प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकप्रियताको शिखरमा हुनुहुन्छ हैन ?
– हो, उहाँ हास्य व्यंग्यको क्षेत्रमा लोकप्रियताको शिखरमा हुनुहुन्छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यपछिको राम्रो कलाकारकारको रुपमा उहाँ स्थापित हुनुभएको छ । उहाँले हावामा अण्डा राख्नु हुन्छ, हावामा चल्ला कोरलिन्छ, हावामै मासु पकाउनु हुन्छ । खानेबेलामा केही पनि हुँदैन । उहाँले नेपालमा रेल पनि चलाई सक्नु भयो । पानीजहाज पनि चलाई सक्नु भयो । उहाँले विकास गर्न समय पनि धेरै लिनु हुन्न । तुरुन्तै विकास गर्नुहुन्छ, तर बोलिमा मात्रै । व्यवहारमा होइन । उहाँल आशाका पोका बाँड्नु हुन्छ । एकवर्षमै उहाँले नेपाललाई झलमल पारिसक्नु भयो । किसानलाई पेन्सन पनि दिइसक्नु भयो ।
चीनको सिगात्सेसम्म चिनियाँ रेल आएको छ । त्यहाँबाट केरुङसम्म आइपुग्न कम्तिमा पाँच वर्ष लाग्छ । प्रधानमन्त्री केपी ओलीले २ वर्षमै ल्याइदिने बताइसक्नु भयो । उहाँको यस्तो उडन्ते कुरा सुनेर अब त कुटनीतिक समुदायले पनि नेपालको प्रधानमन्त्री हावा भन्न थालिसके । राष्ट्रको प्रधानमन्त्रीप्रति सबैले गर्व गर्नु सक्नु पर्छ । तर उहाँले त हास्य व्यंग्य मात्रै गरिदिँदा हामी सबैलाई लाजमर्नु भइसक्यो । नेपाली जनताले सबैभन्दा बढी नेपाली कांग्रेसलाई मन पराएका हुन् । यस्तो दल प्रतिपक्षमा छ । तर नेपाली कांग्रेससँग कतै पनि केही पनि छलफल नै नगरी प्रधानमन्त्री ओली अगाडि बढ्नु भएको छ ।
संविधान कार्यान्वयन गर्न प्रधानमन्त्रीले स्पष्ट खाका मन्त्रिपरिषद्बाट पारित गराउनु भएको छ, यसमा पनि तपाईहरु विरोध गर्नुहुन्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीलका दुई उपप्रधानमन्त्री अचम्मका हुनुहुन्छ । एक उपप्रधानमन्त्री चित्रबहादुर केसी नेपालमा संघीयता नै खारेज गर्नुपर्छ भनेर आन्दोलन चलाउनु हुन्छ । अर्का उपप्रधानमन्त्री कमल थापा धर्मनिरपेक्षता खारेज गर्नुपर्छ भनेर आन्दोलन चलाउनु हुन्छ । संघीयता र धर्मनिरपेक्षता, गणतन्त्रवादी संविधान कार्यान्वयन गर्ने तहमा बसेका उपप्रधानमन्त्रीहरुको ताल यस्तो छ । अनि प्रधानमन्त्री फोस्रो धाक लगाउनु हुन्छ कि संविधान कार्यान्वयन गर्छु भनेर । यो भन्दा हावादारी कुरा तपाईले पनि कतै सुन्नु भयो भने मलाई पनि भन्नु होला ।
चुनावको विषय त गम्भीर छ, यसमा प्रतिपक्ष र सत्तापक्ष मिलेर अगाडि जाँदा हुँदैन ?
