श्रावण २, २०७३- इराकको एरबिल सहरमा रोजगारीमा रहेकी पोखराकी अञ्जना नेपालीको ‘शंकास्पद मृत्यु’ भएको दुई महिना बितिसक्दा पनि शव फिर्ता ल्याउन नसकेकोमा परिवारले चिन्ता जनाएका छन् ।
पोखराको हनुमानटोलकी अन्जना ३ बर्षअघि इराकको कुर्दिस्तान पुगेको र विभिन्न घरमा घरेलु कामदार हैसियतमा काम गर्दै आएको जानकारी घरपरिवारमा रहेपनि छोरीको मृत्युको कारण र अवस्थाबारे थाहा नभएको आमा कल्पना नेपालीले बताइन् । ‘कसैले मारेको हो भन्छन्, कोही आत्महत्या पनि भन्छन्,’ आमा कल्पनाले भनिन्, ‘छोरीको शव कसले र कसरी नेपालसम्म ल्याइदेला भन्ने थाहा हुन सकेको छैन ।’ एरबिलस्थित स्थानीय अस्पतालमा उनको शव राखिएको छ ।
इराक जानुअघि एजेन्टहरुमार्फत साउदी अरेयिबा र दुबई गैसकेकी अञ्जना छ बर्षयता वैदेशिक रोजगारीमैं थिइन् । ‘अन्जनाको श्रीमान (ज्वाईं) र एउटा छोरा पनि सम्पर्कहीन छन्, पूर्व नेपालतिर बस्छन् भन्ने सुनेकी हुँ तर, कुनै सम्पर्क छैन,’ कल्पनाले भनिन् ।
इराक मामला हेर्ने इस्लामाबादस्थित नेपाली नियोगमा पनि एरबिलमा एक नेपाली युवतीको शव अड्किएर बसेको सूचना पुगिसकेको छ । ‘तर नेपालमा शव जिम्मा लिने र शवफिर्तीका लागि खर्च संयोजन गर्ने उपाय नभएर समस्या यथावत छ,’ इस्लामाबादस्थित कुटनीतिक अधिकारीले भने । नियोगले इराकमा रहेको गैरआवासीय नेपाली समुदायलाई पनि अञ्जनाको शव घरफिर्तीका लागि समन्वय जुटाउन आग्रह गरिसकेको छ ।

0 comments:
Post a Comment