- ९० लाख रुपैयाँ तिर्न अदालतको आदेश
- परिवार भन्छ, ‘स्वदेश फर्काउन पहल गरिदिनुस्’
काठमाडौं : साउदी अरबको अदालतले फैसला गरेको तीन लाख साउदी रियाल (करिब ९० लाख रुपैयाँ) ‘ब्लड मनी’ तिर्न नसक्दा कुशादेवी २ का युवक १५ महिनादेखि त्यहाँको केन्द्रीय कारागारमा छन्। हयालस्थित कारागारमा राखिएका रामचन्द्र तिमल्सिनाको परिवारले स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको छ।
स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले त्यसको १५ गुणा रकम विदेशमा जरिवाना तिर्नु पर्ने अवस्था आएमा के होला ? हो, त्यस्तै भएको छ । कुशादेबी–२, घिमिरेगाउँका रामचन्द्र तिमिल्सनालाई । परदेशमा राम्रो कमाएर घरबार चलाउने, ऋण तिर्ने र छोराछोरीलाई राम्ररी पढाउने सल्लाहले दुई वर्ष अघि साउदी अरेबिया पुगेका उनी यतिखेर त्यहाँको जेलमा थुनिएका छन् ।
रामचन्द्र त्यहाँको हायल सेन्ट्रल जेलमा १५ महिनादेखि थुनिएका हुन् । उनलाई ट्रक चलाउँदा दुर्घटना गराएर मानिस मारेको अभियोगमा ३ लाख साउदी रियाल(करीब ९० लाख नेरु) ब्लड मनी माग गरिएको छ ।
‘जबिराह हायल सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड सकेर कम्पनीकै पार्किङमा राखेको मेरो ट्रकमा पाकिस्तानीहरु चढेर आएको कार ठोक्किएको थियो । त्यसमा एक जनाको मृत्यु भयो । पार्किङ एरियामा उनीहरुको जमात धेरै थियो । मेरो ट्रकमा रक्सीको बोतल राखिदिएछन् । रक्सी खाएर ट्रक चलाएको भन्दै पक्राउ गराए’, रामचन्द्रले फोनमा भने ।
‘मेरा तामाका मुना जस्ता दुई छोराहरु र जन्म दिने आमा बुबाको किरिया खाएर भन्छु, मैले नेपालमा रहँदा पनि खाने गरेको थिइनँ र साउदी आएपछि खाने त कुरै छाडौं, रक्सी छोएको पनि छैन’, उनले थपे ।
नेपालमा रहँदा उनले काभ्रे मिनिबस सेवा समिति अन्तर्गत पनौती–काठमाडौं चल्ने मिनिबस किनेका थिए । आफैं चलाउँथे । घरखर्च चले पनि दैनिक कमाइले ऋणका किस्ता तिर्न हम्मे हुन्थ्यो । त्यही भएपछि दुबैको सल्लाहमा उनी पहिलो पटक कतार गए । कतारमा १३ महिनाको बसाईपछि घर फर्केका उनी पुनः साउदी अरब लागेका थिए ।
त्रिपुरेश्वर, काठमाडौंस्थित वल्र्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैंया बुझाएर दुई वर्ष अघि रामचन्द्र साउदी अरब पुगेका हुन् । भिसा आउँदा हेभी ड्राइभर काम भनिए पनि भनेकै कम्पनीमा काम गर्न नपाएको उनको भनाई छ, ‘कम्पनी नै दर्ता नभएको र ठेकेदारको १६ चक्के ट्रक चलाउने काम दियो’, उनले भने ।
नेपालबाट जाँदा बसिर मोहम्मद अल अनेजी ट्रान्सपोर्ट कम्पनी अलगसिम, साउदीको वर्किङ भिसामा काम गर्ने भनिए पनि उता पुगेपछि कम्पनीको नभई व्यक्तिको ट्रक चलाउने उनलाई काम दिइएको थियो ।
ट्रक पुरानो भएकोले ठेकेदारले बीमा पनि नगरेको रामचन्द्रले प्रहरी नियन्त्रणमा परेपछिमात्रै थाहा पाएका थिए । ‘मलाई काम लगाउने साहु पनि यो घटनाको २१ दिन पछि मात्रै सुरुमा मलाई थुनेको पुलिस स्टेसन आएर मेरो पासपोर्टमा ‘खूज’ छाप लगाइदियो । बीमा नभएकाले साहुले प्रहरीमा यस्तो छाप लगाएपछि मेरो केस सरकारले हेर्ने हुँदो रहेछ । वर्षदिन हुन लाग्यो, त्यसपछि साहु सम्पर्कमा आएकै छैन’, उनले थपे ।
यसैवीच, २०१६ अप्रिल २५ तारिखमा त्यहाँको अदालतले रामचन्द्रको विपक्षमा फैसला सुनाएको छ । फैसलामा उनकै शतप्रतिशत गल्ती भएको दाबीसहित एक जना पाकिस्तानी नागरिकको मृत्यु भएको ठहर गरिएको छ ।
