माधवको दुर्नियतपूर्ण दुर्वचनबाट सदनभित्रै वैरीहरूले काखी बजाए, खुच्चिउँ गरे । प्रचण्डले आफूलाई बेलुन बनाएर आकासमा उडाउँदा सुसुको न्यानोमा माधव मजाले रमाए, खित्का छाडेर हाँसे । ०४६ सालपूर्व यही लेखक अरू नेताभन्दा सी.पी. मैनालीलाई सिरभन्दा माथि राख्थ्यो तर मैनालीले आफैँले आफ्नो उचाइ स्वात्तै घटाए । यस लेखकको सूक्ष्म अध्ययन र विश्लेषणमा सी.पी. मैनाली समय क्रममा जननेता मदन भण्डारीसित तुलना गर्दा निरीह र कमजोर देखिए । सैद्धान्तिक, वैचारिक, अनुशासनलगायत हर विषय र पक्षमा ओली हालका कुनै पनि एमाले नेताभन्दा उन्नत र उच्च देखिन्छन् ।
माधवले यो जुनी र जिन्दगीमा ओली उचाइ छुने कुरै छाडौँ, उनले कल्पना पनि गर्न सक्तैनन् । ओलीका लच्छेदार लाक्षणिक, व्यञ्जनात्मक, बिम्ब प्रतीकात्मक तथा बहुबान्कीका लोक भाका, भाव र शैलीमा अभिव्यक्त विचार बुझ्न माधवले एक विषयविज्ञ राखेर अर्थ लगाइमाग्नु पर्छ । मदनले भनेझैँ तर्क र क्षमता नभएपछि मानिस आरिसले जल्छ भनेझैैँ माधव ओलीसित बेमतलब, बेकसुर राँक्किएका र आरिसले जलेका देखिन्छन् । यस लेखकलाई माधवले नराम्ररी ठगे भन्ने लाग्छ । उनले आफूलाई पनि लामो समयसम्म बोक्रे, देखावटी, चिप्ला र दोधारे कुरा गरेर नराम्ररी झुक्याएछन् । कहिले काहीँ जोइपोइका बीच तीसौँ वर्ष दाम्पत्य जीवन बिताएर पनि आपसमा राम्रंरी नचिनेको स्थिति समयले बताउँछ ।
यसरी बिताएका जोईपोइमध्ये कुनै एकले तीन छोराछोरी जन्माए वा हुर्काएपछि पोइल वा जोइल जान्छन् र माधवसितको आम कार्यकर्ताको चिनारी अहिले आएर जोइल जाने पोइको झैँ भएको देखिन्छ । माधवलाई सारमा बेलैमा चिन्न सकिएनछ । धेरै दिन ठूलो धोका भयो । पहिले पुजेको र आदर गरेको व्यक्ति त अनादर गर्न पनि लायक देखिएन । दुई वर्षअघिदेखि माधवमा वैचारिक र व्यवहारगत खिया परेको देखेको थिएँ । आज आएर उनलाई कामै नलाग्ने फलामे किट बनेको देख्दा सुन्दा दुख्ख पनि लाग्यो । माधवको अमर्यादित, अशिष्ट मात्रै होइन निकृष्ट व्यहोरा पार्टीको नवौँ महाधिवेशनपूर्व नै थाहा पाएको थिएँ र सुझावका रूपमा माधवका बारेमा करिब एक दर्जन जति लेख लेखेँ । नवौँ महाधिवेसनमा माधवले ओली विरोधी फौजदारी खेल्ने खालको दुर्वाच्य, अत्यन्त कटुतम र क्रूर वाक्य बोले र बोल्न पनि लगाए । जगन्नाथ खतिवडा नामका एक एमाले माधव गालीका अत्यन्त भद्दा रूप थिए । यी यसै पनि आफ्नो जिल्लाका बदनाम व्यक्ति रहेछन् पछि थाहा भयो । योगेश भट्राई नामका अर्का एमाले पनि ओली विरोधी हलाहल, कूट र कलुषित फतुर दुर्वचनमा माहिर देखिए ।
