728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    किरा परेको मासु भेटिएपछि कस्तो छ त बफ मःमको व्यापार ?

    काठमाडौं, असार २६ – रेष्टुरेन्ट गयो, १० मिनेट मेन्यु हेर्यो, लास्टमा अर्डर हुन्छ, मःम । अझ बढी त बफ मःम । अर्को रेष्टुरेन्ट गयो पहिलो प्रश्न हुन्छ, बफ मःम पाइन्छ ? कसैले खाजा के खाने भनेर सोध्यो भने सहज उत्तर आउँछ ‘मःम’ । 

    मःम नपाइने रेष्टुरेन्ट सायदै होलान् काठमाडौंमा । शुद्ध साकाहारी रेष्टुरेन्टमा जाँदा समेत भेज मःम त अवश्य पाइन्छ । काठमाडौंका होटलको परिचय नै यस्तो बन्यो कि मःम को परिकार बिना त होटल नै चल्दैन । त्यसमा पनि बफ मःम धेरैको मुखमा झुण्डिने गर्छ ।

    प्रविन घिमिरे बफ मःम का पारखी । उहाँलाई मःम बिनाको अरु त खाजा जस्तो नै लाग्दैन । मःम, त्यसमा पनि बफ । बेला बेलामा मःम मा विभिन्न अखाद्य वस्तुहरु भेटियो भनेर समाचार आउने गर्छन् । तर त्यस्ता समाचारले उहाँलाई छोएन । उहाँ खाजामा प्रायःजसो मःम नै खानु हुन्छ  ।

    काठमाडौंमा मःम मात्र हैन अन्य खानाका परिकार पनि सफा, स्वच्छ नहुने उहाँको बुझाइ छ । ‘मःम मात्र हैन सफा केही पनि हुँदैन, मलाई मःम बिना अरु खाजा नै मन पर्दैन’ प्रविनले भन्नुभयो ‘समाचारमा जे आएपनि मनले मान्दैन अनि मःम खाइन्छ ।’

    शुक्रबार सरकारी अनुगमन टोलीले उपत्यकाका बधशालाले किरा परेको मासु बेच्ने गरेको पत्ता लगाएको थियो । राँगो भन्दै बुढी भैँसी र रोगी पाडापाडी समेत काट्ने गरेको रहस्य बाहिर आएको थियो । 
    मासु भण्डारण गर्ने ठाउँमा कुहिएको छाला राखेको, मासु काट्ने कामदारले सरसफाईमा ध्यान नदिएको, बधशालामा ढलको पानीले मासु पखालेको लगायत सुन्दै घिन लाग्ने तथ्य अनुगमन गर्दा फेला परेको थियो । यस्तो मासु खान त परै जाओस वरपर बस्नेहरुका लागि पनि रोगको जोखिम हुने डाक्टरहरुले बताएका थिए । 

    अझ मःम मा त झन बुढी भैँसीको छाला, कान, पुच्छर, बिग्रिन लागेको मासुलगायत पेलेर बनाउने गरेको आरोप लाग्दै आएको छ । तर यस्तो समाचार बाहिर आएपनि काठमाडौंमा त्यही मासुबाट बनेको मःम खानेको संख्या भने घटेको छैन । प्रविन जस्ता मःम का पारखी अझैपनि बफ मःम मानै रमाउँदै छन् । 

    भूकम्प अघि मःम बेच्न भ्याइ नभ्याइ काठमाडौं सुन्धाराको धरहरा क्याफेमा भूकम्पपछि भने केही कमी आएको थियो । तर मासुमा किरा परेको समाचार आएपनि केही प्रभाव नपरेको धरहरा क्याफेले जनाएको छ ।
     ‘बेला बेलामा त्यस्ता समाचार आउँछन्, तर हाम्रो व्यापारमा भने केही आएको छैन’ धरहरा क्याफेका क्यासियर प्रेम घिमिरेले भन्नुभयो । धरहरा क्याफेमा मःम खानेको प्रायः भीड नै हुने गर्छ । तर घिमिरेले भनेजस्तो केही असर नपरेको भने हैन । शनिबार भएर पनि कम भएको हुन सक्छ । अघिपछि मःम खानेको भीडले खचाखच भरिने क्याफमो शनिबार भने आधाजसो पनि मान्छे पनि थिएनन् । अहिले नै यो समाचारको प्रभाव नपर्ने र यस बारेमा थाहा हुन केही दिन लाग्ने क्याफेले जनाएको छ । 

    शनिबार काठमाडौंका अन्य मःम पसलमा पनि बफ मःम खानेको त्यतिकै भीड थियो । कतिपयलाई त मासु काट्ने बधशाला बारेको समाचार थाहा नभएको त कतिपयले थाहा पाएर पनि मःम खाने गरेको बताए । ३० वर्षदेखि जावलाखेलमा मःम होटल सञ्चालन गर्दै आएका ज्ञानीबाबु महर्जनलाई समाचारले अहिलेसम्म प्रभाव पारेको छैन ।

    उहाँले दैनिक ६० किलो मासुको किमा बनाएर मःम बेच्दै आउनु भएको छ । बधशालामा किरा परेको समाचार आएपनि पहिलेकै अनुपातमा वयापार भैरहेको उहाँले बताउनुभयो । आफ्नो होटलको मःम सफा र स्वादिष्ट रहेको दाबी गर्दै महर्जनले भन्नुभयो ‘मैले मःम पसले चलाएको ३० वर्ष भयो, अहिलेसम्म त्यसो नराम्रो केही भएको छैन, मेरो होटलको मःम खाएर कसैलाई पटे मात्र दुख्यो भने १० हजार तिर्छु ।’

    बेला बेलामा सरकारी अनुगमन हुने र केही दिनसम्म मान्छे घिन माने पनि त्यसपछि मःम खान नछोड्ने मःम होटलवालाहरुको बुझाइ छ । यद्यपि सामाजिक सञ्जालमा धेरै नागरिकले भैँसी काट्ने बधशाला बारेको समाचार पढेर बफ मःम नखाने प्रण पनि गरेका छन् ।
    ट्वीटरमा सुनिल पौडेलले लेख्नुभएको थियो ‘गर्मीमा यसै त बफ मःम खाइन्नथ्यो । झन् कच्चापदार्थमा किरैकिरा भेटियो रे । अब चाहिँ शुद्ध बाहुन बनिन्छ । स्वास्थ्यमा सुधार । हजुरबा पनि खुसी ।’ त्यस्तै फेसबुकमा धु्रव विक्रम ओलीले बफ मःम का बारेमा लेख्नु भएको थियो ‘बफ मःम र मेरो बिचमा सम्बन्धबिच्छेद को कागजी प्रकृया सम्पन्न ।ujyaalo 90network 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: किरा परेको मासु भेटिएपछि कस्तो छ त बफ मःमको व्यापार ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top