728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    डा. केसी र समर्थकलाई संयम हुन आग्रह

    काठमाडौँ: नेपाली चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्नुपर्ने र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउनुपर्ने माग अघि सार्दै सात दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीका पक्षधर शनिबार प्रदर्शनका लागि सडकमा उत्रिरहँदा वरिष्ठ चिकित्सकको एउटा समूहले भने संयम, लचकता र समझदारीबाट अनशन तोड्न डा. केसीलाई सुझाएको छ । 

    उनीहरूले केसीका समर्थकलाई पनि संयम हुन पनि आग्रह गरेका छन् । उनीहरूले लचकता नदेखाएमा नेपाली चिकित्सा शिक्षा क्षेत्रलाई मात्र नभई समग्र मुलुकलाई अराजकतातर्फ लैजान सक्ने भन्दै डा. केसीसँग अनशनको निरन्तरताबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । 

    रिपोर्टस क्लबले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सकीय मुद्दामा मात्र केन्द्रित भएर आफूहरू सरकारसँग लडिरहेको भन्दै त्यसैमा अडिग रहन डा. केसीलाई पनि आग्रह गरे । 

    चिकित्सा शिक्षा क्षेत्रको विकृति, राजनीतिक हस्तक्षेप र भ्रष्टाचार अन्त्यका लागि संघले वर्र्षौंदेखि आवाज उठाएको छ । सोही मुद्दामा मात्र केन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता हो । र त्यसमा केसीलाई संयम भई अडिग रहन आग्रह गर्छु', उनले भने, ‘प्रत्येक मागमाथि माग थप्न मिल्दैन । त्यसले अराजकतातर्फ लैजान्छ ।'

    चिकित्सा शिक्षा क्षेत्रबाहेकका मागमा सशक्त संसदीय आयोग गठन गरी त्यसैलाई अनुसन्धान र कारबाहीको अधिकार दिनुपर्ने डा. केदारको भनाइ छ । अख्तियारलगायत कुनै पनि निकाय अधिकारभन्दा बाहिर नजान र गएमा त्यसले अराजकता उत्पन्न हुने चेतावनी पनि उनले दिए । 

    प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजको सन्दर्भमा सहकारी संस्थालाई मेडिकल कलेज सञ्चालन गर्न दिन नहुने भन्दै त्यसो गरिएमा मुलुक झन् अव्यवस्थित हुने उनको तर्क थियो ।

    डा. केसीको यसअघिका चौथो अनशनसम्म समर्थन गर्दै आएका र उनले माग थप्दै गएपछि टाढिएका डा. भोला रिजालले डा. केसीको अनशन र उनले उठाएका मागप्रति देखिएको असन्तुष्टिले मुलुकमा ठूलो दुर्घटना हुने संकेत गरे । 
    ‘डा. केसी केही यस्ता मुद्दामा अडिग हुनुहुन्छ जुन मुद्दामा सही तरिकाले बहस गरिएन भने मुलुकका लागि त्योभन्दा ठूलो दुर्घटना अरू केही हुने छैन । उहाँले अहिले आएर अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउनुपर्ने भन्दै अझ डरालाग्दो माग अघि सार्नुभएको छ, जुन चिकित्सकले उठाउनै नपर्ने मुद्दा हो', उनले भने, ‘यसले मुलुकलाई नोक्सानबाहेक अरू केही गर्ने छैन ।'

    आफूले अघि सारेका माग लिएर डा. केसी बहसमा नआउने र अनशनलाई अस्त्र बनाएर जनतालाई दुःख दिने काममा सरिक हुने काम भइरहेको उनको भनाइ थियो ।

    नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले डा. केसीबाट उठाइएका मुद्दामा संघले सरकारसँग वर्षौंदेखि संघर्ष गरेकाले कुनै एक व्यक्तिको पछि लाग्न जरुरी नभएको बताए । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेजका सचिव डा. रामकुमार अधिकारीले भने सरकारले आफूहरूलाई अन्याय गरेको बताए ।

    ‘हामीसँगै मनसाय पत्र लिएका अन्य आधा दर्जन अन्य मेडिकल कलेजले सम्बन्धन पाइसकेका छन् । पूर्वाधार ठिक्क पारेर अब सम्बन्धन देऊ भन्दा डा. केसी आमरण अनशन बस्नुभयो ', उनले भने, ‘हामीलाई मात्र समस्यामा पारिएको छ । डा. केसीका सात पटकका अनशनबाट मनमोहनलाई रोक्ने कामबाहेक खासै अरू माग पूरा भएको छैन ।'

    त्यसअघि बिहान डा. केसीको समर्थनमा राजधानीको माइतीघरमा जम्मा भएका चिकित्साशास्त्रका विद्यार्थी, चिकित्सक, राजनीतिकर्मी, मानवअधिकारकर्मी एवं सर्वसाधारणले र्याली निकालेका थिए । र्यालीका सहभागीले केसीलाई समर्थन गर्ने प्लेकार्ड, ब्यानर बोक्नुका साथै उनको समर्थनमा नाराबाजी पनि गरेका थिए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डा. केसी र समर्थकलाई संयम हुन आग्रह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top