घनश्याम भुसाल त माधवका सैद्धान्तिक, वैचारिक तथा जबजका महान् भाष्यकार हुन् तर तिनै भुसालले डा. बाबुराम भट्टराईको बहिर्गमनमा डाँको छाडेर आजको मूल्याङ्कन मासिक पत्रिकामा कोकोहोलो मच्चाए । माक्र्सवाद परित्याग गर्ने बाबुरामको राजनीतिक वर्णशङ्कर पात्र र प्रवृत्तिका पक्षमा भुसालको यो शोककाव्य सुविचारित देखिन्छ । माधवका वरिपरि यस खालका कुरूप पात्र र प्रवृत्ति भरमार देखिन्छन् । त्रि.वि.मा माधवका बल्यसखा मेरा पनि एक जमानाका परिचित सिलवाल थरका प्राध्यापका कुरूप व्यक्ति थिए । उनकै हालीमुहालीमा तमाम प्रगतिशील तथा प्रजातन्त्रवादी प्राध्यापकको प्राज्ञिक हकहितको चीर हरण भयो । त्रि.वि.मा सिलवालले गरेको विभिन्न काममा लेनदेनको घिनलाग्दो स्थिति प्राध्यापक कर्मचारी बताउँथे । माधवका जोडबलमा त्रि.वि. पूर्वाञ्चल विराटनगरमा सहपरीक्षा नियन्त्रक नियुक्त व्यक्ति, तिनमा प्रगतिशील सुनाम भन्दा अगतिशील दुर्नाम बढी पाइने कुरा उनका सहपाठी प्राध्यापक बताउँछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा एकाध टिपेक्सज्ञ र आज्ञकै हालीमुहाली देखिन्छ, यी आफूलाई माधवकै मत भन्छन् । उनकै हतियार उर्मिला अर्याल अनेम सङ्घको विगत राष्ट्रिय महाधिवेसनमा विद्या भण्डारीविरुद्ध माधव मार्फत् उचालिइन् र झाँक्रो फिजाउँदै सम्मेलन कक्ष बाहिर रणसङ्ग्राम मच्चाइन् । दलबदलु, तिहुन चखुवाहरूको भीड माधवकै वरिपरि देखिन्छ । माधव आफूलाई र अरूलाई पनि लबी वा विचार समूह बताउँछन् । तर कार्लमाक्र्स, माक्र्सवाद, लेनिन, मदन र ओली लबी मात्र होइनन् । यी समाजको आमूल तथा गुणात्मक रूपान्तरण गर्ने दूरदर्शी सोच, मान्यता र मार्गदर्शन हुन् । यी सबै लोभीपापी र बेसर्मी लबी होइनन् । माधवका ढुलमुले स्वभावले मदन पनि हैरान बनेको देखिन्छ । सत्य, सही कुरा नबोल्ने अनि सबैसित हुन्छ र हवस् भन्ने दोधारे प्रवृत्तिका माधवका कारण तत्कालीन पार्टी स्थायी समितिका बैठकमा मदन आफ्ना कालकुट कपटी चरमविरोधी, कटु आलोचकबाट आजित भएका थिए ।
मात्र जीवराज आश्रित मदनको रक्षाकवच थिए । तर केन्द्रीय समितिमा भने ओली र ईश्वर पोखरेलका अगाडि माधव स्पष्ट रूपमा बहुमतकै आड लाग्थे, पहिल्यैदेखि । त्यसैले माधव हालसम्म बनेका पार्टी महासचिवका सबै अध्यक्षका दाहिने हात भएर बसे । ओलीको घोडी चढेर राजनीतिक र राजकीय सारा व्यक्तिगत उपलब्धि, आयआर्जन गरिसकेपछि खोलो त¥यो लौरो बिस्र्योका माधव कृतघ्नताको पराकाष्ठा हुन् । पहिलो लेखमै मैले माधव नेपालको नियत र नियति नामको लेख प्रकाशित गरेको थिएँ । एउटा जिम्मेवार अनुभवी भनिएको पार्टी अभिभावक भुइँमा नपछारियोस् भन्ने आकांक्षा र सदाशयता राखेर लेखियो तर अहिले यस लेखकबाट नै माधवप्रतिको सम्मान भुइँमा झ¥यो । साठी वर्ष उमेर बिताएको यस तहका नेता माधवको साउन ८ गतेको मन्तव्य सुन्दा उनको मति, गति अगतिको आहालमा चुर्लुम्मै डुबेको स्पष्ट भयो ।
