सर्लाही । साउन ९ – रोजगारीका लागि मलेसिया गएर परिवारको सम्पर्कमा नरहेका सर्लाहीको कालिन्जोरका सञ्जिव खड्का परिवारको सम्पर्कमा आउनुभएको छ ।
पछिल्लो एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेको खबर उज्यालो अनलाइन मा प्रकाशित भएपछि सञ्जिवले टेलिफोन गरेको परिवारका सदस्यले जानकारी दिएका छन् । परिवारको सम्पर्कमा नरहेपछि कालिन्जोर–१ का सञ्जिवका परिवारले उहाँको मलेसियामै कसैले हत्या गरेको हुन सक्ने आशंका गरेका थिए । तर उहाँले अहिले परिवारलाई टेलिफोन सम्पर्क गर्नुभएको हो ।
उहाँले फोनमा आफूलाई राम्रो भएको भन्दै नआत्तिन आग्रह गर्नुभएको छ । सञ्जिवकी आमा मनकुमारी खड्काले भन्नुभयो ‘मैले फोन नगरेको मात्रै हो, आत्तिनु पर्दैन मलाई केही पनि भएको छैन भन्यो’ आमासँगको कुराकानीमा उहाँले घरमा फोन नगर्नुको कारण चाहिँ भन्नुभएन ।
किन फोन नगरेको ? भन्दा हाँसेर टार्ने गरेको मनकुमारीले बताउनुभयो । सञ्जिवले बुवालाई पैसा पठाई दिन्छु घडेरी किन्नु भनेपछि खिलबहादुर खड्काले घडेरीका लागि बैना पनि गर्नुभएको थियो तर सञ्जिव भने पैसा नपठाइ बेपत्ता हुनुभयो । पैसा पठाउने बताएका सञ्जिव एक्कासी हराएपछि परिवारले कसैले त्यही पैसाका लागि कसैले मारेको हुन सक्ने शंका गरेका थिए ।
आमासँगको फोनको कुराकानीमा सञ्जिवले साथीले सापट लगेकाले उनीहरुले दिएपछि घर पठाउने बताउनुभएको छ । उज्यालो अनलाइनमा खबर आएपछि आमाबुवा चिन्तामा भएको थाहा पाएका सञ्जिवले ‘समाचार नै त नलेखेको भए हुन्थ्यो’ भनेको मनकुमारीले सुनाउनुभयो ।
तर मनकुमारी भने त्यही समाचारले छोरो सम्पर्कमा आएकोमा खुसी हुनुहुन्छ । भन्नुहुन्छ ‘अहिले त दिनैपिच्छे फोन गरिरहेको छ ।’ त्यति मात्रै होइन सञ्जिवले अहिले त विदेशमा भएका दाजुहरुलाई पनि फोन गर्न थाल्नुभएको छ । झण्डै एक वर्षपछि फोन गरेका सञ्जिवले परिवारसँग मिलेमा यही साउनमा २० गतेतिर नेपाल फर्किने जानकारी गराउनुभएको छ ।उज्यालो अनलाइनबाट साभार।
0 comments:
Post a Comment