728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    विदेशी च्यानलमा अब विज्ञापनरहित सामग्री


    काठमाडौं, ८ साउन
    नेपालमा प्रसारण हुने विदेशी च्यानलले अब विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्नुपर्ने भएको छ । विदेशी च्यानलमा क्लिन फिड लागू गर्ने प्रस्तावसहितको आमसञ्चार नीतिलाई शुक्रबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । सञ्चारमन्त्री शेरधन राईले स्वदेशी टेलिभिजन तथा विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा नेपालबाट विदेशिएको मुद्रा रोक्न उक्त निर्णय गरिएको बताए ।

    एक दशकदेखिको माग पूरा
    नेपाली विज्ञापन एजेन्सी कम्पनीहरूले विगत एक दशकदेखि नेपालमा क्लिन फिड नीति लागू हुनुपर्ने माग गर्दै आएका थिए । यस निर्णयले नेपाली विज्ञापन एजेन्सी तथा सञ्चार उद्योगले लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन गरेको नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

    स्वदेशी सञ्चार उद्योगको व्यवसाय बढ्छ
    क्लिन फिड नीति लागू भएपछि नेपाली सञ्चार उद्योगको व्यवसाय ह्वात्तै बढ्ने श्रेष्ठले बताए । ‘अब बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादनलाई नेपालमा प्रचार–प्रसार गर्न यहाँकै सञ्चारमाध्यम प्रयोग गर्नुपर्ने भएको छ,’ उनले भने, ‘यो नीति कार्यान्वयन भएसँगै नेपाली विज्ञापन बजारमा करोडौँ रुपैयाँको व्यवसाय बढ्ने पक्का छ ।’  नेपाली विज्ञापन एजेन्सी र सञ्चार उद्योगको सुदृढीकरणमा क्लिन फिड नीति फलदायी हुने व्यवसायीहरूको भनाइ छ ।

    विदेशी संंस्कृतिको प्रभाव रोकिन्छ
    विदेशी च्यानलबाट प्रसारित विज्ञापनका सामग्रीले नेपालमा पार्ने नकारात्मक प्रभाव कम गर्नसमेत यो नीति महत्वपूर्ण रहेको श्रेष्ठले बताए । ‘अहिले विदेशी च्यानलबाट जुन संस्कृति बोकेको विज्ञापन प्रसारण भयो, हाम्रो घर–घरसम्म हुबहु पुग्ने गरेको छ,’ उनले भने, ‘आगामी दिनमा बहुराष्ट्रिय कम्पनीले नेपाली संस्कृतिमा आधारित भएर विज्ञापन सामग्री बनाउनुपर्नेछ ।’

    २०७४ साउनबाट पूर्ण कार्यान्वयन
    सरकारले विज्ञापनरहित सामग्री बजाउनुपर्ने नीतिगत निर्णय गरेको भए पनि पूर्ण कार्यान्वयन भने अर्को आर्थिक वर्षबाट गर्ने तयारी छ । चालू आर्थिक वर्ष ०७३-७४ भर सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गर्ने र आगामी आर्थिक वर्षदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ ।

    नेपाली सञ्चार उद्योगलाई फलदायी
     सन्तोष श्रेष्ठ 
    अध्यक्ष, नेपाल विज्ञापन संघ
    नेपाल विज्ञापन संघले विगत लामो समयदेखि उठाउँदै आएको माग आज पूरा भएको छ । यसबाट नेपाली विज्ञापन एजेन्सी र सञ्चार उद्यमीलाई खुसी बनाएको छ । अब बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा आफ्ना उत्पादनको प्रचार–प्रसार गर्न स्वदेशी सञ्चारमाध्यम नै प्रयोग गर्नुपर्ने भएको छ । यसबाट नेपाली विज्ञापन बजारमा एकसाथ ठूलो रकम थप हुने पक्का छ । अर्कोतर्फ विदेशी च्यानलबाट आउने हुबहु विज्ञापनले पार्ने प्रभावको न्यूनीकरणका लागि पनि यो निर्णय महत्वपूर्ण छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विदेशी च्यानलमा अब विज्ञापनरहित सामग्री Rating: 5 Reviewed By: Unknown
    Scroll to Top