काठमाडौं, ४ साउन । नेपालले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाएपछि भारतले आपत्ति जनाएको छ ।
पूर्वाञ्चलको नेपाल–भारत सीमावर्ती क्षेत्रको १८ किलोमिटर दुरीमा लगाइएको विद्युतीय तारबारका कारण जंगली हात्ती नेपाल पस्न नपाएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले आपत्ति जनाएको हो ।
झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । भारतलाई टक्कर दिइरहेका प्रधानमन्त्री ओलीकै पालामा झापा बाहुनडांगी अन्तर्गतको सीमावर्ती क्षेत्रमा तारबार गरिएको हो ।
पश्चिम बंगाल राज्य सरकारले आफ्नो केन्द्र (मोदी) सरकारलाई नेपालको सीमावर्ती क्षेत्रमा हात्तीको मार्ग खुलाउन नेपालसंग पहल गरिदिन आग्रह समेत गरेको पश्चिम बंगाल सरकारका वनमन्त्री विनयकृष्ण बर्मनले जानकारी दिए ।
त्यस्तो आग्रहसहित औपचारिक पत्र समेत दिल्लीलाई लेखिएको बर्मनले जनाए । पश्चिम बंगालको सीमावर्ती जंगलबाट जंगली हात्तीका हुल करिब पाँच महिना अघिदेखि झापा बाहुनडांगी हुँदै नेपाल प्रवेश गर्न पाएका छैनन् ।
बर्मनले भने, ‘जंगली हात्ती नेपाल पस्न नपाएपछि उत्तर बंगाल क्षेत्रमा हात्तीका हुलले विध्वंश मच्चाइरहेको छ । मान्छे मारेको छ । अन्नबालीमा क्षति पुर्याएको छ । नेपाल एउटा स्वतन्त्र मुलुक भएकाले हामी सिधै कुरा गर्न सक्दैनौ । त्यसैले हामीले केन्द्र सरकारसंग नेपालसंग कुरा गरिदिन अनुरोध गरेका हौं ।’
तारबारका कारण नेपाल पस्न नपाएपछि पश्चिम बंगालको सीमा क्षेत्रमा हात्तीले अत्यधिक दुःख दिन थालेको उत्तर बंगाल क्षेत्रमा हात्तीको संरक्षणमा काम गर्ने राज बासु बताए । उनले भने– ‘नेपालपट्टी तारबार लगाएपछि हात्ती त्यता जान पाएनन् । भारतपट्टि हात्तीले धेरै नोक्सान पुर्याइरहेको छ ।’
नेपालले सीमावर्ती आफ्नो क्षेत्रमा विद्युतीय तारबार लगाएपछि नेपालतर्फ केही महिनायता जंगली हात्तीको आतंक रोकिएको छ ।


0 comments:
Post a Comment