काठमाडौं, २९ असार । नेपाली कांग्रेसले माओवादी केन्द्रसँग भएको सहमतिअनुसार नयाँ सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार बनाउन माओवादी केन्द्रलाई सहयोग गर्ने निर्णय भएको केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिनुभयो । ‘सभपाति शेरबहादुर देउवाज्यूले माओवादी केन्द्रसँग भएको सात बुँदे सहमतिका विषयमा जानकारी गराउनुभयो’, उहाँले भन्नुभयो, ‘शीर्ष नेताहरूवीच सरकार बनाउन भएको सहमतिलाई अनुमोदन गरेका छौँ । अब माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्छ ।’
कांग्रेसको निर्णयसँगै अब पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो नेतृत्वमा सरकार बनाउने बाटो खुलेको छ ।
बैठकमा सात बुँदेका विषयमा समयमा जानकारी गराउन नसकेको भन्दै सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति समक्ष दुःख व्यक्त गर्नुभएको थियो । ‘आज बैठक बस्दैछ भनेर मैले कसैलाई सात बुँदेका विषयमा भनेको थिइन’, देउवालाई उदृत गर्दै केन्द्रीय सदस्य चौधरीले भन्नुभयो, ‘पत्रपत्रिकामा आएको छ । यसलाई तपाईहरूले अन्यथा नलिनु होला । सहमतिअनुसार माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउन विषयलाई कांग्रेसले सहयोग गर्नुपछ ।’
बैठकमा केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले माओवादी केन्द्रसँग भएको सहमतिका विषयमा जिज्ञासा राख्दै सहमति र सहकार्य तथा मुलुकलाई निकास दिनका लागि भएको प्रयासलाई अन्यथा लिन नहुने बताउनुभएको थियो । ‘सहमतिको विश्वसनीयता कति छ त्यसमा हामीले ध्यान दिनुपर्छ’, डा.महतले बैठकमा भन्नुभयो, ‘माओवादीसँग मिलेर संविधान कार्यान्वयन, भूकम्पपीडितको पुनःस्थापना र पुनःनिर्माणको विषयमा ध्यान दिनुपर्छ । विकासमा ध्यान दिनुपर्छ ।’
कांग्रेस केन्द्रय सदस्य खुमबहादुर खड्काले माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने विषयमा भएको सात बुँदे सहमति सबै उचित रहेपनि एउटा बुँदामा आफ्नो आपत्ति रहेको बताउनुभएको थियो । ‘एमालेको सरकार विस्थापित गर्नुपर्ने थियो । रामो भएको छ’, खड्काले भन्नुभयो, ‘तर माओवादी द्वन्द्वका बेला कब्जा भएका घरजग्गा सम्पत्तिका विषयमा भएको सहमतिमा मेरो आपत्ति छ । यसमा पुनःविचार गर्नुपर्छ ।’
केन्द्रीय सदस्य सुजाता कोइरालो माओवादी केन्द्रसँग कांग्रेसले गरेको सहमति र सरकार गिराउने खेलको विरोध गर्नुभयो । ‘माओवादीसँग मिलेर एमालेको सरकार गिराउने खेल उचित होइन । यसले राम्रो गर्दैन’, उहाँले भन्नुभयो, ‘माओवादीसँग होइन, एमालेसँग मिलेर सरकार बनाउनु पर्छ ।’
0 comments:
Post a Comment