साउन १ – टर्कीमा सेनाको पिस काउन्सिलले कु गरेर सैनिक कानुन लागु गरेको छ । राष्ट्रपति रिसेप टाइप एर्डोगान राजधानी अंकारा बाहिर रहेका बेला शुक्रबार बेलुका सेनाले
राष्ट्रिय टेलिभिजन मार्फत एक बयान जारी गरी सत्ता नियन्त्रणमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । टर्कीको सेनाले कु पछि अर्को बयान जारी गरी विधिको शासन, मानवअधिकार तथा प्रजातन्त्र कायम गर्नका लागि सत्ता नियन्त्रणमा लिएको दाबी गरेको छ ।
कर्नेल मुहाराम कोसेको नेतृत्वमा सेनाले सत्ता कु गरेको टर्कीका सञ्चार माध्यमले जनाएका छन् । कोसे सेनाको कानुनी सल्लाह विभागका पूर्व प्रमुख हुनुहुन्छ ।
देशभर सेनाको नियन्त्रण रहेको र सैनिक कानुन लागु गरिएको सेनाले जनाएको छ । देशभर कर्फ्यू लगाइएको छ । स्थानबुलसहितका
मुख्य शहरमा सेना परिचालन भएको तथा राजधानी अंकारामा सेनाका विमान उडेको बिबिसीले जनाएको छ । इस्थानबुलमा रहेको प्रहरीको मुख्यालय अगाडि गोली हानाहानको आवाज सुनिएको छ ।
बिद्रोह गर्नेले ठूलो मूल्य चुकाउनु पर्छ : राष्ट्रपति
राष्ट्रपति रिसेप टाइप एर्डोगानले यो सेनाका अल्पसंख्यकले गरेको बिद्रोह रहेको र यसबाट देश बाहिर निस्कने बताउनुभएको सिएनएन टर्कीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

राष्ट्रपति एर्डोगान सुरक्षित हुनुहुन्छ । सेनाको कु सफल भएपमा सन् २००३ देखि रहँदै आएको एर्डोगानको शासन अन्त्य हुनेछ ।

राष्ट्रपति एर्डोगानले आफ्ना समर्थक सेनाको कु विरुद्ध सडकमा उत्रिने र कुमा संलग्नले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ । यसैबिच प्रधानमन्त्री बिनाली यिल्डिमिरले देशको अवस्था नियन्त्रणमा रहेको र राजधानी अंकारामा विमान उडाउन प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।
सञ्चार माध्यममा सेनाको हस्तक्षेप
कु पछि सेनाले टर्कीका विभिन्न सञ्चार माध्यममा हस्तक्षेप गरेको छ । सरकारी टेलिभिजन सेनाको नियन्त्रणमा छ । यस्तै कु पछिको अवस्थाका बारेमा प्रत्यक्ष प्रशारण गरेको सिएनएन टर्की टेलिभजन स्टुडियोमा पनि सेना पसेको छ । सिएनएन टर्कीको प्रत्यक्ष प्रशारण बन्द भएको छ ।
सामाजिक सञ्जालमा प्रतिबन्ध
सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लागेको छ । टर्कीमा फेसबुक, ट्वीटर तथा युट्युब खुलेका छैनन् । सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए लगतै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हुन सक्ने बेलायती पत्रिका द गार्डियनको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
इन्स्टाग्राम र भिमिओले भने काम गरिरहेको छ । ट्वीटरले टर्कीमा आफ्नो सेवा पूर्ण रुपमा प्रतिबन्ध नलागेको जनाएको छ । फेसबुकले भने यसबारेमा केही बताएको छैन । सेनाले भने सामाजिक सञ्जालमा प्रतिबन्ध लगाए नलगाएको बारेमा केही बताएको छैन ।
0 comments:
Post a Comment