728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    मन्दिरको वर्ष दिनको आम्दानी ९० लाख रूपैयाँ

    बाग्लुङ, साउन १ । पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा ९० लाख रूपैयाँभन्दा बढी सङ्कलन भएको छ ।   मन्दिरमा गत आव २०७२/०७३ मा  रु ९० लाख पाँच हजार सात सय ६६ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ ।   “गत साउनसम्म मन्दिरको व्यवस्थापनका लागि ठेक्कामा दिने परम्परा थियो” कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले भने, “यस पटकदेखि व्यवस्थापनको सम्पूर्ण काम गुठीबाटै गरेका छौँ ।” गुठी आफँैले व्यवस्थापनको जिम्मा लिएपछि मन्दिरको आम्दानी समेत पारदर्शी भएको दर्शनार्थीले बताउने गरेका छन् । समितिले मन्दिरको आम्दानी दैनिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।  बोका, राँगा, कुखुरा र परेवाको बलि चढ्दै आएको मन्दिरमा गत माघदेखि परेवा बलिमा रोक लगाइएको छ ।  “आफैँमा शान्तिको प्रतीक मानिने परेवाको बध गर्नु उपयुक्त लागेन र परेवाको बलि चढाउन रोक लगाएका हौँ ”, खड्काले भने । मन्दिरबाट सबैभन्दा बढी आम्दानी भेटी सङ्कलनबाट हुने गरेको छ ।   यस्तै बलि चढाइएका बोका, राँगा तथा कुखुराको टाउका बिक्रीबाट समेत मन्दिरले आम्दानी गर्ने गरेको छ । परेवा जोडी तथा चढाइएका नरिवल बिक्रीबाट समेत आम्दानी हुने खड्काले बताए ।   मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका कारण पछिल्लो समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ ।   व्यवस्थापन समितिले मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य सहित काम गरिरहेको खड्काले बताए । ‘मन्दिरको दिगो विकासका लागि पञ्चवर्षीय योजना अनुसार अगाडि बढेका छौँ’ खड्काले भने, ‘जिल्लामा भित्रिने धार्मिक पर्यटकलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ ।’   हालैमात्र तामाको छानो हालिएको मन्दिरमा कालीगण्डकी नदीको पानी तानेर १०८ धारा निर्माण गर्ने तथा मन्दिरदेखि प्रवेशद्वारसम्म ढुङ्गा बिच्छाउने काम पनि भइरहेको छ । रासस 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मन्दिरको वर्ष दिनको आम्दानी ९० लाख रूपैयाँ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top