‘पाकिस्तानीको परिवारलाई ब्लड मनी वापत ३ लाख साउदी रियाल (नेरु करीब ९० लाख) तिर्नु पर्ने फैसला ‘हुकुम’ले सुनाएको छ । नेपालमा भएको ६ लाख ऋण तिर्न नसकेर विदेश आएको अब मैले यत्ति धेरै रकम कहाँ र कसरी ल्याएर तिर्नु?,’ रामचन्द्रले फोनमा भने ।
परदेशमा दुःख पाएका आफ्ना देशका नागरिकहरुलाई दूतावास, प्रवासी संगठन र गैरआवाशीय संघहरुले मद्दत गरेका समाचारहरु पढेको र सुनेको उनले आफू विपतमा पर्दासमेत कसैले सहयोग नगरेको बताउँछन् ।
‘नेपाली एम्बेसीमा धेरै पटक फोन गरेको छु । खोई आजसम्म कोही भेट्न र खबर लिन आएको छैन’, रामचन्द्रले भने । परिवारका सदस्य र कुशादेबीका पूर्व गाविस अध्यक्ष भीम न्यौपानेबाहेक नेपाल र नेपालीबाट खोजखबर नभएपनि उनले हिम्मत भने हारेका छैनन् ।
‘दुर्घटनामा मर्नेको काका पनि यहीँ साउदीमै काम गर्छ । उसलाई धेरै बिन्ती गरेँ । मैले जानाजान मारेको हैन भनेर । मृतकको परिवारलाई फोन गरेर म पनि नेपालमा गरीब परिवारको भएकोले साउदीमा काम गर्न आएको हुँ भनेर माफी दिनका लागि अनुरोध गरिरहेको थिएँ । तर, फैसलामा एक्कासी त्यत्रो धेरै ब्लड मनी तिर्नु पर्ने सुनाउँदा छाँगोबाट खसेझै भएको छुु’, रामचन्द्रले भने ।
उताबाट फैसलाको प्रति घरमा आएदेखि रामचन्द्रका परिवार राम्रोसँग खान र सुत्नसमेत सकेका छैनन् । अनाहकमा माइलो छोरा विदेशको जेलमा परेको सुनेदेखि बुहारी सरितासँगै सासु जोगमाई र ससुरा शेषनारायणको अनुहारमा दुःख र पीडा देखिन्थ्यो । घरमा भेट्न र सान्त्वना दिन आउने गाउँलेहरुवीच पीडा लुकाउने उनीहरुको प्रयत्न छिप्दैन थियो ।
अंशमा पाएको कच्ची घर भुकम्पमा भत्किएपछि सरिताले जस्तापाताले बारेर अस्थायी टहरा बनाएकी छिन् । टहरा बनाउँदा ५० हजार ऋण लागेको छ । सबै दाजुभाई अलग्गै काम गर्दै आएको भएपनि मालपोतमा अंशबण्डा नभएकाले भुकम्प पीडितले पाउने अस्थायी टहरा निर्माण र न्यानो कपडा बापतको राहत रकम समेत उनले पाइनन् ।
ससुराबाट पाएको जमीनको उब्जाउले तीन महिना पनि खान नपुग्ने भएपछि उनलाई ज्यालाबनी नगरि सुखै छैन । छिमेकी गाविसको रोशी माइती भएकी सरिताको १० वर्ष अघि रामचन्द्रसँग बिहे भएको हो । यतिखेर उनीहरुका ५ वर्षका आयुष र ७ वर्षका निराजन दुई छोरा रहेका छन् ।
‘मिनिबस किन्दाको अझैं ६ लाख जति ऋण सहकारीमा तिर्न बाँकी छ । त्यही कमाउँला भनेर साउदी जानु भएको हो । अब उहाँलाई जेलबाट छुटाउनका लागि सोच्दै नसोचेको रकम जुटाउनु पर्ने भयो । म एक्लीले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु?’, सरिताले भक्कानिँदै भनिन् ।
अहिले पत्नी सरिता लालाबाला बोकेर मन्त्रालय, विभाग र कन्सुलर कार्यालय धाइरहेकी छन्। धेरै पटक जिल्ला प्रशासनको पनि ढोका ढकढक्याइन्। सरकारी निकायले केही गर्न नसक्ने जवाफ दिएको उनले बताइन्। ‘आफैंले सकेको गर्नुस्, सरकारी तबरबाट केही हुँदैन, विदेशमा अलपत्र पर्ने धेरै छन्, सबैलाई सहयोग गरेर साध्य लाग्दैन भन्ने पो जवाफ पाइयो,’ उनले भनिन्।
रामचन्द्रकी पत्नी सरिता तिमिल्सनाको सम्पर्क नम्बरः +९७७-९८४३-८७८९८८
रामचन्द्रका बुबा शेष नारायणको सम्पर्क नम्बरः +९७७-९८४३-७२९१९४
सहयोग गर्न सक्नेले गरौ नसक्नेले यो समाचार सेयर गर्दै जानुहोला तपाईको एक सेयरले उहाहरुलाई सहयोग मिल्न सक्छ धन्यबाद!! Everest online
0 comments:
Post a Comment