माधवमा अब माक्र्सवादी र जबज अनुकूल चिन्तन र चरित्र कुनै र कत्ति पाइँदैन । माधवमा पादरी, भारदारी र फैजदारी पहिचान मात्र बाँकी रहेको देखिन्छ । पादरी, क्रिस्चियन, भारदारी भनेको आफू मात्र ठूलो, लायक, पार्टी अध्यक्ष तेहे¥याएर भए पनि आफैँ मात्र योग्य अनुभवी भन्ने राजसी घमण्ड माधवमा स्पष्ट भयो । फौजदारी भन्नाले विगतमा धरानमा भएको युवा महिला भेला बिथोल्न सुनसरीका तत्कालीन पार्टी अध्यक्ष भण्डारी मार्फत् ठाडो निर्देशनमा भौतिक फौजदारी गर्न गराउन एक झुण्ड परिचालन गरियो । यो माधवबाटै परिचालित रहेछ भन्ने अहिले ज्ञात हुन आयो । वाईसीललाई ठेगान लगाएर माधवको ज्यान जोगाउने युवा सङ्घका इमानदार जोदाहालाई हुल्लडवाज र हप्ता असुली गर्ने भनी दमनाम र दुर्नाम गर्ने कृतघ्न कुरूप वचन माधवले नै सार्वजनिक गरे ।
माधव सहयोद्धा कमरेडको बहुआयामिक प्रतिभा, क्षमताका कट्टर विरोधी रहेछन् भन्ने स्पष्ट भयो । ईष्र्या पनि सकारात्मक र नाकारात्मक हुन्छन् । ईष्र्यालाई सकारात्मक रूपमा लिएर अलि मिहेनत गरेको भए माधवले निक्कै माथि पुग्ने थिए । अर्थात् तमाम कार्यकर्ता जनताको मनमा बस्ने थिए । काम गर्ने पनि धेरै राम्रो काम गर्ने अवसर पाएका थिए । मदनको अवसानपछि ओलीलाई पार्टी महासचिव हुन केन्द्रीय सदस्यहरूको अत्यधिक समर्थन थियो तर पनि माधवले ओलीसित धेरै अनुनय विनय गरेपछि ओली उदार बने र माधव महासचिव हुन पुगेको एक नेताले बताए । अझै पनि पदप्रति माधवको अत्यन्त आशक्तिबाट यो कुरा छर्लङ्ग हुन्छ । कहिल्यै नसोचेको महासचिव आइलाग्दा माधवलाई कता जुठे कता जुठेको बाउ भनेझैँ भएको थियो । यसको स्पष्ट दृश्य माधवले महासचिवका तर्फबाट बोल्दा ठूलो टिपोट कपी पल्टाउँदै हेरेर अड्की अड्की इनरुवाको एक सभामा भाषण गरेको झलझली सम्झना आइरहेको छ ।
माधव ओलीसामु लिलिपुट सरह हुन् । महान् प्रगतिशील राष्ट्रवादी, देश, जनता र जनजीविकाका निम्ति अत्यन्त चिन्तित र क्रियाशील ओलीसित माधवको तुलना बिलकुल असङ्गत हुन्छ, अन्याय हुन्छ । जसरी मदनसित मैनालीको तुलना अन्याय सावित भयो । जूनसित जुनकिरीको तुलना हुँदैन । आँखासित आँख्लाको तुलना हुनसक्तैन । गतिसित नियतिको तुलना हुन्छ ? ओलीदेखि नेपाली भाषा, साहित्य र संस्कृतिका विज्ञ चकित भएका छन् । प्रा.डा. देवीप्रसाद गौतम जो मेरा विद्यावारिधि गुरु हुनुहुन्छ । उहाँले समेत राष्ट्रकवि माधव घिमिरेलाई त्रि.वि.ले गरेको अभिनन्दन गरेको प्रसङ्गमा ओली लभ घिमिरेका बारेमा गरेको बोली वचन सुनेर चकित भएको एक प्रसङ्गमा बताउनुभएको थियो । आफैँ यो लेखक भाषासाहित्य र संस्कृतिको क्षेत्रमा ३८ वर्ष क्रियाशील रही हालै सेवा निवृत्त भएको छ । ओलीको बहुआयामिक राप, ताप, प्रताप र इमान, जमान र कमाण्ड अत्यन्त सिर्जनशील व्युत्पन्नशाली तथा प्रभावशाली मति देखेर यो लेखक कायल भएको छ ।