संविधानमै स्थानीय निकायको निर्वाचन फागुनमा गर्ने भन्ने छ । सिमांकनको अन्तिम टुंगो लागेपछि स्थानीय निकायको निर्वाचन हुने हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै स्थानीय निकायको निर्वाचन गर्छु भनेर एकोहोरो निर्णय गर्दै हिँड्नु हुन्छ । यसरी चुनाव सम्भव छ ? सरकारको काम निर्वाचनको वातावरण बनाउने हो । चुनाव गराउने काम निर्वाचन आयोगको हो । तर उहाँ त आफै मिति तोकेर हिडनु भएको छ । हामीलाई थाहा छैन कि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको जिम्मेवारी पनि बोक्नु भएको छ ।
कांग्रेसले संसदीय सुनवाई विशेष समितिको नियमावलीका विषयमा चाहिँ किन अड्को थाप्यो ?
यसमा नेपाली कांग्रेसलाई होइन दोष प्रधानमन्त्री ओलीलाई नै दिनु पर्छ । संविधानले भनेबमोजिम सुनवाई समिति १५ सदस्यीय बनाउनु पर्छ भन्ने उहाँहरुको धारणा हो । हाम्रो धारणा पुरानै व्यवस्थाअनुसार ७५ सदस्यीय हुनुपर्छ भन्ने हो । यदि नयाँ संविधानअनुसार संसदीय समिति बनाउन संसद सदस्य पनि २७५ सदस्यीय हुनुपर्छ । अन्य समितिहरु सबै ६०१ सदस्यका आधारमा बनेका छन् । सुनवाई समिति भने १५ सदस्यीय बनाउने र आफ्ना सबै कानुनी, गैरकानूनी नियुक्तिहरुलाई पारित गराउने नियतले यस्तो आयो । त्यही भएर हामीले राकेका हौं ।
तर, सुनवाई समितिको नियमावली त पारित भयो हैन ?
हो, आइतबार पारित भयो । समितिमा १५ सदस्य राख्नेमा सहमति भयो । १५ मध्ये ६ सदस्य नेपाली कांग्रेसका तर्फबाट राख्न एमाले सहमत भयो ।
यसको मतलव तपाईहरुको नीति र शिद्धान्तका लागि होइन आफ्नो भाग खोज्न मात्रै नियमावलीलाई अड्काउनु भएको रहेछ हैन ?
–त्यस्तो होइन । तर सपना प्रधान मल्ल जस्ता राजनीतिक दलबाट सांसद नियुक्त भएकी, निर्वाचनमा भाग लिएकी, दलीय प्रभावमा चुर्लुम्म डुबेकी व्यक्तिलाई सर्वोच्चको न्यायाधीश बनाउन गरिएका जस्ता खतरनाक नियुक्तिहरुलाई रोक्न सकिन्छ कि भनेर हामीले समितिमा नेपाली कांग्रेसको बलियो उपस्थिति चाहेका हौं । नेकपा एमालेले यस्तै काम धेरै गरेको छ । उसको काम भनेकै सबैतिर एमालेकरण गर्नुमात्रै जस्तो देखिएको छ ।
प्रधानमन्त्री भएकै धेरै भएको छैन, अहिले नै प्रधानमन्त्रीले केही गरेनन् भनेर आलोचना गर्नु ठीक हो र ?
– त्यस्तो पनि होइन । प्रधानमन्त्रीले केही गर्नुभएको छैन भन्न मिल्दैन । उहाँले विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनु भएको छ । अहिलेसम्मको उहाँको कार्यकालको एक र अन्तिम काम सम्भवत यहि होला । प्रधानमन्त्रीले गरेको एउटा मात्रै काम मलाई कसैले देखाइदिए हुने थियो । ओलीले बोल्नु मात्रै भएको छ अहिलेसम्म । उहाँले केही पनि काम गर्नुभएको छैन ।
चीनसँको सम्झौता, भारतको विशाखापटन बन्दरगाह प्रयोग आदि के गफ मात्रै हुन् त ?
