राष्ट्रिय सहमति पनि चाहिने निर्णय एमालेले गरेको सन्दर्भममा राष्ट्रिय सहमतिका लागि माओवादीका नेतृत्वमा माहौल बन्छ भने एमालेले सहयोग गर्न नहुने कुनै कारण नभएको रायमाझीले बताए । “नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दा के को अप्ठ्यारो ?” एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै रायमाझीले भने ।“हिजोका दिनमा कांग्रेसको सरकारलाई एमालेले समर्थन गर्दा हामी प्रतिपक्षमा भएर पनि हामीले संविधान निर्माणका लागि सहयोग गरेका होइनौं र ?” राष्ट्रप्रति जिम्मेवारी हुने हो भने ‘इगो’ राखेर बस्न नहुने रायमाझीले बताए । एमालेको नेतृत्वमा संविधान कार्यान्वयनको जिम्मेवारी बोकेर ९ महिनासम्म बसेको बताउँदै रायमाझीले भने, “संविधान कार्यान्वयनका लागि चाहिएको हो राष्ट्रिय सहमति । ९ महिनासम्म यो हुन सकेन । अझ भनौं, एमाले नेतृत्वको सरकारमा यो सहमति बन्न सकेन । अहिले कांग्रेसलगायत अन्यले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमति गर्न खोज्दा एमालेले असहयोग गर्नुपर्ने कुनै कारण छैन ।” एमालेले झन खुसी भएर सहयोग गर्नुपर्ने उनले जिकिर गरे ।
अविश्वासको प्रस्ताव स्वभाविक प्रक्रिया अन्तर्गत आएको उनको भनाई थियो । हामीले सरकारमा छँदा खासगरी सामाजिक सुरक्षा, पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा अधिकतम कोशिस गर्यौं । सबै क्षेत्रमा एउटा आधार पनि निर्माण भयो । तर संविधान कार्यान्वयनका लागि अति आवश्यक र यी आधारलाई मूर्तरुप दिन चाहिने राष्ट्रिय सहमति बन्न सकेन ।” रायमाझीले भने, “एमाले नेतृत्वले यो विषयमा भूमिका निर्वाह गर्न नसकेपछि अविश्वास प्रस्ताव आएको हो ।” रायमाझीले भने ।
छिमेकी देशहरुसँग सन्तुलित सम्बन्धका लागि समेत नयाँ सरकार आवश्यक भएको उनको तर्क थियो । “चीनसँग लस्किने र भारतसँग अन्तरविरोध राख्ने या भारतसँग हदैसम्म टाँस्सिने र चीनसँग दुश्मनी गर्ने दुबै प्रवृत्ति गलत हुन ।” रायमाझीले भने, “नेपालको स्वतन्त्र अस्तित्व विकास गर्ने हिसाबले दुबै छिमेकीसँग सन्तुलित र मर्यादित सम्बन्ध कायम गर्नुपर्छ । यसो गरेमा नेपालले समृद्दि हासिल गर्न सक्छ ।” उनको भनाई थियो । सरकारको भूमिका छिमेकीहरुसँगको सम्बन्धलाई नेपालको समग्र समुन्नतीका पक्षमा उपयोग गर्न हुनुपर्नेमा रायमाझीले जोड दिए ।
रायमाझीले सरकारमा सहभागी हुँदा उर्जा विकासको क्षेत्रमा आधार तयार गरेको दावी गरे । उर्जा क्षेत्रमा ऐतिहासिक गुरुयोजना (मास्टर प्लान) तयार भएको बताउँदै रायमाझीले यही योजनाका आधारमा अबको उर्जा क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए ।
उर्जा क्षेत्रमा राजनीतिक भन्दा पनि कर्मचारीतन्त्रको प्रभावका कारण कतिपय कामहरु हुन नसकेको उनको भनाई थियो । “सत्ता गठबन्धनका दलहरु भन्दा पनि ब्यूरोक्रेसीमा रहेको पुरातनवादी चिन्तनले काम गर्न असहज भयो । तर यो रुपान्तरण नभई सुखै छैन ।” रायमाझीले भने ।

0 comments:
Post a Comment