नारायणगढ, असार ३० - आर्थिक लेनदेनको विषयमा विवाद हुँदा होटलभित्रै युवतीको हत्या गर्ने एक युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
गत आइतबार नारायणगढ बसपार्कमा रहेको होटल कलशमा भरतपुर १६ मंगलपुरकी २७ वर्षकी रीता भूजेलको हत्या भएको थियो ।
प्रहरीले भूजेलको हत्या अभियोगमा धादिङ गुम्दी गाविस वडा नं ९ बस्ने २६ वर्षका हेमबहादुर थापालाई पक्राउ गरेको हो । मंगलबार धादिङबेंसीस्थित अधिकारी गेष्ट हाउसबाट अभियुक्त थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अभियुक्त थापालाई बुधवार चितवन जिल्ला अदालतमा म्याद थप गराएर प्रहरीले सार्वजनिक गरेको थियो । चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले रीता भुजेलको हत्या हेमबहादुरले नै गरेका पुष्टि भएको बताउँदै उनले भने ‘स्वयम् हेमबहादुरले सलले घाँटी कसेर हत्या गरेको स्वीकार गरेका छन् ।
उनलाई प्रहरीले मोबाइल ट्याकिङका आधारमा पक्राउ गरेको हो । हेमबहादुर होटलको कोठाभित्रै युवतीको हत्या गरी आइतबार बेलुकीदेखि फरार रहेका थिए ।
फरार रहेका हेमबहादुरलाई उनकै आफन्तको सहयोगमा पक्राउ गर्न सफल भइएको हो’ प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले भने, ‘चितवनबाट खटिएको प्रहरी टोलीले धादिङ पुगेर उनलाई पक्राउ गरी ल्याइएको हो ।
गत असार २५ गते चितवन आएका हेमबहादुरले त्यही दिन कलश होटलको २०१ नम्बर कोठा बुक गरेका थिए । असार २६ गते रीतालाई फोन गरेर त्यही बुक गरेको कोठामा ल्याए । विगत तीन महिनादेखि उनीहरुबीच प्रेम सम्बन्ध थियो ।
तीन महिनाको अवधिमा विभिन्न समयमा होटलमै बसेका उनीहरुबीच यौन सम्बन्ध पनि रहँदै आएको प्रहरीको भनाइ छ । हेमबहादुरसँग रीताले जापानी भाषा पढेर जापान जाने भन्दै प्रेम सम्बन्धपछि डेढ लाख रुपैयाँ लिएकी थिइन् ।
होटलमा बस्दा हेमबहादुरले त्यो पैसा मागेपछि उनीहरुबीच विवाद र भनाभन भएको प्रहरीको भनाइ छ । प्रहरी उपरिक्षक कुँवरले भने, ‘हेमबहादुरले रीतालाई दिएको डेढ लाख फिर्ता माग्दा उनीहरुमा विवाद भएको र त्यही लेनदेनका विषयमा विवाद भएपछि सलले घाँटी कसेर हत्या गरेको देखिन्छ । आइतबार दिउँसो ३ः३० बजे रीताको हत्या भएको प्रहरीको भनाइ छ ।
प्रहरीले हेमबहादुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष म्याद थप गराएको छ । मुलुकी ऐन ज्यान सम्बन्धी मुद्दाअन्तर्गत कर्तव्य ज्यान मुद्दामा उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

0 comments:
Post a Comment