728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    सर्पको टोकाइबाट बच्ने उपाय : टर्च, लठ्ठी र गमबुट

    काठमाडौं, साउन १० – अहिले जमिनमुनिका सर्प आहारको खोजी र शितलका लागि बाहिर निस्कने गर्छन् । जमिनभित्रबाट बाहिर निस्केका सर्प खेतबारी, झाडी, वनजंगल, मुसा लुक्ने दुलो वरिपरी बढी देखिन्छन् । त्यसैले मनसुनका बेला भोग्नुपर्ने धेरै समस्यामध्ये एउटा समस्या सर्पदंश हो । गोमन, करेत, भाइपर, जस्ता विषालु सर्पले टोकेमा तत्काल उपचार नपाए एक डेढ घण्टामै बिरामीको ज्यान जान्छ ।
    सधैँका वर्षमा जस्तै यसपाली पनि सर्पदंशका घटना बढ्दै गएका छन् । अझ यसपाली वर्षा धेरै भईरहेको छ भने जलवायू परिर्वतनका कारण अघिल्ला वर्ष भन्दा गर्मी धेरै रहेको विज्ञले बताउँदै आएका छन् । गर्मीको समय त्यसमा पनि वर्षात प्रायः हामी साँझ र रातीको समयमा घरभन्दा बाहिर धेरै समय असुरक्षित तरिकाले बस्दा सर्पले डस्न सक्छ ।
    भौगोलिक कारणले पनि हाम्रो तराईको भागमा गर्मी धेरै हुने हुनाले सर्पदंशको समस्या उच्च छ । त्यस्तै पहाडी र हिमाली जिल्लामा पनि पछिल्लो समय सर्पदंशका घटना बढेका छन् । सर्पहरु आफ्नो प्रजाती अनुसार कुनै विषालु त कुनै कम विषालु भएपनि हाम्रो देशको भौगोलिक अवस्था अनुसार लगभग सबै ठाउँमा दुवै प्रकारका सर्पहरु पाईन्छ । तराईमा गर्मी बढी हुने भएकोले बढी विषालु करेत, गोमन, भाईपर जस्ता सर्पहरु तराई क्षेत्रमा बढी मात्रामा पाइन्छ ।
    घर बाहिर निस्कँदा वा घरमै रहँदा जस्तो अवस्थामा भएपनि सर्पले टोक्न सक्छ है भनेर बेलैमा सावधानी हुनुपर्छ । कतिपय अवस्थामा सर्पले डसेको अर्थात् टोकेको थाहा नपाउने, थाहा पाएर पनि अरु नै कारण होला भनेर हेलचेक्राईं गर्ने, विषालु सर्प होईन भन्नेतिर लाग्ने, अस्पताल वा स्वास्थ्य संस्थातिर नगई झारफुक तिर लाग्ने, सर्प खोज्नतिर लागी समय बिताउने गर्दा समयमा नै अस्पताल पुर्याउन नसकी धेरैले ज्यान गुमाउनु परेको उदाहरण छन् ।
    हामीले सर्प विषालु हो वा होईन ? त्यसको विष लाग्छ वा लाग्दैन ? भन्नेतिर लाग्नु भन्दा समयमै जहाँ सर्पदंशको उपचार सम्भव छ वा सर्पदंशको ए.एस.भि.एस औषधि उपलब्ध छ, बोकेर, मोटरबाइक खोजेर वा एम्वुलेन्स जसरी सम्भव हुन्छ त्यसरी नै बिरामीलाई अस्पताल पुर्याउनु पर्छ ।
    अस्पताल पुर्याउन ढिला भएमा बिरामीको अकालमै ज्यान जान सक्छ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले भन्नुभयो, ‘सर्पले डसेपछि वा शंका लागेमा बिरामीलाई बेलैमा ख्याल गरी तत्कालै सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउनु पर्दछ ।
    सर्पले टोकेपछि देखिने केही लक्षण
    १) घाँटी दुख्ने वा थुक निल्न गाह्रो हुने ।
    २) पेट दुख्ने, वाकवाकी लाग्ने वा उल्टी हुने ।
    ३) ननिदाएको व्यक्तिको एक्कासी आँखा बन्द हुने ।
    ४) आँखा बन्द नहुँदा समेत धमीलो देख्ने ।
    ५) टोकेको ठाउँ बिस्तारै सुन्निदै जाने ।
    ६) शरीरका बिभिन्न भागबाट रगत बग्ने ।
    ७) हातखुट्टाका माशंपेशी नचल्ने, सास फेर्न गाह्रो हुने, जिब्रो कम चल्ने ।
