रुकुम, असार २७ – रुकुम मुरु गाविस-६ का मानबहादुर दमाइको गएको वैशाखमा भीरबाट लडेर निधन भएपछि मानबहादुरको साहारामा बाँचेको पाँच जनाको परिवार बिचल्लीमा पर्याे ।
एक टुक्रो सुख्खा जमिनसमेत नभएको उहाँको परिवारमा ठूलो बज्रपात आयो । श्रीमानको मृत्युपछि छोराछोरी र आफ्नो पेट पाल्ने जिम्मा श्रीमती पवित्रालाई आइपर्यो । तीन छोरी र एक छोरालाई कसरी हुर्काउने चिन्ताले सताइरहँदा पवित्रा शारिरिक रुपमा समेत निकै कजमोर अवस्थामा पुग्नु भयो ।
एक दिन गाउँका नेपाली कांग्रेस नेता भिम बहादुर डागीलाई लिएर जिल्ला विकास समिति रुकुममा केही सहयोग माग्न पुग्नु भयो पवित्रा । पीडितको कुरा सुनेर रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले जीर्ण अवस्थामा रहेको घरको फोटोलाई आफ्नो फेसबुकमा अपलोड गर्दै सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
उहाँको फेसबुक हेरेर तत्कालै लायन्स क्लव अफ रुकुम राप्ती र लायन्स क्लव अफ रुकुम मुसिकोटले केही राहत सामग्री वितरण गरे । राहतले पीडित परिवारलाई केही समयसम्म खान र बस्नको लागि सहयोग मिल्यो ।
न बस्ने बास गतिलो थियो न बाली पाक्ला र खाउँला भन्ने जमिन नै । यस्तै समस्याले झनै पीडित परिवारलाई पीडामा पर्दै गए । समस्यासँग परिवारको दैनिक संर्घष चलिरहेकै थियो ।
मकाउमा रोजगारीको शिलशिलमा पुगेका केही नेपालीले स्थानीय विकास अधिकारी भरत कुमार शर्माको फेसबुकमा पवित्राको दुःखको कुरा पढेपछि सहयोग जुटाउने अभियानमा लागे । छोटो समयमा उनीहरुले १ लाख २० हजार रुपैयाँ जम्मा गरि स्थानीय विकास अधिकारीसँग कुराकानी गरे ।
सबैको सल्लाहमा गाउँमै पीडित परिवारलाई ४ सय ९० वर्ग मिटर जग्गा खरिद गरियो । यो खबर पाएपछि जमिनबिहीन पवित्राको परिवारमा खुसी छायो । कामको अवसरमा मकाउ पुगेका खलंगा–५ रुकुमका घनश्याम खड्का, छिवाङका भरत केसी र खलंगाका ओम खड्काको अगुवाईमा जम्मा भएको १ लाख १८ हजार रुपैयाँबाट खरिद गरिएको जग्गाको लालपुर्जा पवित्रालाई हस्तान्तरण गरियो ।
स्थानीय विकास अधिकारीको कार्यकक्षमा घनश्यामका बुवा पुर्णसिंह खड्का र ओमका बुवा चिन्ताराम खड्काले सामूहिक रुपमा पवित्रालाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नु भएको हो । ujyaalo90 network
0 comments:
Post a Comment