श्रावण ५, २०७३- नेपाली ध्वजावहाक विमान कम्पनी नेपाल वायु सेवा निगमले भदौ २ गतेदेखि युएईको दुबईमा उडान सुचारु गर्ने पक्कापक्की भएको छ ।
चार वर्षअघि विमान अभावका कारण उडान रोकेको निगमले सुरुमा साताका तीन दिन (आइतबार, मंगलबार र विहीबार ) उडान गर्ने भएको छ । ‘काठमाडौंबाट बेलुकी साढे ११ बजे जहाज उड्ने छ उताबाट भोलिपल्ट विहान १० बजे काठमाडौं विमान पुग्ने छ,’ निगमको संस्थागत विभागका निर्देशक रामहरि शर्माले भने ।
काठमाडौंबाट दुवईको हवाई यात्राको सयम ४ घन्टा २० मिनेटको रहेको छ । निगमले यो रुटमा हालै खरिद गरेका एयरबस ए–३२० विमान पठाउने निर्णय गरेको छ । ‘नयाँ प्रक्रियाबाट उडान सम्वन्धि सबै सम्झौता सकिएका छन, शुरुमा एयरबस उडाउछौं, विशेष अवस्थामा एउटा बोइङ्गले पनि सेवा दिने छ,’ निर्देशक शर्माले भने । निगमले २०६९ भदौ १४ देखि दुवई उडान जहाज अभावका कारण बन्द गरेको थियो । हाल निगम अन्तर्राष्ट्रिय गन्तव्य अन्तर्गत मलेसियाको क्लालमपुर, थाइल्याण्डको बैंकक, कतारको राजधानी दोहा, हङकङमा उडान भरिरहेको छ । त्यसैगरी डेढ वर्ष यता दुइटा नयाँ विमान थपिएपछि भारतको राजधानी नयाँदिल्ली, मुम्बई र बैङलोरमा पनि उडान सुचारु गरेको निगमले दुवई सुरु गरेपछि यो यस्को आठौं अन्तराष्ट्रिय गन्तव्य हुने छ ।
कुनै बेला निगम यही दुबई भएर जर्मनको फ्रयांकफर्ट, लण्डन लगायत युरोपका सुहर पुग्थ्यो । सरकारी तथ्यांक अनुसार, मध्यपूर्वी क्षेत्र युएईमा करिब ३ लाख नेपाली कामदार छन् । त्यहाका सातवटा इमिरेट्समध्ये दुबईमा सबैभन्दा धेरै नेपालीको बाहुल्यता छ । ‘दुबईमा हाई डिमान्ड देखीयो, टिकट पनि उल्लेख्य बिक्रि भइरहेको पाएका छौं,’ निर्देशक शर्माले कान्तिपुरसँग भने ।
हाल दुबईबाट काठमाडौं त्यहाको सरकार स्वामित्वको फलाई दुबई एयरलाइन्सले दैनिक उडान गरिरहेको छ । सिजनमा यो विमानले मात्रै नपुगेर धेरै जसो नेपाली कामदारहरु एयर अरबियाको उडानमा सारजाहा, कतार एयरवेजबाट दोहा, ओमन एयरबाट मस्कट, इत्तिहाद एयरबाट आबुदाबी हुदै दुबई/काठमाडौं आउजाउ गर्छन ।
कतिपय यात्रु काठमाडौंबाट भारतको राजधानी, दिल्ली, मुम्बईबाट कनेक्टिङ फलाइटमार्फत दुबई ओहोरदोहोर गर्न बाध्य हुन्छन । निगमले दुबईबाट टिकट बिक्रि गर्न त्यहाँको अन्टा ट्राभल्सलाई जेनरल सेल्स एजेन्ट (जिएसए) तोकिसकेको जनाएको छ । निगमले एकतर्फी भाडा २५ हजार रुपैयाँ हाराहारी रहने जनाएको छ । सबै तयारी पूरा भएको जनाउदै निगमले बुधबार विज्ञप्तीमार्फत उडानको मिति नै घोषणा गरेको छ । निगमसँग अन्तराष्ट्रिय गन्तव्यका लागि हाल तीनवटा विमान छन् । दुबईपछि निगम चीनको ग्वानझाउन उडान सुरु गर्ने तयारी गरीरहेको छ ।

0 comments:
Post a Comment