– चीनसँगको सम्झौताले के दियो ? तेल ल्याउने व्यवस्था गर्यो ? गरेन । तातोपानी नाका खोल्न पनि सक्नु भएन । चीनसँगको व्यापार त पहिले जति थियो, अहिले त्यति पनि छैन । जति गफ दिइएको छ, त्यो अनुसार एउटा पनि काम भएको छैन । मैले अघि पनि भने, उहाँले गरेको एकमात्रै काम भनेको विद्या भण्डारीलाई राष्ट्रपति बनाउनु भयो त्यति हो । मंहंगी, भूकम्पपीडितलाई राहत, पुनर्निर्माण आदिमा उहाँले केही गर्न सक्नु भएको छैन ।
कांग्रेसले पनि के गरेको थियो र भूकम्पपीडितको सवालमा ?
–कम्तीमा असारभित्रमा सबैलाई पालबाट हटाएर आवासमा लैजाने जस्तो हावादारी गफ त दिएको थिएन । प्रधानमन्त्री ओली आफैले असार महिनामा पालबाट हटाएर आवासमा लैजाने भन्नु भएको छ । त्यो कहिले पुरा हुने हो थाहा छैन । एक वर्ष पाल, अर्को वर्ष थाल दिने प्रधानमन्त्रीको चाल हो । कनिष्ठ र योग्यता नपुगेका व्यक्तिलाइ सिइयो बनाएर पनि प्रधानमन्त्रीले गलत काम गरेका छन् ।
कांग्रेसले गरेको नियुक्ति चाहिँ कस्तो थियो ? फर्केर हेर्नुहोस् त ।
–त्यो बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नियमावली बनेको थिएन । हामीले काम नरोक्न सिइयो नियुक्त गर्यौं । तर अहिले स्नातक तह उत्तीर्ण गरेको, १५ वर्ष अनुभव प्राप्त गरेको व्यक्ति भनिएको छ । तर अहिलेका सिइयोसँग कार्यअनुभव १२ वर्षमात्रै छ । यसकारण हामीले कनिष्ठ भनेका हौं । हामीले भूकम्पका विषयमा राजनीति गरेका छैनौं । भूकम्पले कुनै जात, धर्म, दल, समुदाय, भाषा भनेन । अहिले हामी पुनर्निर्माणको बेला दल, भाषा, समुदायका भनेर भूकम्पपीडितको मामिलामा राजनीति गर्न चाहँदैनौं ।
अब सरकारको कुरा गरौं, यो सरकार कहिलेसम्म टिक्ला ?
– गणतन्त्रवादी, संघीयतावादी संविधान कार्यान्वयन गर्ने ठाउँमा गणतन्त्रविरोधी, संघीयताविरोधी छन् । कमल थापा र चित्रबहादुर केसीलाई नै हो मैले भन्न खोजेको । उहाँहरुको रवैयाले नै सरकार ढल्छ । ओलीले भेला पारेका आफ्ना क्याविनेटका सदस्यले नै यो सरकार खान्छन् । जसरी माकुराले आफ्नो सन्तान खान्छ, त्यसैगरी ओलीले जसलाई नियुक्त गरेका थिए, तिनैले ओली सरकार ढाल्छन् । हामीले केही गर्नै पर्दैन । र हामी सरकार ढाल्दैनौं पनि ।
ढाल्न त किन नढाल्नु र, ढाल्न खोज्दा नसकेपछि यसो भन्नु भएको होइन ?
–होइन, हामीले कहिले पनि अविश्वासको प्रस्ताव बोकेर हिडेका छैनौं । प्रचण्डले प्रधानमन्त्री बन्न मन छ स्वीकार गरिदिनुस भन्दै आउनु भयो । नेपाली कंग्रेसले हुन्छ भनिदियो । पछि प्रचण्ड पछि फर्कनु भयो । यसमा जे गर्नुभयो प्रचण्डले गर्नुभयो । हामीले केही गरेको छैन । अमृतबजारसाप्ताहिकबाट
0 comments:
Post a Comment