आषाढ ३०,अफगानिस्तान । अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग वार्ता गर्न अफगानिस्तान आइपुगेका छन् । उनले अफगानिस्तानमा रहने अमेरिकी सैनिकका बारेमा घानीसँग वार्ता गर्नेछन्।रक्षामन्त्री कार्टरले सोमबार अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहलाई पनि भेट गरेका छन्। अफगानिस्तानमा नेटो सेनाले सन् २०१७ को अन्त्यसम्म आफ्ना सेना राख्ने बताएको थियो। नेटोको यस्तो भनाइको केही दिनपछि अमेरिकी रक्षामन्त्रीको अफगानिस्तान भ्रमण भएको छ।
अफगानिस्तानमा हाल विभिन्न ४० देशका नेटो सैनिक रहेका छन्। तर त्यसमा सबैभन्दा धेरै अमेरिकी सैनिक छन् । अमेरिकी नेतृत्वमा रहेको सानो संख्याको नेटो सेनाको हाल अफगानिस्तानमा भूमिका भनेको अफगान नागरिकलाई तालिम दिने मात्र हो। सन् २०१४ को अन्त्यदेखि नै अफगानिस्तानमा नेटो सैनिक फिर्ता हुन सुरु गरेको थियो।करिब आठ वर्षअघि बाराक ओबामा अमेरिकी राष्ट्रपति भएपछि अफगानिस्तान र इराकमा युद्धको अन्त्य गर्ने घोषणा गरेका थिए। त्यस अपेक्षाबमोजिम ती देशमा युद्धअन्त्यको परिणाम भने देखिएको छैन।
ओबामाले गत साता मात्र दिएको देशवासीका नामको सन्देशमा सन् २०१७ सम्म अमेरिकी सेना अफगानिस्तानमा रहने जानकारी दिएका थिए । ओबामाको भनाइको अफगान राष्ट्रपति असरफ घानीले स्वागत पनि गरेका थिए । यस विषयमा अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिवानले भने केही बताएका छैनन् ।
तालिवानका नयाँ नेता कमजोर
न्युयोर्कः अमेरिकी सञ्चारमाध्यमले तालिवानका नयाँ नेता मौलवी हैबतुल्ला अखुन्दजादा कमजोर नेता भएको उल्लेख गरेका छन्। तालिवानका पूर्वनेता मुल्ला अख्तर मोहम्मद मन्सुरको तुलनामा उनी संगठनमा कमजोर देखिएको उनीहरूले दाबी गरेका छन्। यसबाट तालिवानको बारेमा निर्णय गर्ने अधिकार पाकिस्तानको क्वेटास्थित शीर्ष परिषद् समूहसँग रहेको बताइएको छ।
मंगलबारको न्युयोर्क टाइम्समा उनी निकै कम महत्वका धर्मगुरु र नेता भएको उल्लेख गरिएको छ। विगतमा अखुन्दजादालाई प्रभावशाली नेता मानिए पनि अब उनको अवस्था खस्किएको बताइएको छ।तालिवानका कमान्डरलाई उद्धृत गर्दै दुई महिनाको कार्यकालमा उनले खासै काम गर्न नसकेको बताइएको छ। तालिवानका कयौं कमान्डरले अखुन्दजादाप्रति बफादारी पनि देखाउन नसकिने बताएका छन्। पुर्बेलीन्युजबाट

0 comments:
Post a Comment