातको सहाराले घस्रेर हिँडेका छन् । यसरी सडकमा घस्रेर कुनै होटेल अगाडी जान्छन् । खाना माग्छन् । मायालु होटेलवालाहरु खाना दिन्छन् । उनी खान्छन् । फेरी आफ्नै बाटो लाग्छन् । उनी प्राय जनकपुरकै कुनै न कुनै सडकमा घसे्रर बाटो काटिरहेका भेटिन्छन् । उनले खाना बाहेक अरुथोक कसैसँग केही माग्दैनन् । बाटो हिँड्नेहरु घस्रेको हेर्छन् । फेरी मुडेर आफ्नै गन्तव्यमा लाग्छन् । केही कोमल मन भएकाहरु दुःखित हुन्छन् । एकछिन हेर्छन्, केही सोँच्दै आफ्ना गन्तव्य तिर लम्कन्छन् । बाटो हिड्नेहरु सबैको आआफ्नो गन्तव्य हुन्छ । सडकमा घस्रेर हिँड्ने ती व्यक्तिको कुनै गन्तव्य छ की छैन ? को होलान उनी ? यस्तो छ उनको कथा ।

    पहिलेको उनको संसार
    ३७ वर्षका भोला सहनी । १० वर्षअघि उनको पनि संसार सामान्य थियो । परिवार थिए । आमाबुबा, श्रीमती, एउटी छोरीसहितको सानो परिवार । हुन त छोरी र दाइभाइहरु अहिले पनि छन् । श्रीमती छिन् भन्ने की छैनन् भन्ने । धनुषाको चक्कर–२ का रौदी सहनीका छोरा हुन् भोला ।

    भोलाको दुःखका कथा
    बुबाको एक कठ्ठा घडेरी मात्र सम्पति हो सबै दाजुभाइमा । अत्यन्तै गरिबीको कारण ठूलो संख्या भएको परिवार आर्थिक मामलामा निकै दयनीय छ । गरिबीको कारण बुबाका सबै छोराहरु ज्याला मजदुरी गरी छाक टार्ने गरेका छन् । त्यसैमध्येका साहिला छोरा भोला पनि त्यसरी नै ज्याला मजदुरी गर्दै विवाह गर्ने उमेरसम्म पार गरे ।
    १३ वर्षअघि धनुषाकै गोदारका कारी सहिनीकी छोरी सुनिता सहनीसँग उनको विवाह भयो । विवाह पश्चात घरायसी खर्च बढ्याे । जसको कारण गाउँघरमै ज्याला मजदुरी गरेर छाक टर्नसमेत धौ धौ पर्यो । विवाहको एक वर्ष पश्चात नयाँ सदस्यको रुपमा छोरी जन्मिन् । भोलाकी छोरीको नाम रिंकु हो । त्यस पश्चात छोरीको लालन पालन र घरपरिवार सञ्चालनमा आर्थिक समस्याले जटिलता बढ्दै गयो ।
    गाउँ घरको ज्याला मजदुरीले घरपरिवार चलाउनसमेत अप्ठ्यारो परेको अवस्थामा छोरी र श्रीमतीको उज्वल भविष्य हेर्न थाले भोलाले । झनै छोरी भएपछि अहिले नकमाए छोरीलाई पढाई लेखाई र विवाह कसरी गर्ने, घरपरिवार सञ्चालन कसरी गर्ने भनेर भोलालाई चिन्ता थपिँदै गयो । अन्ततः भोलाले वैदेशिक रोजगारीमै आफ्नो परिवारको सुख शान्तिको सपना देखे र उनले वैदेशिक रोजगारीमा जाने निष्कर्षमा पुगे ।
    विवाहको तीन वर्षपछि पासपोर्ट बनाएर एक जना एजेन्ट मार्फत मलेसिया जाने निधो गरे । गाउँकै एक साहु महाजनसँग ऋण काढेर उनी मलेसियाको एक कम्पनीको कामदारको लागि विदेश उडे ।
    कामदारको रुपमा गएको कम्पनीमा पुग्दा ४/५ महिनासम्म त्यति कमाई भएन । जसोतसो त्यहाँ खान र बस्नेसम्मको कमाई मात्र भयो । ५/६ महिना पश्चात काम गर्ने कम्पनी नै बन्द भयो । जसको कारण बाध्य भएर घर फर्किनु पर्यो । भोलाले वैदेशिक रोजगारमा गएपछि बुनेका र देखेका सबै सपना त्यतिकै चक्नाचुर भयो ।
    झनै गरिबीले पिल्सिएका भोलालाई झनै अर्को विदेश जाँदा लिएको ऋण कसरी तिर्ने समस्या थपियो । वैदेशिक रोजगारमा जाँदा लिएको ऋणको कारण उनको जिन्दगी तनावमय बन्दै गयो । घरपरिवार सञ्चालनमा अत्यन्तै कठिनाई सुरु भयो । घरको आर्थिक अवस्था जर जर हुँदै जाँदा श्रीमती सुनिताले पनि विस्तारै भोलालाई माया गर्न छाडिन् ।