    यस्ता समस्या देखिनेवित्तिकै अस्पताल पुग्नु आवश्यक छ ।
    सर्पदंशबाट बच्ने उपाय
    १) अनावश्यक रुपमा घर बाहिर साँझ तथा रातीको समयमा ननिस्किने र निस्कनै परेमा उज्यालोको लागि टर्च प्रयोग गर्ने ।
    २) शरीर पुरै छोप्ने कपडा र जुत्ता प्रयोग गर्ने त्यसमा पनि सम्भव भए गमबुट लगाएर निस्कने
    ३) घर वरिपरी सफा राख्ने, झारपात हटाउने, मुसाका प्वाल वा अन्य कुनै प्वाल भित्र हात नहाल्ने, ठूला प्वाल पुर्ने ।
    ४) सर्पलाई जिस्काउने, मार्ने प्रयास नगर्ने यदि सर्प घर भित्र पसेको छ भने बाहिर निस्कने अनुकुल बातावरण बनाउने ।
    ५) जमिनमा भएको वस्तु उचाल्दा एक पटक राम्रोसँग हल्लाईसकेपछि मात्र उचाल्ने ।
    ६) घरको झ्याल, ढोकामा जालीको प्रयोग गर्ने । सुत्दा सधंै खाटमा सुत्ने र झुलको प्रयोग गर्ने ।
    ७) सकभर जंगल झाडी कुना काप्चा नजाने, जानै पर्ने भएमा सतर्कता अपनाएर जाने ।
    ८) मुसा खानका लागि सर्पहरु आउने भएकाले मुसा नियन्त्रणका लागि बिरालो पाल्ने ।
    ९) गर्मीमा पानी परेपछि साँझ र रातीको समयमा बढी सतर्क हुने । पोखरी वा नदीमा पौडी खेल्दा सर्पहरु पनि हुन सक्ने भएकाले चनाखो बन्नुपर्छ ।
    १०) उच्च पहाडी भेगतिर सर्पहरु रुख तथा पर्खालमा पनि पाईने भएकाले त्यस्ता ठाउँमा सावधानी अपनाउने ।
    ११) बुढापाकाले लठ्ठी र छाता बोकेर बाहिर निस्केको त प्रायःले देखेकै छौं जसले टेक्न मात्र नभएर आवश्यक पर्दा छेक्न र सेक्न सक्छ । लठ्ठीको आवाजले सर्पहरु भाग्छन् पनि ।
    १२) सर्पदंशको जोखिम न्यूनिकरणका लागि प्रत्येक घरमा ब्याण्डेज अनिवार्य रुपमा राख्ने र सर्पदंशको उपचार हुने नजिकको स्वास्थ्य संस्थाको सम्पर्क फोन टिपीराख्ने ।
    सर्पले डसीहालेमा के गर्ने ?
    चनाखो हुँदाहुँदै पनि सर्पले डसेमा वा डसेको शंका लागेमा ब्याण्डेज भएमा ब्याण्डेजले र नभएमा रुमाल वा चाक्लो कपडाले ज्यादै टनटनी नहुने गरी हलुका बाँध्नु पर्छ । मसिनो डोरीले कसिने गरी बाँधेमा रक्तसञ्चालन बन्द भई हात खुट्टा सुनिएर नोक्सान पनि हुन सक्छ । ख्याल गरौं उपचारपछि निको भएपनि अपाङ्गता हुन सक्छ ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका निर्देशक डाक्टर मरासिनीका अनुसार बिरामीलाई बान्ता हुन सक्ने भएकाले पानी लगायत कुनै पनि बस्नु खान नदिने र बढी हलचल नगराई जतिसक्दो चाँडो अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउनु पर्दछ ।
    हुन त सर्पदंशको मुख्य औषधि एन्टी स्नेक भेनम सेरम (एएसभिएस) अत्यन्त महंगो भएपनि सरकारी सहयोगमा निःशुल्क प्राप्त भईरहेको छ ।
    एन्टी स्नेक भेनम सेरम सरकारी अस्पतालमा मात्रै उपलब्ध हुने भएकाले सर्पले डसेर विरामीलाई निजी अस्पताल र मेडिकल भन्दा आफूलाई पायक पर्ने सरकारी अस्पतालमै वा सर्पदंश उपचार केन्द्रमा नै लैजानु उपयुक्त हुन्छ । तर बेलाबेला नेपालमा औषधिको अभाव पनि हुने गरेको छ ।उज्यालो अनलाइनबाट साभार।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सर्पको टोकाइबाट बच्ने उपाय : टर्च, लठ्ठी र गमबुट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top