असार २८, पाँचथर । जिल्लाको सदरमुकाम क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न भन्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा बजार क्षेत्रभरी १८ लाखको लागतमा सिसि क्यामेरा जडान गरिएको हो ।
परम्परागत सुरक्षा प्रणालीको अन्त्य गर्दै सुरक्षामा प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानलाई अवलम्बन गर्ने लक्ष्य राखेर सिसि क्यामेरा जडान गर्न लागिएको जिप्रका पाँचथरका प्रमुख कृष्ण कोइरालाले बताए । फिदिम बजारमा २० ओटा सिसि क्यामेरा जडान गर्न लागिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पाँचथरको पहलमा सिसि क्यामेरा जडान कार्य शुरु गरिएको जिप्रका पाँचथरले बताएको छ । संसद विकास कोष, जिल्लाका राजनैतिक दल, फिदिम नगरपालिका, उद्योग वाणिज्य सङ्घ, स्थानीय उद्योगी व्यवसायी, नागरिक समाजका लगायतका लगानीमा २० ओटा सिसि क्यामेरा बजार क्षेत्रमा जडान गर्न लागिएको हो ।
फिदिम बजारको शनिवारे हटिया लाइनदेखि चारवरेसम्म र बसपार्कदेखि जिप्रकाको गेटसम्मको क्षेत्रमा सिसि क्यामेरा जडान हुने र फिदिम बजार २४ सै घण्टा सिसि क्यामेराको निगरानी रहने प्रहरीको दाबी छ । सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव मोहन कुमार दाहालको संयोजकत्वमा सिसि क्यामेरा जडान तथा रेखदेख र मर्मत सम्भार उपभोक्ता समिति पाँचथर गठन गरी सोही समितिबाट काम भइरहेको जिप्रकाले बताएको छ ।- अभियान डटकम एनपी
0 comments:
Post a Comment