    श्रीमती परपुरुषसँग भागिन
    भोला विदेश जाँदा नै श्रीमती सुनिता अर्का पुरुषसँग उनको नजदिकी बढ्दै गएको थियो । घरायसी समस्या र साहुको ऋणको भारी कसरी तिर्ने भन्ने चिन्ताले भोलाको जिन्दगी तनाव भइसकेको थियो । झन् श्रीमतीले माया गर्न छाडेपछि उनी झनै मानसिक तनावमा थिए । झण्डै भोला विदेशबाट फर्केको डेढ वर्ष पछि श्रीमती सुनिता छोरी र श्रीमानको माया मारेर सदाका लागि जनकपुर विस्पिट्टीका एक पुरुषसँग कुलेलामा ठोकिन् ।
    एक त गरिबी, त्यसमाथि विदेश जाँदा लिएको ऋणको चिन्ता, श्रीमतीले माया गर्न छाडेको पीडा । सानो छोरीलाई श्रीमती सुनिताले छाडेर गएपछि भोला विक्षिप्त अवस्थामा पुगेको स्थानीय बासिन्दाको भनाई छ । पीडा खप्न नसकी भोलाको मानसिक सन्तुलन गुम्यो । एक त त्यतिकै घरपरिवारका सबै सदस्यहरु गरिबीको पीडाले पिल्सिएका । काम नगरी छाक टार्न धौ धौ । भाइहरुले आर्थिक अभावको कारण भोलाको उपचार गराउन सकेनन् । भोला मानसिक सन्तुलन गुमेपछि आफ्नो घरमा नबसी भौत्तारिँदै बाहिर बाहिर हिड्न थाले । उनको रेखदेख गर्ने कोहि भएनन् ।

    पानीटंकीबाट लड्दा मेरुदण्ड भाँचियो
    भोलाको मानसिक सन्तुलन गुमेको ५/६ वर्षपछि महोत्तरीको परौल स्थित खानेपानीको टंकीमा चढेको बेला लडेर मेरुदण्ड भाँचिएको भोलाका भतिज राजु सहनीको भनाई छ । मेरुदण्ड भाचिँदा उपचारको अभावमा विस्तारै भोला यसरी नै सडकमा घिस्रिन थाले । भोलालाई घरमा लग्न पटक पटक परिवारका सदस्यहरुले आग्रह गरेपनि आउन नमानेको भतिज राजुको भनाई छ ।

    यस्तो छ भोलाको दिनचर्या
    जनकपुरको सडकमा घस्रेर हिड्ने भोलाको प्रायः बसाई र खुवाई जनकपुरको शिवचोक र रेल्वे स्टेशनमा हुन्छ । भोलाको बेलुकाको खाना जनकपुरको शिवचोक स्थित जनकपुर नवरंग होटेलले खुवाउने गरेको स्थानीय बासिन्दा बताउँछन् । भोलाले नियमित रुपमा आफ्नो सरसफाई गर्ने गरेका छन् । उनले आफै हाते कल चलाएर लुगाफाटोसम्म धुने र नुहाईधुलाई गर्ने गरेको नवरंगकै एक सेक्युरेटी गार्ड झाले सुनाए । नुहाउन र लुगा धुन अरुले कल चलाएर सहयोग गर्न खोज्दा पनि त्यसलाई भोलाले अस्वीकार गरी आफैले काम गर्ने गरेका छन् ।
    अपांगको हकहितको लागि धेरै संघसंस्था रहेपनि पूर्ण रुपमा अपांग भोलालाई आजसम्म कुनै कतैबाट सहयोग भएको छैन । कष्टकर जीवन व्यथित गरिरहेका र सडकमा घस्रेर आफ्नो जीवन बिताइरहे पनि भोलामाथि त्यस्तो कुनै संघसंस्थाको नजर पर्न सकेको छैन । नत गाविसबाट अपांगता भएकाहरुले पाउने भत्ता नै पाउन सकेका छन् । उनलाई सायद एउटा ह्वील साइकल अथवा ह्वील चेयरको व्यवस्था भइदिँदा घस्रेर भन्दा ह्वील साइकलमा हिँड्न सहज हुन्थ्यो होला ।

    भोलाकी छोरी रिंकु मावलीमा पढ्दै
    श्रीमती सुनिता अर्का पुरुषसँग भाग्दा र भोलाको मानसिक सन्तुलन गुमेपछि छोरी रिंकु बिचल्लीमा परेकी थिइन् । आमा भागेको केहि दिन पछि मावलीले लगेर पालनपोषण गर्दे आएको छ । रिंकु अहिले झण्डै ११ वर्षकी भइन् । मावलीको आर्थिक अवस्था कमजोर भएको कारण रिंकुको जीवन पनि कष्टकर नै बितिरहेको राजुको भनाई छ ।उज्यालो अनलाईनमा खबर छ 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वदेश विदेश कतै भएन सुख, दुःखमा साथ दिन्छु भन्ने श्रीमती पनि हिँडिन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top