एमालेमा अहिले पुतलीसित र झुसिल्किराको तुलना गर्ने दुस्साहस गर्न खोजिएको देखिन्छ । माओवादीका सिङ, जुरो, पुच्छर हुन चाहने माधव र त्यसमा रौसिनेहरू उनका भातजीवी अनुचर ओली नामको एमालेको वैचारिक आस्थाको पहाडसित जोरी खोज्न तम्सिएका देखिन्छन् । ओलीले बोलेको तर्क, तथ्य र तथ्याङ्कमा आधारित लेख र मन्तव्य पढेपछि सारा र तमाम एमाले जन शान्त हुन्छन् । अनि माधव पानीको फोकाझैँ फुट्नेछन् । एमालेमा माधव कालदेखि विगत विरासतका रूपमा रहेको वैचारिक विचलन र अपचलनका कारण सत्यतथ्य छुट्याउन कतिपय सामान्य कार्यकर्तालाई सकस हुनसक्छ । तर यस दिशामा कलात्मक हस्तक्षेप गरेर जाने हो भने एमालेका माधव नामका चरम अवसरवादी, स्वार्थी, अत्यन्त नितान्त सङ्कीर्ण, सङ्कुचित, मनोगतवादी र हीनताग्रन्थबाट ग्रसितहरू छिटै तह लाग्छन् । तर ओली व्यक्तित्वलाई धमिरा लगाउनेहरू ओली वरिपरि नै फनफनी घुमिरहेका छन् । पूर्वाञ्चलमा बराल छन् । उनले जानेर र बढ्ता जानेर ओली साख विगतदेखि नै खस्काएको कार्यकर्ता बताउँछन् । यस्तो रोग यतातिर अरू बरालहरूमा पनि धेरथोर पाइन्छ । समग्रमा ओली प्रभाव देशव्यापी रूपमा राम्रो भए पनि उनका कतिपय पक्षधर ओली संस्कृतिबाट निक्कै टाडा देखिन्छन् । आम कार्यकर्ता र जनतासित तिनको लगनको गाँठो निक्कै शिथिल बनेको देखिन्छ । केही कुमाइहरूले ओलीलाई फनफनी घुमाइ रहेको देखिन्छ । प्रमको सचिवालयमा केही झुम्राहरू बटुलेर ओली उचाइ घटाउने काम भएको देखिन्छ ।
ओलीको जोसित पनि जहिले पनि जहाँ पनि फेसबुके सञ्चार प्रचार निक्कै सस्तो भएको देखिन्छ । एक जना लेखापढी वकिल अग्नि खरेलउर्फ पानी खरेललाई प्राध्यापक, डाक्टर, विषयविज्ञ र विद्वान्सित कसरी शिष्ट शालीन व्यवहार गर्नुपर्छ, राम्ररी सिकाउनु पर्ने देखिन्छ । माक्र्सवाद र जबज संस्कृति, आचरण र जीवन शैली हो । एक जना प्रगतिशील तथा प्रगतिवादी सशक्त बौद्धिक, लेखक, चिन्तक छन् । तिनको नाम दयालबहादुर साही हो । ती भातका लागि भन्दा भविष्यका लागि लागिपरेका छन् । तर प्रदीप ज्ञवाली नामका बहुआयामिक बौद्धिक प्राज्ञिक नेता छन् जो आँखामा राखे पनि कत्ति बिझाउँदैनन् । ओली निकट भनेर चिनिएका ज्ञवालीले मात्र ओली छवि जोगाउँछन् र जगाउन सक्छन् । माधव र ओलीलाई याद होस् ढोडको तक्मा टेकेर सगरमाथाको सिखर चुम्न सकिन्न । तर माधवका ओराला र भिराला दिन सुरु भए । एक सय एक अकर्मण्यता गरेपछि कम्युनिस्ट पार्टी र त्यसमा पनि मदनको पथमा हिँडेका र जबजको पाठशालामा पढेका तमाम एमाले जनका बीच यस्ता दुच्छर स्वभाव छिटै घटुवा हुँदै घाटको यात्रातिर लम्कन्छन् । अझै समय छ माधवले सदनमा जे बोले, त्यसमा आम सञ्चारमार्फत् माफी माग्नु पर्छ । नत्र जबजमा निष्ठा भएका कार्यकताको बाहुल्य हुने हो भने माधव नेपाल पार्टी कार्यबाहीको भागिदार बन्नुपर्ने स्थिति स्पष्टै छ ।रातोपाटीमा खबर छ
0 comments:
Post a Comment