728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    सप्तकोसी नदीको चतरा क्षेत्रमा ब्यारेज बनाइने

    इटहरी । सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर कृषिभूमि सिँचाइका लागि निर्माण गरिएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूलनहरमा पानी आपूर्ति सहज गराउन चतरामा ब्यारेज बनाउन जरुरी भएको छ । केही वर्षअघिदेखि चतरामा वैकल्पिक पहाडी लोकमार्गका लागि चतरामा पक्की पुल निर्माण गर्दा सप्तकोसी नदीलाई पश्चिमतिर फर्काइँदा नदीले आफ्नो बहाव पश्चिमतिर गहिराउँदै लगेपछि नहरको न्यू इन्टेकमा पानी नआउने समस्या सिर्जना भएको छ ।


    दुई जिल्लाको कृषिभूमि सिँचाइका लागि निर्माण भएको नहरमा पानी आपूर्ति सहज तुल्याउनका लागि सप्तकोसी नदीमा निर्माण भएको पक्की पुलको दक्षिणमा ब्यारेज बनाई पानीलाई पूर्वी किनारतर्फ सोझ्याउनका लागि पनि राष्ट्रिय गौरवको आयोजनाका रुपमा ब्यारेज बनाउन जरुरी देखिएको आयोजनाले बताउँदै आएको छ ।

    बारम्बार आफ्नो बहावको धार परिवर्तन गरिरहने र अधिक बालुवा ओसारेर आउने नदीको परिचय बनाएको सप्तकोसी नदीका हालको पश्चिमतिर गहिरिएर गएको क्षेत्रबाट ब्यारेज बाँधेर नदीलाई समतल बनाई आवश्यक पानी नहरतिर सोझ्याउनका लागि ब्यारेज निर्माणभन्दा अर्को कुनै विकल्प बाँकी नरहेको आयोजना प्रमुख इन्जिनियर लक्ष्मणप्रसाद सिंहले जानकारी दिनुभयो ।

    यो वर्ष सुनसरी र मोरङ जिल्लामा समयमा नै पर्याप्त पानी आपूर्तिमा ढिलाइ हुनु र नहरमा सहजरुपमा पानी आपूर्ति नभएका कारण असार मसान्त भइसक्दा पनि धान रोपाइँ आधा पनि हुन नसक्नुमा नहरमा पानी आपूर्ति नहुनु नै प्रमुख कारण बन्न पुगेको छ ।

    हालको पक्की पुलदेखि दक्षिणको भागमा ब्यारेज बनाउने विषयमा जलस्रोत मन्त्रालय पनि सहमत भएको र आयोजनाले निर्माण गर्ने ब्यारेजको सम्भाव्यता अध्ययन पनि अन्तिम चरणमा पुगेको बताइएको छ । ब्यारेज निर्माणका लागि कम्तीमा रु पाँच अर्बदेखि सात अर्ब खर्च लाग्ने तथा त्यस आयोजना निर्माणमा कम्तीमा चार वर्षको अवधि लाग्न सक्ने पनि अनुमान गरिएको आयोजनाले बताएको छ । ब्यारेज निर्माणको काम चाँडै नै प्रारम्भ हुनसक्ने गरी प्रक्रिया अघि बढिसकेको बताइएको छ ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सप्तकोसी नदीको चतरा क्षेत्रमा ब्यारेज बनाइने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top