इलाम, असार २३ गते । इलामका चिया किसानहरुले अग्र्यानिक चिया उत्पादनमा सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् ।
अग्र्यानिक चियाको माग यूरोपियन मुलुकमा बढेको भए पनि माग अनुसारको उत्पादन गर्न किसानहरुले नसकिरहेकाले सरकारी सहयोगको माग गरेका हुन् । अग्र्यानिक चियामा परिश्रम र लगानी दुबै बढी गर्नुपर्ने भएकाले किसानहरुको एकल लगानीले उत्पादन बढाउन नसक्ने भन्दै उनीहरुले सरकारी सहयोगको माग गर्नु परेको बताएका छन् । अग्र्यानिक चिया उत्पादन गर्दा ठाउँ बढी ओगटिने तर जग्गा अनुसार उत्पादन कम हुने भएकाले पनि एकल लगानीमा अग्र्यानिक खेती गर्न नसक्ने अवस्था रहेको सुलुबुङ्गका किसान रुद्रप्रसाद खतिवडाले गुनासो पोख्नुभयो । आफूले यस बर्ष अग्र्यानिक चिया बनाउने सोचका लागि पाँच हजारभन्दा बढी चियाको विरुवा तयार गरेको भए पनि लगानी अभावकै कारण अग्र्यानिक चिया बनाउने वा नबनाउने भन्नेमा दोधार भएको उहाँले बताउनु हुन्छ ।
अन्य चियाको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा अग्र्यानिक चिया बिक्री हुने गरेकाले किसानहरु अग्र्यानिक चिया उत्पादनप्रति आकर्षित भएका थिए तर अर्गनिक चिया उत्पादनका लागि आवश्यक जैविक विषादी र मलखाद अभाव हुने गरेकाले किसानहरु समस्यामा रहेका छन् । सरकारले अग्र्यानिक चिया उत्पादनमा लागेका किसानहरुलाई सहज रुपमा अनुदानमा जैविक मल र विषादी उपलब्ध गराउनु पर्ने किसानहरुको माग रहेको छ ।
सरकारले अग्र्यानिक चिया खेतीमा लागेका किसानलाई अनुदानमा जैविक विषादी उपलब्ध गराए मात्र लगानीको मूल्य उठाउन सकिने अहिलेको अवस्था रहेको कन्यामका किसान डम्बर कटुवाल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ– ‘अग्र्यानिक चियामा सम्भावना भए पनि किसानलाई लगानी गर्न समस्या भईरहेको छ ।’ अहिले इलामका चिया प्रशोधन कारखानाहरुले रासायनिक मल प्रयोग गरी उत्पादन भएको हरियो चियाको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपियाँ र अग्र्यानिक चियाको मूल्य प्रतिकिलो ५५ रुपियाँ किसानलाई दिइरहेका छन् ।
अहिले इलामको सुलुबुङ्ग, कन्याम, अन्तु, कोल्बुङ्ग, पशुपतिनगर र साँखेजुङ्गलगयतका गाउँका किसान अग्र्यानिक चिया उत्पादनमा लागेका छन् । ‘सरकारले अग्र्यानिक चिया खेतीका लागि किसानलाई ब्याजमा छुट दिएर ऋण प्रदान गरे ठूलो सहयोग हुने थियो’–कोल्बुङ्गमा अग्र्यानिक चिया उत्पादन गर्दै आउनु भएका गणेश अर्यालले भन्नुभयो ‘हामीलाई अग्र्यानिक उत्पादनका लागि तालिमको खाँचो छ ।’
सरकारले प्राङगारिक मलखाद र विषादी उत्पादन गर्ने कारखानाहरु निर्माणमा सहयोग गर्नुपर्ने किसानको माग छ । रासायनिक मल र विषादीको प्रयोग नगरिएको चिया अग्र्यानिक चियाका रुपमा प्रमाणित हुन चियाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त संस्थाको स्वीकृति हुनपर्छ । साखेजुङ्गको हिमालयन सांग्रिला टी प्रोड्य्र्स, फिक्कलको गोर्खा टी स्टेट, कन्यामको ग्रीन टीलगायतका कारखानाहरुले अहिले अग्र्यानिक चिया मात्र उत्पादन गर्न थालेका छन् । सरकारको सहकारी नीतिअनुरुप फिक्कलमा पनि अग्र्यानिक चिया उत्पादनका लागि किसानहरुकै सक्रियतामा इलामेली चिया उत्पादक कारखानाको निर्माण भइरहेको छ ।
जिल्लामा अग्र्यानिक चिया उत्पादन र प्रशोधनमा लागेका कारखानाहरुले पनि सरकारले अग्र्यानिक चियामा लगानी बढाए यहाँ उत्पादन भएका चिया युरोपका बजारहरुमा राम्रो मूल्यमा विक्री हुने बताउँछन् । ‘किसानहरु अग्र्यानिक उत्पादनमा आकर्षित छन् तर, उत्पादन कम हुने गरेका कारण जाँगर भएर पनि विषादीयुक्त मल प्रयोग गर्न बाध्य छन्’– फिक्कलस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भन्नुभयो–‘अग्र्यानिक चियाको उत्पादन बढाउन सके यहाँको चिया युरोपमा राम्रो बजार लिन सक्छ ।’
युरोपका १५० ठाउँमा बिक्री हुँदै आएको इलामको चियाको मुख्य बजार जर्मनी हो । पछिल्लो समयमा हल्याण्ड र अष्ट्रियाका व्यापारीले पनि इलामको चिया मन पराएको कारखानाहरुले बताएका छन् । जिल्लामा अहिले छ हजार पाँच सय ८१ हेक्टरमा चिया विस्तार गरी वार्षिक दुई हजार १० मेट्रिक टन तयारी चिया उत्पादन हुँदै आएको छ । यसमध्ये २० प्रतिशत किसानले मात्र अग्र्यानिक चिया उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । बजार राम्रो भए पनि सस्तो मूल्यको प्राङ्गारिक मल र विषादीको अभावमा किसानले अग्र्यानिक उत्पादन बढाउन नसकेको कार्यालयले जनाएको छ ।gorkha patra online
0 comments:
Post a Comment