फ्रान्सका अभियोजनकर्ताले भनेका छन्, नीसमा बास्टिल डे अर्थात् त्यहाँको राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमा गत साता ट्रक जोत्ने, हमलाकारीलाई पाँचजना संदिग्ध व्यक्तिले सहयोग गरेका थिए र तिनलाई अहिले हिरासतमा राखिएको छ।
अभयोजनकर्ता फ्राँस्वा मोलाँले एउटा पत्रकार सम्मेलनमा उक्त अपराधका लागि महिनौंदेखि योजना बुनिएको बताएका छन्।
नीसमा बस्ने ट्युनिसियाली नागरिक मोहम्मद लुयेज बुहाउललाई सहयोग गर्ने पाँचैजनाविरुद्ध आतंकवादी क्रियाकलापमा संलग्न भएको अभियोग लगाइएको छ।
अपराधको तयारी
अभियोजनकर्ता मोलाँले पाँच मध्ये एकजनाले हमला भएको भोलिपल्ट उक्त हमलाको भिडियो बनाएको बताए।
मोलाँले भने, "जुलाई १४ को रातीदेखि जारी अनुसन्धानले अपराधीहरुको मात्रै पुष्टी गरेको छैन कि यसले हमलाकारी मोहम्मद लुयेज बुहाउलले उनको आपराधिक कामको तयारी र कार्यान्वयनका लागि अन्यको समर्थन र सहयोग पाएका थिए भन्ने प्रमाणित गरेको छ।"
अभियोग लगाइएका २२ देखि ४० वर्ष उमेरका चारजना पुरुष र एकजना महिलालाई बिहीबार साँझ अदालतमा उपस्थित गराइयो।
थुनामा रहेका यी पाँचैजना, ट्रक ड्राइभर बुहाउल जस्तै, कोही पनि फ्रान्सको गुप्तचर संस्थाको निगरानी वा चासोमा परेका थिएनन्।
यद्यपि एकजना भने पहिला लागूऔषध र सानातिना अपराधमा दोषी ठहरिएका व्यक्ति रहेको अभियोजनकर्ता मोलाँले बताए।
समर्थन
बुहाउलको फोनको रेकर्ड अनुसन्धान गर्दा उनले सन् २०१५ देखि नै हमलाबारे अध्ययन गरिरहेको देखिएको बताइएको छ।
सन्देशहरुमा संदिग्धहरुले आफुलाई अल्लाहको सिपाही भएको र फ्रान्सको व्यंग्य पत्रिका शार्ली हेब्डोमाथि भएको हमलाको समर्थक रहेको दर्शाएको बताइएको छ।
इस्लामिक स्टेट भनिने आइएस विद्रोही समूहले बहाउल आफ्ना एक लडाकु भएको बताएको छ।
नीसमा बास्टिल डे भनाइरहेको मानिसहरुको भीडमा बुहाउलले एउटा ट्रक तीव्र गतिमा जोत्दा ८० जना भन्दा बढीको ज्यान गएको थियो।
करिब दुई किलोमिटरसम्म मानिसहरुलाई किच्दै किच्दै ट्रक अघि बढाएका उनलाई पछि प्रहरीले गोली हानेर हत्या गरेको थियो।
फ्रान्सले उक्त हमलापछि देशमा संकटकालको अवधिलाई सन् २०१७ को जनवरीसम्मका लागि लम्ब्याएको छ।
फ्रान्सले आफ्ना प्रहरीलाई खोजीकार्य गर्न र मानिसहरुलाई नजरबन्दमा राख्न थप अधिकार दिएको छ।
BBC Nepali
0 comments:
Post a Comment