ईश्वर थापा, धनकुटा, १ साउन, गत आर्थिक वर्षमा जिल्लामा करिब एक करोड रुपैयाँ बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७२र७३ मा जिल्ला विकास समितिमा आएको विकास निर्माणका योजना तथा क्षमता विकास कार्यक्रमका लागि निकासा भएको ९५ लाख पाँच हजार आठ सय दुई रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको हो । गएको वर्ष एक करोड ५५ लाख ३९ हजार सात सय ६० रुपैयाँ रकम फिर्ता भएको थियो । जिल्ला विकास समितिको कार्यालयमा आएको कुल पुँजीगत बजेट २० करोड ८२ लाख ५१ हजारमध्ये ६६ लाख ४८ हजार ८५ रुपैयाँ फिर्ता भएको छ । त्यस्तै चालू खर्चतर्फ २८ लाख ५७ हजार सात सय १७ रुपैयाँ बजेट खर्च नभई फिर्ता भएको छ । यो वर्ष सबैभन्दा बढी स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तर्गत निर्माण भइरहेको छरुवा खोला मोटरवेल पुल योजनाको २८ लाख ५० हजार बजेट खर्च नभई फिर्ता भएको छ । यो पुल आगामी वर्षमात्रै निर्माण सकिने भएकाले यो वर्ष खर्च हुन नसकेकाले रकम फिर्ता भएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । स्वीकृत गरेका योजना तथा कार्यक्रममा स्थानीय उपभोक्ताहरु समयमै सम्झौता गर्न नआएको, योजनाहरुको काम समयमै नसकेको, केही योजनाहरु सम्पन्न गर्न उपभोक्ताहरु सम्पर्कमा नआएकाले सञ्चालन गर्न नसकिएको स्थानीय विकास अधिकारी दाहालले बताए । धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले वर्षभरि गरेका कार्यक्रमको योजना तथा खर्च असार मसान्तमा सार्वजनिक गर्न सक्नु सुशासनको नमुना भएको बताए ।

0 comments:
Post a Comment