कतारबाट एकसरो कपडा र चप्पल लगाएर नेपाल फर्कें । एक पैसाका लागि कसैले दया देखाएनन् । घरमा केही ल्याउन पाइन । बिहानै घर पुगें । गाडी भाडा पनि थिएन । बुबाले काठमाडौंमा ऋण भनिदिएर त्यसैले घर पुगें ।
काठमाडौंमा पनि केही किन्न पाइन । यत्रो वर्ष विदेश बसेको मान्छे चोरजस्तो भएर घर पुगें । खाली हात छोराछोरी भेटदा मलाई कस्तो भयो होला ? मान्छेले तीन चार वर्ष विदेश बसेर आएको मात्रै देख्छ । उसले सोच्दैन कत्ति दुःख भोगेर आएको छ ।
विदेश पठाउँदा काम राम्रो छ भन्यो म्यानपावरका मान्छेले । म काठमाडौंको गल्फ लिंक ओभरसिजबाट गएको हुँ । तर त्यहाँ पुग्दा काम बेग्लै । फलामको फ्याक्ट्री थियो । फलामको फ्याक्ट्री भए म जान्न भनेर नेपालमै भनेको थिएँ । तर म्यानपावरका मान्छेले तिमीसँग मेरो सालो पनि जाँदैछ भनेर ढुक्क बनायो । उसकै सालो जाँदैछ भने त काम राम्रै होला भन्ने लाग्यो । त्यहाँ पुगेपछि त फलामकै फ्याक्ट्री रहेछ । काम गर्न एकदमै परिश्रम गर्नुपर्ने ।
पछि उसको सालो भन्ने चाहिँ नेपाल फर्कियो । म घरजग्गा बैंकमा धितो राखेर एकलाख रुपैयाँ लिएर कतार गएको थिएँ । त्यसैले मैले फर्कने कुरा भएन । ऋण काढेर आएको छु, दुःख भोगेर दुई पैसा कमाउँ भन्ने लाग्यो । ऋण तिर्ने पैसा कमाउँ भनेर आफ्नो भाग्य र छोराछोरीको मुख हेरेर काम गरें । फर्के पनि नेपालमा दलाललाई कहाँ खोज्ने भन्ने भयो ।
अर्काको देशमा बोल्न जानिन्न, नजानेपछि हिसावकिताव भगवान भरोसा
अहिले मेरो मुद्धा चल्दैछ । बुबाको नाममा मुद्धा सारेर विदेश जाँदैछु । विदेश गएन भने मेरा छोराछोरीको हालत के होला ? आफ्नो देशमा काम पाइन्न । विदेशमा गएपछि मान्छेहरुले लोभ देखाई देखाई काम त गराउँछन्, तर पैसा दिँदैनन् । अर्काको देशमा बोल्न जानिन्न । नजानेपछि भगवान भरोसावाला हिसावकिताव हुन्छ । उजुरी गर्ने ठाँउमा पनि न्याय पाइएन भने के गर्ने र हामीले ।
दलालले गाडीको शो रुम छ, त्यहाँ सरसफाई गर्ने काम हो भनेर विदेश पठाएको थियो । कतार जानुअघि कम्पनीको नाम हेरेर मैले यो त फलामको कम्पनी हो भन्दा नाम त मालिकले अनेक किसिमको राख्छ भन्यो ।
तलब पनि १२ सय रियाल हुन्छ भनिएको थियो । तर कम्पनीले नौ सय रियाल मात्रै दियो । त्यै पैसामा सुरुमा सबैले काम गरे । मैले मात्रै किन नगर्ने भन्ने लाग्यो र काम गरें । म आल्मुनियम पगाल्ने काममा परेको थिएँ ।
परिचयपत्र पनि बनाइ दिएन । कम्पनीमा काम गर्ने धेरैको अवस्था उस्तै थियो । परिचयपत्र नदिएपछि खानाको पैसा पनि दिन बन्द गर्यो । तीनचार महिना तलब दिएको थिएन । खाना खान पुग्ने पैसा मात्रै दिएको थियो । त्यो पैसा पनि रोकिदियो । खानाको पैसा नदिएपछि क्यान्टिनवालाले पनि खाना दिन छाड्यो ।
११ महिनाको तलब खोई ?
तीन चार महिनामा तलब दिने । ११ महिनाको तलब त्यसै बाँकी छ । हामी त्यत्रो वर्ष बस्यौं । ऋण कहाँबाट कहाँ पुग्यो । छोराछोरीलाई खुवाउने र ऋण तिर्ने पैसा त कमाउनै पर्यो । खुन पसिना गरेर ऋण तिरें । साढे तीन साल विदेश बस्दा केही उपलब्धी भएन । हामीलाई एकपैसा नदिएर घर पठाइदियो ।
साढे तीन सालको कमाई खोई ? म्यानपावरले दुई सालको सम्झौतामा विदेश पठाउको हुन्छ । मलाई त्यो दुई सालको पैसा मलाई चाहियो । दुई वर्षकै मात्र कुरा गर्दा पनि मैले १९ महिनाको मात्रै तलब पाएको छु । मसँग सबै प्रमाण छन यहाँबाट गएदेखि आएसम्म । १२ सय भनिएकोमा ९ सय रियाल मात्रै पाएको छु । मैले त्यति मात्रै पाउन खोजेको हुँ । यति पाएँ भने मेरा बालबच्चका लागि केही राहत हुन्छ ।
विदेश पठाउनेहरुले फटाहा कुरा गर्न भएन
विदेश जाँदा सुरुमै राम्रोसँग सोधपुछ गर्नुस् । दुई रुपैयाँको लेनदेन पनि नेपालमै छिनोफानो गरेर जानु राम्रो हुन्छ । बढि लोभ गर्नु हुँदैन । नेपालमा जति तलब भनिएको हो, त्यो तलब विदेशमा पाइयो भने खुशी लाग्छ । तर काममा अलपत्र पर्दा धेरै दुःख हुन्छ । विदेश पठाउनेहरुसँग विन्ति छ, मान्छेलाई अलपत्र नपार्नुस् ।
सिधा कुरा गरिदिनुस् । राम्रो लाग्यो भने मान्छे जान्छ, लागेन भने जाँदैन । फटाहा कुरा चाहिँ गर्नु भएन ।
रीतु थेबेले गरेको कुराकानीमा आधारित ।
0 comments:
Post a Comment