असार २६, २०७३- भारतले नेपालमा सरकार बनाउने र गिराउनेसहित अन्य सानातिना आन्तरिक मामिलामा समेत आफ्नो देशलाई मुछिएकामा असन्तुष्टि व्यक्त गरेको छ । भारत भ्रमणमा रहेको संसदको विकास समितिको टोलीसँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आन्तरिक मामिलाबारे निर्णय लिन नेपालका नेता आफैं परिपक्व भए पनि अनावश्यक रूपमा भारतलाई दोष दिने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको सहभागी एक सांसदले बताए ।
‘पुष्पकमल दाहाल, शेरबहादुर देउवालगायत नेताहरू बसेर सरकार परिवर्तनको सम्बन्धमा निर्णय लिन्छन्, तर दोषचाहिँ भारतलाई लाग्छ,’ स्वराजको भनाइ उद्धृत गर्दै ती सांसदले भने । पछिल्लो पटक सरकार फेर्ने विषयमा नेपालमा भएको घटनाक्रम आफूलाई थाहा नभएको समेत स्वराजको भनाइ थियो ।
भारतका कारण नै आफ्नो सरकार ढाल्न खोजिएको आक्रोशमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्द गराएको भारतीय पक्षको बुझाइ छ । त्यसलगत्तै प्रधानमन्त्री केपी ओली र अन्य एमाले नेताले भारतले सरकार परिवर्तन गराउन लागेको भनी दिएको अभिव्यक्तिप्रति भारतीय सरकारले आपत्ति जनाउँदै आएको छ ।
मधेसवादी दलहरूको माग सम्बोधन नभएको सन्दर्भमा पनि स्वराजले घुमाउरो पारामा असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका क्रममा व्यक्त प्रतिबद्धताअनुसार मधेसका बाँकी असन्तुष्टि सम्बोधन गर्ने काम नभएको बताइन् । उनले नेपाल र भारतको बीचमा सम्बन्ध सुध्रिँदै गएको र आगामी दिनमा झन् राम्रो हुने विश्वास व्यक्त गरेकी थिइन् ।
नाकाबन्दीको विषयमा नेपालले लगाएको आरोपको उनले खण्डन गरेकी थिइन् । ‘नेपालमा आन्दोलन हुन्छ, त्यही कारणले नाकाबन्दी हुन्छ तर दोषचाहिँ भारतलाई आउँछ,’ स्वराजको भनाइ उद्धृत गर्दै अर्का एक सांसदले भने ।
विकास समितिका सदस्य र भारतका सांसदबीचको अन्तरक्रिया कार्यक्रममा स्वराज उपस्थित भएकी थिइन् । उनले सभासदसँग अन्तरक्रिया गर्नुका साथै समिति सभापति तथा नेपाली टोलीका संयोजक सांसद रवीन्द्र अधिकारीसँग छुट्टै वार्ता गरेकी थिइन् । स्वराजले आफूहरूलाई ‘बिग ब्रदर भन्दा पनि ‘इल्डर ब्रदर’ को रूपमा हेर्न आग्रह गरेको एक सांसदले बताए । Kantipur
0 comments:
Post a Comment