संखुवासभा, २८ असार, जिल्लाको याफु, दिदिङ गाविस आसपासका बासिन्दा जोखिम मोलेर अरुण तर्न बाध्य छन् । सदरमुकाम खाँदबारीबाट ल्याएको सामान तुइनबाट पारी तारेर आराम गर्दै गरेका याफु–५ वाल्यङका पूर्णराम कुलुङले दैनिक एक सय जनाभन्दा बढी स्थानीय नागरिकले आफ्नो ज्यान जोखिममा राखेर तूइन तर्न बाध्य भएको दुखेसो पोखे । तुइन तर्ने क्रममा दुर्घटना भएर यसअघि पनि सात जना घाईते भईसकेको उनले बताए । तुइन तर्नै नसक्ने असक्त र बालबालिका भने करिब पाँच घण्टाको बाटो घुमेर तम्बेस्थित पुल तर्नु पर्ने दिदिङ ३ की चन्द्रकला राईले बताईन् । बुढाबुढी र बालबालिका तुइनबाट तर्न डराएकै कारण लामो बाटो घुम्न बाध्य भएको अमर राईको भनाई छ । 'डोरीको सहायताले तुइन तान्नुपर्ने भएकोले समेत तान्न नसक्नेहरू अर्को घुमाउरो बाटो हिड्नुको विकल्प छैन' उनले भने । पुल बनाउन सरोकारवालाले चासो नदेखाएको भने होईन । एक वर्ष अघि बनिसक्नु पर्ने झोलुङ्गे पुल अझै नबनेपछि स्थानीयले सास्ती बेहोर्नु परेको हो । जिल्ला विकास समिति मार्फत ०७० सालमा सम्झौता भई आर्थिक वर्ष ०७१÷७२ मा निर्माण कार्य सम्पन्न हुनु पर्ने पुल अझै बनेको छैन । विभिन्न समस्याहरू देखाएर निर्माण समिति र ठेकेदारले पुल निर्माणमा लापरबाही गरेकोले बेलैमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । सम्झौता भएको मितिमा पुल निर्माण कार्य सम्पन्न नभएपछि एक वर्षको लागि समय थप गरिएको जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लोकबहादुर पोख्रेलले जानकारी दिए । एक सय १९ मिटर लामोे उक्त पुल ३४ लाख ८१ हजार ७४ रुपैयाँको लागतमा बनाउन लागिएको थियो ।
0 comments:
Post a Comment