onsari

काठमाडौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सोमबार दिनभर सभामुख ओनसरी घर्तिको च्याम्बरमा सरकार ढाल्ने गोप्य तानाबाना बुनिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निर्णायक बार्ताका लागि बालुवाटार छिरेका थिए । प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग ‘वान टु वान’ वार्ता गरिरहेका बेला महरा र निधीले भने ७ बुँदे सहमति पत्र तयार पारिसकेका थिए ।
निधि र महराले सरकार ढाल्ने र भावी सरकारको योजना बनाउँदा साँक्षी थिए भारतीय जासुसी संस्थाका एक ब्यक्ति । ति ब्यक्तिको नाम थाहा हुन नसकेपनि महरा र निधिसँग उनी दिनभर सभामुख घर्तिकै च्याम्वरमा बसिरहे । उनकै मध्यस्ततामा कांग्रेस–माओवादीबीच ७ बुँदे सहमति भएको थियो । उनी कांग्रेस नेता निधिको गाडीमा सिंहदरवार छिरेका थिए । त्यही सहमतिमा कांग्रेसलाई १२ मन्त्रालय र माओवादीलाई प्रधानमन्त्रीसहित ८ मन्त्रालयको प्रस्ताव गरिएको थियो ।
भारतीय खुविया एजेन्सीको मध्यस्ततामा तयार पारिएको ७ बुँदे पत्रलाई माओवादी केन्द्रले मंगलबार दिउँसो अनुमोदन गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यही पत्रमा छलफल गर्न प्रचण्ड र महराल कांग्रेस संसदीय दलको कार्यालयमा छिरेका थिए । त्यहाँ प्रचण्डलाई पर्खिदै कांग्रेस सभापति शेरबहादुर देउवा र निधि बसेका थिए । सरकारबाट तत्काल बाहिरिने सहमति त्यही भएको थियो ।
देउवा र प्रचण्डबीच सरकारबाट बाहिरिने सहमति भइरहेका बेला प्रधानमन्त्री ओली भने माओवादी मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरिहेका थिए । प्रचण्ड र देउवाबीचको सहमति माओवादी मन्त्रीहरुलाई पनि थाहा थियो तर उनीहरुले प्रधानमन्त्रीलाई केही भनेनन् ।
माओवादी सरकारबाट बाहिरिएपछि सभामुख घर्तिको कार्यकक्षमा बनेको ७ बुँदे सहमतिलाई नेपाली कांग्रेसले बुधवार अनुमोदन गर्ने अपेक्षा गरिएको छ । कांग्रेसले ७ बुँदे सहमति अनुमोदन गरेपछि नौ महिनाका लागि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् भने त्यसपछि देउवा प्रधानमन्त्री बन्नेछन् ।yes kathmandu