728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    म्याग्दीमा सुरु भयो चौंरीको आलो रगत पिउन 'मेला'

    म्याग्दी, साउन ८ । म्याग्दीको शिख गाविसमा पर्ने पर्यटकीय खोप्रालेकमा चौँरीमेला सुरु भएको छ । नाङ्गी पाउद्वार संयुक्त चौँरीपालन समितिले खोप्रामा चौँरीको आलो रगत पिउने मेला सञ्चालन गरेको हो ।

    साउन ७ गतदेखि सुरु भएको उक्त मेला ११ गतेसम्म सञ्चालन हुनेछ । विभिन्न रोगको उपचारको लागि भन्दै रगत पिउन बिहानैदेखि चौँरी मेलामा सर्वसाधारणको सहभागिता र आकर्षण बढ्दै गएको छ ।

    चौँरीको आलो रगत पियमा विभिन्न रोग निको हुने भएकाले म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लाबाट करिब २०० सर्वसाधारण खोप्रालेक पुगेको नाङ्गी पाउद्वार संयुक्त चौँरीपालन समितिका सचिव भीम पुनले बताए ।

    हिमाली क्षेत्रका जडीबुटीयुक्त लेकमा चरेका चौँरीको रगत पिउँदा शारीरिक स्फूर्ति एवम् रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले रगत पिउनको लागि सर्वसाधारणको भीड लाग्ने गरेको सचिव पुनको भनाइ छ । उनका अनुसार एक गिलास चौँरीको रगतलाई रु १०० तिर्नुपर्छ ।

    खोप्रालेकमा हरेक वर्षको साउन महिनामा मेला आयोजना हुँदै आएको छ । उक्त मेला हिउँदको सिजनमा पाउद्वार नजिकैको लरेनी खर्कमा आयोजना हुने गर्छ । हाल खोप्रालेकमा करिब २०० चौँरी रहेका छन् । दुई सिजनमा करिब एक हजारले मेलामा रगत पिउने गरेका छन् ।

    चौँरीको आलो रगत पिउन तथा अवलोकनका लागि आउने सर्वसाधारणको सङ्ख्या बर्सेनि बढ्दै गएको समितिले जनाएको छ ।

    राम्चेको नाङ्गीमा रहेको हिमाञ्चल उच्च मावि र शिखको पाउद्वार मावि सञ्चालनका लागि आयस्रोत जुटाउन खोप्रालेक क्षेत्रमा सामाजिक कार्यकर्ता महावीर पुनको प्रयासमा विसं २०५३ देखि चौँरीपालन सुरु गरिएको थियो ।

    चरनको लागि अन्नपूर्ण हिमालको फेदीसम्म पुग्ने चौँरीले यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔँलेलगायतका जडीबुटी खाने हुनाले रगत शक्तिवद्र्धक एवम् रोग प्रतिरोधात्मक हुने जनविश्वास छ ।

    चौँरी मेलाबाट भएको आम्दानी राम्चेको नाङ्गीमा रहेको हिमाञ्चल उच्च मावि र शिखको पाउद्वार मावि सञ्चालनमा खर्च गरिँदै आइएको छ । एक सिजनमा सञ्चालन हुने मेलामा चौँरीको रगत बेचेर रु डेढ लाखको हाराहारीमा वचत हुने गरेको छ । रासस



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: म्याग्दीमा सुरु भयो चौंरीको आलो रगत पिउन 'मेला' Rating: 5 Reviewed By: Unknown
    Scroll to Top